भागवत अनुसारको पृथ्वी : एक संक्षिप्त गन्थन

भर्खरै मात्र वैज्ञानिक स्टेफिन हकिन्सका अन्तिम कुरा सार्वजनिक गर्दा अहिलेका वैज्ञानिकहरूले ‘ईश्वर छैनन् र अन्त अरू ग्रहमा हामीभन्दा धेरै विकसित समाज हुन सक्ने’ गरी उनको विचारको व्याख्या गरेका छन् । हामी यता भने भएका कुरा नखोतलेर सूत्रवद्ध रहस्य लेखिएका ग्रन्थहरूको पूजा मात्र गरेर बसिरहेका छौँ । अधिकांश पूर्वेली गन्थ्रहरू १५औँ शताब्दीभन्दा पछि पश्चिमेली भाषामा अनुवाद गरिए र अधिकांश आविष्कारहरू पनि त्यसपछि मात्र भए, के संयोग मात्र हुन सक्छ र ?

मोहनप्रसाद सापकोटा

पृथ्वीको बनोट विज्ञान र शास्त्र दुबै अनुसार परिवर्तनशील छ । मान्छेले सक्दा मान्छेले र मान्छेले नसक्दा प्रकृतिले यसको भौगोलिक उथलपुथल हुने गरेको छ । भागवतमा भारतवर्षको सीमा निर्धारण हिमालय श्रृंखलाले गर्दछ भनिएको छ । पुराणप्रसिद्ध पर्वत हिमालय श्रृंखलाको उत्तरतिर र कैलाश पर्वतको पूर्वतिर इलावृत्त नामका पृथ्वीका दशौं भूखण्डको बीचमा रहेको र त्यो पृथ्वीको मेरुदण्ड र बीच भाग हो भनिएको छ । सुनैसुनले बनेको भनिएको त्यो पर्वतको उचाई एक लाख योजन, टुप्पोको क्षेत्रफल ३२ हजार योजन र फेदको क्षेत्रफल १६ हजार योजन थियो । यो पर्वत १६ हजार योजन त जमिनभित्र दबेको थियो । जमिन बाहिरको यसको उचाइ ८४ हजार योजन थियो । एक योजन बराबर करिब १२ कि.मि. हुन्छ । कल्पना नै गर्न नसकिने यो पर्वतको अस्तित्व कता हरायो होला ?

म जुरासिक कालका आधुनिक खोजमूलक इतिहास पढ्दछु । त्यसबेला चार–पाँच सय फिट उचाइका वृक्षहरू सामान्यरूपमा थिए भनिएका छन् । अनि पुराणमा वर्णित त्यो जामुनूको रुखलाई सम्झन्छु जसमा हात्ती जत्रा फल फल्दथे र त्यो फल सदाबहार फल्दै पाक्दै झरिरहने गर्दथे । त्यो फलको रसबाट नदी बग्दथ्यो । यही जामुनूको अति विशाल वृक्षको नामबाटै जम्बूद्वीप नाम रहन गएको थियो ।

पृथ्वीका यावत् कुरा खिइँदै खिँइदै गइरहेको कुरामा कुनै विवाद छैन । त्यसैले पुराणहरूमा वर्णन भएका अजंगका वृक्ष, शार्दूल आदि अजंगका जनावर, घटोत्कच आदि जस्ता अजंगका मानिसको अस्तित्व कथामा मात्र सीमित छ, म यो मान्न तयार छैन ।

दिक्क लाग्दा पृथ्वीको पुरातन इतिहाससँग सम्बन्धित पश्चिमी आुधनिक चलचित्र हेर्दछु । त्यसमा हिन्दू पुराणमा वर्णित विभिन्न कथा र पात्रको कुनै न कुनै अंश समेटिएको पाउँदछु । विश्वभर जुनसुकै सभ्यताका जेसुकै मिथक हुन् ती निराधार छैनन् । मलाई यस्तै लाग्दछ ।

कुतूहलता ः शास्त्र र विज्ञान

आज देवीभागवत पढिरहेको थिएँ । राजा रेवत आफ्नी छोरीको बिहे गरिदिनका लागि योग्य केटो कहाँ छ भनेर सोध्न ब्रह्मलोक गए । जब उनी फर्कने कुरा चल्यो तब उनलाई त्यहाँ ‘अहिले पृथ्वीमा हजारौँ वर्ष (करिबकरिब एउटा युग नै) बितिसकेको र उनी ब्रह्मलोक आउँदाका कोही पनि जीवित नरहेको’ कुरा जानकारी गराइयो । मेरो दिमाग रन्थनियो । किन थाहा छ ?
किन कि क्यू जेट डटकम, द गार्जिनर आदि पत्रिकामा करिव दुई वर्ष अगाडि एउटा समाचार पढेको थिएँ । त्यो समाचारमा अन्तरीक्षयात्री एवं खगोलशास्त्री स्कट केल्ली जब एक वर्ष अन्तरीक्षमा बसेर पृथ्वीमा आए तब उनी आफ्नै जुम्ल्याहा दाजुभन्दा निकै जवान देखिएका थिए भनेर छापिएको थियो ।

