सुदूरपश्चिम महोत्सवको तयारी अन्तिम चरणमा, प्रधानमन्त्रीलाई १० किलोको माला

धनगढी । सुदूरपश्चिम महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । कैलाली उद्योग वाणिज्य संघको आयोजनामा शुक्रबारबाट आगामी पुस २ गतेसम्म हुने महोत्सवको तयारी अन्तिम चरणमा रहेको कैलाली उद्योग वाणिज्य संघले जनाएको छ ।

संघले बिहीबार पत्रकार सम्मेलन गर्दै महोत्सव तयारीको बारेमा जानकारी दिएको हो । महोत्सवको उद्घाटन प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले जानकारी दिए । महोत्सव शुक्रबार मध्यान्ह साढे १२ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

महोत्सवमा कृषि, जडिबुटी, हस्तकला फर्निचर, अटोमोबाइल्स, गार्मेन्ट, इलेक्ट्रोनिकल, होटल र सूचना प्रविधि गरि ४ सयको हाराहारीमा स्टलहरुको सहभागिता रहेको अध्यक्ष कुँवरले बताए । महोत्सव स्थलमा सुदूरपश्चिमका परिकारसहितका खानाका स्टल रहने व्यवस्था गरिएको उनले उनले बताए ।

महोत्सवमा चौधरी र राना समुदायहरुको संस्कृति जर्गेनाको लागि संग्रालयसहितको अलगै थारु गाउँ नै निर्माण गरिएको छ । महोत्सव अनुमानित ३ करोडको लगानीमा सम्पन्न गरिने, उद्योगी व्यवसायीको १० करोड बराबरको कारोवार हुने तथा करिब ६ लाख ५० हजार व्यक्तिले अवलोकन गर्ने अनुमान गरिएको आयोजकले जनाएको छ ।

प्रधानमन्त्रीलाई १० किलोको माला लगाइने

महोत्सव उद्घाटनका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाललाई १० बुँदे मागसहित १० किलोको माला लगाइने आयोजकले जनाएको छ । संघले २१ बुँदे मागसहित सुरु गरेको महोत्सवमा हालसम्म झण्डै ११ माग पूरा भएको तथा पूरा हुने क्रममा रहेकाले १० बुँदे माग सहित १० किलोको माला लगाइने कैलाली उद्योग वाणिज्य संघका महासचिव ओमबहादुर विष्टले बताए ।

उनले भने, ‘हामीले सुरुमा २१ बुँदे माग राखेका थियौँ, अहिले ५ वटा माग सम्पन्न भएका छन्, ६ वटा माग आंशिक रुपमा सम्पन्न भएका छन्, १० वटा माग पूरा हुन बाँकी छन्, त्यसैले यस पटक १० बुँदे मागसहित १० किलोको माला लगाउने तयारी छ ।’

महोत्सवको सुरुवातदेखि नै प्रमुख अतिथिलाई माग बराबरको माला लगाउँदै आएको छ । महोत्सव अवलोकनको लागि विद्यार्थीलाई रु ५०, सर्वसाधारणलाई रु। १ सय टिकटदर र फरक क्षमता भएकालाई निःशुल्क गरिएको जनाइएको छ । २०६३ सालदेखि कैलाली उद्योग वाणिज्य संघले सञ्चालन गर्दै आएको सुदूरपश्चिम महोत्सवको यो १७औँ संस्करण हो ।

प्रतिक्रिया