सुदूरपश्चिम महोत्सवको टिकट खल्ती एपबाट खरिद गर्न सकिने

धनगढी । कैलाली उद्योग वाणिज्य संघको आयोजनामा हुने सुदूरपश्चिम महोत्सवको टिकट खल्ती एपबाट खरिद गर्न सकिने भएको छ । मंसिर २२ गतेदेखि पौष २ गतेसम्म सञ्चालन हुने महोत्सवको प्रवेश टिकट खल्ती एपबाट खरिद गर्न सकिने भएको हो ।

दर्शकहरुको सहजता,टिकट काट्ने ठाउँमा हुने भीडभाड कम गर्न अनलाइन टिकट बिक्री गर्न लागिएको कैलाली उद्योग वाणिज्य संघकी कार्यकारी निर्देशक गोमा अधिकारीले बताइन् ।

उनले भनिन्, ‘खल्ती एपबाट घरमै टिकट लिन सकिने भएकाले दर्शकलाई पनि सहज हुन्छ ।’ अघिल्ला वर्षहरुमा संघले महोत्सव स्थलका गेट छेउमै कागजी टिकट विक्री गर्दै आएको थियो । यस वर्ष कागजी टिकटका साथ साथै खल्ती एपबाट पनि टिकट खरिद गर्न सकिने व्यवस्था मिलाएको हो ।

महोत्सव स्थलमा प्रवेशका लागि विद्यार्थीलाई रु ५० र सर्वसाधारणालाई रु १ सय टिकटदर तोकेको छ । त्यस्तै फरक क्षमता भएका व्यक्तिहरुको लागि निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको आयोजकले जनाएको छ ।

कैलालीको धनगढी उपमहानगरपालिका–१ पशुपति टोलमा हुने महोत्सवको तयारी अन्तिम चरणमा रहेको कैलाली उद्योग वाणिज्य संघले जनाएको छ । महोत्सवमा ४ सयको हाराहारीमा स्टलहरु रहने जनाइएको छ । कैलाली उद्योग वाणिज्य संघले २०६३ सालदेखि सञ्चालन गर्दै आएको सुदूरपश्चिम महोत्सवको यो १७औँ संस्करण हो ।

प्रतिक्रिया