सरकारले यही मंसिर ७ गते राजपत्रमा सूचना प्रकाशन गर्दै ‘पोड–वे’ सेवा सञ्चालनका लागि आवश्यक नीति, नियम, अध्ययन तथा कार्यान्वयन गर्न सक्ने व्यवस्था गरेको जनाएको छ । तर ‘पोड–वे’ यातायात सेवा नेपालका निम्ति मात्रै होइन विश्वकै निम्ति नौलो हो । करिव एक दशक अघिदेखि मात्रै प्रयोगमा आएको ‘पोड–वे’ यातायात सेवा विश्वका केही देशहरूमा मात्रै सुरु गरिएको छ । नेपालमा पनि ‘पोड–वे’ सेवा सञ्चालनका लागि निजी क्षेत्रले चार वर्ष अघिदेखि नै कम्पनी स्थापना गरी गृहकार्य थालेको थियो । तर सरकारले केही दिनअघि मात्रै यसबारे अध्ययन गर्ने निर्णय गरेको छ ।
सजिलो भाषामा भन्नुपर्दा पोड–वे भनेको करिब करिब रोप–वे जस्तै यातायात प्रणाली हो । तर रोप–वे मा यात्रु ओसारपसार गर्न मिल्दैन, सामान पनि थोरै ओसारपसार हुन्छ, गति ढिलो हुन्छ, इन्धन बढी खर्च हुन्छ । तर ‘पोड–वे’ मा धेरै ठूलो संख्यामा यात्रु तथा सामान ओसारपसार गर्न सकिन्छ । यसको गति प्रतिघण्टा १ सय ५० किलोमिटरदेखि पाँच सय किलोमिटर हुन्छ । ‘पोड–वे’ मार्फत सय मेट्रिक टन सामान सय किलोमिटर टाढा लैजान अहिलेको नेपाली महसुलअनुसार १३ हजार रुपैया“को बिजुली आवश्यक पर्ने दावी कम्पनीले गरेको छ । कम्पनीका अनुसार ‘पोड–वे’ निर्माणको लागत प्रतिकिलोमिटर ४० करोड रुपैया“भन्दा बढी पर्दैन । यसैगरी जमिनभन्दा ३० मिटरमाथि तारमा गुड्ने भएका कारण ‘पोड–वे’ सञ्चालनका लागि जग्गाको मुआब्जा दिनु पर्दैन । खोला या नदीमाथि तथा सडकमाथि सजिलै सञ्चालन गर्न सकिन्छ । एक किलोमिटरको फरकमा खम्बा बनाउँदा हुन्छ ।
यदि कम्पनीले दावी गरेको कुरा सही हो भने अब नेपालमा सडक निर्माणको काम स्थगित गर्दा हुन्छ । रेल–वे निर्माणको काम पनि स्थगित गर्दा हुन्छ । यसैगरी अब नयाँ विमानस्थल निर्माण तथा साविकका विमानस्थल मर्मत तथा बिस्तारमा पैसा खर्च नगरे हुन्छ । निजी क्षेत्रमा स्थापित ‘पोड–वे’ कम्पनी स्वयंले प्रतियात्रु प्रतिकिलोमिटर १० रुपैयाँ भाडा सञ्चालन गर्न सक्ने भन्दै सरकारसमक्ष प्रस्ताव पेस गरेको छ । ‘पोड–वे’ ४५ डिग्रीको उकालोमा समेत मज्जाले सञ्चालन हुने कम्पनीको दावी छ । यो कुरा सही हो भने नेपालजस्तो पहाडी मुलुकका लागि बरदान हुन सक्छ । उदाहरणका लागि काठमाडौंबाट पोखरासम्म बढीमा १ सय ५० किलोमिटर दुरीको पोड–वे बन्न सक्छ । १५ सय रुपैयाँ तिरेर बढीमा आधा घण्टाको समयमा यात्रुहरू काठमाडौंबाट पोखरा पुग्न सक्ने अवस्था बन्छ भने किन चाहियो सडक ? किन चाहियो विमानस्थल ? त्यसमा पनि सरकार आफैँले निर्माण गर्ने हो र भारतलाई बेचेकै मूल्यमा बिजुली उपलव्ध गराउने हो भने ‘पोड–वे’ मार्फत पाँच सय रुपैयाँमा पोखरा पुग्न सकिन्छ । प्रतिकिलोमिटर ४० करोड रुपैयाँ लागत भनेको सडक निर्माणको लागतभन्दा थोरै मात्र महँगो हो । किनकी पृथ्वी राजमार्गको आँबुखैरेनीदेखि पोखरा सम्मको करिब ८० किलोमिटर सडक फराकिलो बनाउने काम अहिले २७ अर्ब रुपैयाँ लागतमा धमाधम भइरहेको छ ।
‘पोड–वे’ कम्पनीले गरेको दावी के कति यथार्थ परक हो ? भन्ने अध्ययनसमेत नहुनु दुर्भाग्य हो । यदि यस्तो छिटोे र छरितो यातायातको माध्यम आविष्कार भइसकेको हो भने विश्वको अन्य देशहरूले किन व्यापक बनाएनन् ? किन ती देशहरूले अहिले पनि सडक र रेल–वे निर्माणमा ठूलो रकम खर्च गरिरहेका छन् ? चीन, भारतजस्ता देशहरू के हेरेर बसेका छन् ? भन्ने प्रश्न पनि निकै पेचिलो बनेको छ । प्रतिघण्टा पाँच सय किलोमिटरसम्म गति हुनु, सय टन सामान सय किलोमिटर ओसार्न १३ हजार रुपैयाँको बिजुली भए पुग्नु भनेको यातायातका क्षेत्रमा चानचुने क्रान्ति होइन । तर यो दावी के कति सही हो ? भन्ने अध्ययन गर्न भने कत्ति पनि ढिलाइ गर्नु हुन्न । किनकी नेपालको ८० प्रतिशत धरातल रेल–वे निर्माणका लागि उपयुक्त छैन । ५० प्रतिशत धरातल सडक निर्माणका लागि उपयुक्त छैन ।
प्रतिक्रिया