समृद्धिको यात्रातर्फ नेपाल

केही महिनादेखि नेपालको विकास र आर्थिक समृद्धिमा निकै आशालाग्दा संकेतहरू देखिएका छन् । यी संकेतलाई निरन्तरता दिन सक्ने हो भने अबका केही वर्षभित्रै नेपाल समृद्ध बन्ने विश्लेषकहरूको राय छ । इन्धन, निर्माण सामग्री, तेलहनबालीलगायत विदेशी बस्तुको आयात लगातार घट्न थालेको छ । दोस्रो कुरा नेपालकै कच्चा पदार्थ तथा श्रम प्रयोग भएर उत्पादित बस्तुहरूको निर्यात ह्वात्तै बढ्न थालेको छ । सीमावर्ती भारतका सहर बजारका भित्तामा नेपाली उत्पादनका विज्ञापनहरू छ्यापछ्याप्ती देखिन थालेका छन् ।

यसैगरी पर्यटक मात्रै बढेका छैनन्, पर्यटन क्षेत्रका पूर्वाधार तथा पर्यटकीय गन्तव्य पनि उल्लेख्य रूपमा बढ्न थालेका छन् । रेमिट्यान्स बढेका कारण विदेशी मुद्राको सञ्चितिमा उत्साहजनक वृद्धि भएको छ । भौतिक पूर्वाधार निर्माण कार्य सुचारु रूपमा अघि बढेको छ । कतिपय भौतिक पूर्वाधारहरूले प्रतिफल दिन थालिसकेका छन् । हिजोसम्म डाक्टर जान नमान्ने कर्णाली प्रदेशमा अहिले स्थानीय स्तरमै डाक्टर उत्पादन हुन थालेका छन् ।

बैंकको व्याजदर उल्लेख्य रूपमा घट्दा पनि घर जग्गाको कारोबारमा वृद्धि आएको छैन । उत्पादनमुलक काममा लगानी बढ्ने संकेत हो यो । करिब ९० प्रतिशत जनतामाझ सडक यातायात, बिजुली, खानेपानी, सञ्चार लगायतका पूर्वाधार पुगिसकेको अवस्था छ । यस्तो अवस्थामा जनताहरू उत्पादनमुलक काममा संलग्न हुने थप वातावरण तयार भयो भने देशले समृद्धिको दिशामा फड्को मार्न धेरै समय लाग्दैन । सौभाग्यबस हाम्रो मुलुक अहिले त्यही चरणमा पुगेको छ ।

एक–दुई वर्ष अघिसम्म नेपालको कुल निर्यातमा करिब ८० प्रतिशत हिस्सा विदेशबाट आयातित पदार्थलाई सामान्य प्रशोधन गरिएका बस्तुहरूको थियो । विदेशबाट पाम, भटमास, तोरी लगायतका बस्तु आयात गर्ने, अनि त्यसैलाई पेलेर तेल निकाली भारत निर्यात गर्ने धन्दाको योगदान कुल निर्यातमा ४० प्रतिशतभन्दा माथि थियो । तर पछिल्ला केही वर्षदेखि निर्यातमा यो धन्दाको योगदान ४० प्रतिशतबाट घटेर पाँच प्रतिशतमा झरेको छ । त्यसको सट्टामा स्वदेशी कच्चा पदार्थ तथा श्रम प्रयोग गरी उत्पादन भएको सिमेन्ट, जलविद्युत्, प्लाइउडजस्ता बस्तुको निर्यात २०औँ गुणा बढेको छ । उदाहरणका लागि पाँच वर्ष अघिसम्म वार्षिक ३३ अर्ब रुपैयाँको सिमेन्ट आयात हुने गरेकोमा अहिले शून्यमा झरेको मात्रै छैन, अफ सिजन मानिने चालु आर्थिक वर्षको सुरुका चार महिनामा समेत १ अर्ब १३ करोड रुपैयाँको सिमेन्ट निर्यात भएको छ । पाल्पा, अर्घाखाँची, सर्वोत्तमसहित हालसम्म बाहुबली, श्रृष्टि, सिजी ब्रान्डका नेपाली सिमेन्ट भारतीय बजारमा बिक्री भइरहेका छन् । चालु आर्थिक वर्षको पहिलो चार महिनामा प्लाइउडको निर्यात २ अर्ब ३३ करोड रुपैयाँको पुगेको छ । गत आर्थिक वर्ष पहिलो चार महिनाको तुलनामा प्लाइउडको निर्यात १ सय ३१ प्रतिशतले बढेको छ । गत वर्ष यो अवधिमा १ अर्ब ७१ लाख रुपैयाँको प्लाइउड निर्यात भएको थियो । यो चार महिनामा १२ अर्ब रुपैंयाको बिजुली निर्यात भएको छ ।

देशले यसपटक समातेको समृद्धिको लयबाट ढुक्क र उत्साहित हुनुपर्ने अवस्था छैन, बरु सतर्क हुनुपर्ने अवस्था छ । किनकी जबजब देशले समृद्धिको लय पक्डन्छ तबतब परचक्रीहरूले एक नेपालीविरुद्ध अर्को नेपालीलाई उचालेर आफ्नो स्वार्थको रोटी सेक्ने काम नेपालमा बेलाबेला भइरहेका उदाहरण छन् । उदाहरणका लागि २०४६ सालको परिवर्तनपछि सुरुका चार वर्ष देशले समृद्धिको लय पक्डिसकेको थियो । तर जनवादी राज्यसत्ता स्थापना गर्ने भन्दै माओवादीको ब्यानरमा हिंसात्मकद्वन्द्व मच्चाइयो । १० वर्ष चलेको यो हिंसात्मकद्वन्द्वले देशको अर्थतन्त्रलाई तबाह बनाइदियो । त्यसपछि २०७२ सालमा आएको भूकम्पले क्षति पुर्याएका भौतिक संरचना पुनर्निर्माणका लागि मात्रै करिब १० खर्ब रुपैयाँ खर्च भयो ।

अहिले देशको अर्थतन्त्र बिस्तारै तङ्ग्रिन थालेको छ । तर यही बीचमा पूर्वराजा ज्ञानेन्द्र शाहको महत्वकाँक्षा बढाएर देश विकासको गति बिथोल्ने प्रपञ्च गरिँदैछ । देशमा केही पनि भएन, भ्रष्टाचार बढ्यो कुशासन भयो भन्ने प्रचार गरिँदै छ । तर यो एक वर्षको अवधिमा भ्रष्ट्राचारका काण्ड कति भए ? भन्ने कुरा राजावादीहरूले पनि औँल्याउन सकेका छैनन् । विदेश जानेहरू बढेका छन्, तर पासपोर्ट बनाउने ठाउँमा रातीदेखि लाइन बस्नुपर्ने अवस्था छैन । सवारी साधनको पुराना लाइसेन्सको ठाउँमा नयाँ स्मार्ट लाइसेन्स वितरण गरिएको छ, तर यातायात कार्यालयमा हिजोको जस्तो रातीदेखि लाइन बस्नुपर्ने अवस्था छैन । केही घुस्याहा कर्मचारीले दुःख दिने गरेका घटना अझै छन्, तर एक वर्ष अघिको तुलनामा सरकारी सेवा लिन अप्ठेरो भयो भन्ने कुरा सरासर झुठो हो ।

प्रतिक्रिया