अर्थतन्त्रमा सकरात्मक लक्षण

चालु आर्थिक वर्षका सुरुका पाँच महिनाको अवस्थाले देशको अर्थतन्त्र सकरात्मक रूपमा अघि बढेको संकेत देखाएको छ । पहिलो कुरा त यो अवधिमा विदेशी बस्तुको आयात घटेको छ । गत आर्थिक वर्षको यही अवधिमा करिब ६ खर्ब रुपैयाँको बस्तु आयात भएकोमा चालु आर्थिक वर्षको यो अवधिमा ५ खर्ब २० अर्ब रुपैयाँको मात्रै बस्तु आयात भएको छ । यसैगरी गत आर्थिक वर्षको यो अवधिमा सात अर्ब रुपैयाँको बिजुली निर्यात भएकोमा चालु आर्थिक वर्षको यो अवधिमा १२ अर्ब रुपैयाको बिजुली निर्यात भएको छ । सिमेन्टको निर्यात पनि २० गुणा वृद्धि भएर एक अर्ब रुपैयाँ नाघेको छ । यसैगरी अर्को सकरात्मक लक्षण भनेको पेट्रोलियम पदार्थका आयतमा कमी आउनु हो । गत आर्थिक वर्षको सुरुका चार महिनाको तुलनामा चालु आर्थिक वर्षका सुरुका चार महिनामा पेट्रोलियम पदार्थको आयात १० अर्ब रुपैयाँले घटेको छ ।

स्वदेशी कच्चा पदार्थ तथा साधन स्रोत प्रयोग गरेर उत्पादित बस्तुको निर्यात वृद्धि उत्साहजनक रूपमा हुनु र विदेशी बस्तुको आयत घट्नु भनेको अर्थतन्त्रका लागि निकै सकरात्मक संकेत हो । यसैगरी विदेशी मुद्रा आर्जन पनि गत आर्थिक वर्षको सुरुका चार महिनाको अवधिको तुलनामा चालु आर्थिक वर्षको सुरुका चार महिनामा करिब २५ प्रतिशत वृद्धि भएको छ । यो वृद्धिलाई पनि सामान्य रूपमा लिन मिल्दैन । विदेशी पर्यटकको आगमनमा दोब्बर वृद्धि भएको छ भने वैदेशिक रोजगारीमा जानेहरूको संख्या तथा उनीहरूले पठाउने रेमिटेन्समा पनि ठूलो वृद्धि भएको छ ।

स्वदेशी कच्चा पदार्थ तथा साधन स्रोत प्रयोग गरेर उत्पादित बस्तुको निर्यात वृद्धि उत्साहजनक रूपमा हुनु र विदेशी बस्तुको आयात घट्नु उत्साहजनक हुँदाहुँदै पनि अर्थतन्त्रमाथि दबाब पर्ने संभावना भने बाँकी नै छ । बस्तु आयात घट्दा सरकारको राजस्व आम्दानी घट्न र रोजगारीको क्षेत्र पनि खुम्चन पुग्छ । लक्ष अनुसारको राजस्व संकलन नहुँदा कर्मचारीलाई तलब खुवाउनसमेत राज्यको आम्दानीले पुग्दैन । पुँजीगत खर्च निकै कम हुन्छ । पुँजीगत खर्च कम हुँदा आगामी वर्षहरूमा समेत राजस्व संकलनमा असर पुग्छ । राज्यको ऋण वृद्धि हुने संभावना झन् बढ्छ । अहिले पनि विकास बजेटभन्दा ऋणको सावा व्याज तिर्नका लागि बढी रकम खर्च हुने अवस्था छ । यो अवस्था थप बढ्ने संकेत देखिएको छ ।

यथास्थितिमा देश अघि बढ्न सक्दैन भन्ने कुरा राजावादी कित्तामा बढ्दो जनसमर्थनले पुष्टि गरिसकेको छ । जनतामा असन्तुष्टि चुलिँदो छ । विकासका पूर्वाधार निर्माणमा प्रगति नभएको होइन । तर यी पूर्वाधारहरू धेरैजसो अधुरा छन् । सम्पन्न भइसकेका पूर्वाधारहरूले पनि प्रतिफल दिन सकिरहेका छैनन् । नेपालको अर्थतन्त्रको मुख्य समस्या भनेको यही हो । अर्बौं रुपैयाँ लगानी गरेर निर्माण सम्पन्न भएका पोखरा र लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउन सकेका छैनन् । अर्बौं रुपैयाँ खर्च गरेर निर्माण गरिएको चोभार सुक्खा बन्दरगाहसमेत प्रयोगमा आउन सकेको छैन ।

मेलम्ची खानेपानी आयोजना निर्माणका लागि राज्यको अर्बौं रुपैयाँ खर्च भइसकेको छ, तर यो आयोजनाले अझै आम्दानी दिन सकिरहेको छैन । चाहे मध्यपहाडी लोकमार्ग होस्, चाहे काठमाडौं तराई द्रुत मार्ग होस्, अथवा नागढुंगा सुरुङमार्ग तथा विभिन्न सिँचाइ आयोजना किन नहुन् ? यी सबै आयोजनामा १० खर्ब रुपैयाँभन्दा बढी रकम खर्च भइसकेको छ, तर काम अझै बाँकी रहेका कारण प्रतिफल आउने सकेको छैन । उता २३ अर्ब ऋण कहाँ खर्च गरियो ? भन्दै प्रतिगामी कित्ताले सीधासाधा जनताको दिमाग भुट्न थालिसकको छ । देशको विकास तथा अर्थतन्त्रले बिस्तारै लय समात्दै गए पनि सर्वसाधारण जनताले महसुस गर्ने र मुलुक बन्दै छ भनेर आशा गर्ने अवस्थामा जनतालाई पुर्याइएको छैन । राजनीतिकदलहरू जनतामा आशा जगाउनुको सट्टा एकअर्कालाई खुइल्याउन तल्लीन रहेको मौकाको लाभ प्रतिगामी कित्ताले उठाइरहेको छ ।

प्रतिक्रिया