अहिले मनमा अनेक तरंग उठे । किन हाम्रा शास्त्र मान्छेका यति दिन बराबर देउताको यति दिन हुन्छ, पितृको यति दिन हुन्छ, ब्रह्माको यति दिन हुन्छ र एकोहोरो फलाक्छन् अब घैँटामा केही घाम लागेको छ । जुन कुरा आजभन्दा तीन सय वर्ष अघिसम्म कुनै वैज्ञानिकको दिमागमा थिएन त्यो कुरा हजारौँ वर्ष अघिका हाम्रा पूर्वजहरूको गिदीमा थियो । तब न लेखे । खोतलेर पढ्ने गिदी भएन, पूजा गर्ने मात्र जन्मिए । मलाई पनि थप जिज्ञासा जाग्यो केही सामाजिक संजाल खोतलेँ । क्वेरा डटकममा लेखिएको भेटेँ ‘यदि हामी आठ प्रकाशवर्ष टाढा कतै गएर एक वर्षपछि पृथ्वीमा फर्कियौँ भने पृथ्वीको २७ हजार वर्ष बितिसकेको हुन्छ ।’

एक प्रकाश वर्षमा कति किमि पर्दोरहेछ भनेर हेरेँ । लेखिएको रहेछ (९४ खर्ब ६० अर्ब ७३ करोड ४ लाख ७२ हजार ५ सय ८१ किमि । यसरी एक प्रकाश दिन भन्नाले लगभग २५ अर्ब ९१ करोड ९८ लाख ९ हजार ५ सय १४ किमिको दुरी हुन आउँछ ।

आठ प्रकाश वर्षमा २७ हजार वर्षको फरक हुन्छ भने एक प्रकाश वर्षमा ३ दशमलव ३७ हजार वर्षको फरक हुन्छ । ३ दशमलव ३७ हजार वर्ष भनेको १२ लाख ३० हजार ५० दिन हुन जान्छ । पितृलोक र पृथ्वीको समयमा १५ दिनको फरक बताइएको छ । पृथ्वीको समयसँग एक दिन परक हुने दुरी ७६ लाख ९१ हजार ३ सय ३८ किमि टाढा हुन्छ । त्यसैले १५ दिन फरक पर्ने भनेर जुन पितृलोकको कुरा गरिएको छ त्यो पृथ्वीबाट ११ करोड ५३ लाख ७० हजार ७२ किमि टाढा हुनसक्ने देखिन्छ ।

पृथ्वीबाट सूर्य १४ करोड ९६ किमि टाढा छ । शास्त्र अचम्मसँग लेख्छ कि पितृलोकभन्दामाथि सूर्य लोक छ र त्यसलाई पार नगरी अन्य लोकमा जान सकिन्न ।

पृथ्वीबाट मंगल ग्रहको दुरी २२ करोड ७९ लाख ४० हजार किमि छ । उपर्युक्त हिसाब अनुसार मंगल ग्रह र पृथ्वीको समयमा करिब २९ दशमलव ६४ दिनको फरक पर्ने देखिन्छ । मानिसले मंगल ग्रहका लागि टिकटसमेत बुक गरिरहेछन् । वैज्ञानिकहरूलाई भने हालसम्मको सबभन्दा आधुनिक सञ्चार (सम्पर्क) माध्यम रेडियो तरंगबाट सन्देश पठाउँदा पनि मंगलग्रह पठाउन र त्यहाँबाट पठाएको यहाँ आउन सात दिन लाग्ने भएर पिरलो भइरहेछ ।

भर्खरै मात्र वैज्ञानिक स्टेफिन हकिन्सका अन्तिम कुरा सार्वजनिक गर्दा अहिलेका वैज्ञानिकहरूले ‘ईश्वर छैनन् र अन्त अरू ग्रहमा हामीभन्दा धेरै विकसित समाज हुन सक्ने’ गरी उनको विचारको व्याख्या गरेका छन् । हामी यता भने भएका कुरा नखोतलेर सूत्रवद्ध रहस्य लेखिएका ग्रन्थहरूको पूजा मात्र गरेर बसिरहेका छौँ । अधिकांश पूर्वेली गन्थ्रहरू १५औँ शताब्दीभन्दा पछि पश्चिमेली भाषामा अनुवाद गरिए र अधिकांश आविष्कारहरू पनि त्यसपछि मात्र भए, के संयोग मात्र हुन सक्छ र ? हामीलाई विदेशीहरू ‘सुनको कचौरा लिएका माग्नेहरू’ भन्दा रहेछन् । किन होला ?

प्रतिक्रिया