तीनकुने हत्या प्रकरण : एसएसपी राठौरको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन

काठमाडौं । उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले तीनकुने सामूहिक हत्या प्रकरणको छानबिन गर्न एसएसपी सोमेन्द्रसिंह राठौरको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति बनाएको छ । उपत्यका प्रहरी प्रमुख एआईजी दीपक थापाले उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंका प्रमुख राठौरको नेतृत्वमा जिल्ला प्रहरी परिसर, काठमाडौं र उपत्यका प्रहरी कार्यालयका अधिकृतहरु रहेको समिति बनाएका हुन् ।

याे पनि : सामान्य विषयमा हत्याका घटना बढ्दो, गैह्रीगाउँ घटनामा संलग्न व्यक्ति ट्याक्सी चढेर आफैँ प्रहरीमा पुगेका थिए

समितिका सदस्यहरुमा जिल्ला प्रहरी परिसर, काठमाडौंका डीएसपी हरि खतिवडा, उपत्यका प्रहरी कार्यालयका डीएसपी सुवास खड्का, अपराध अनुसन्धान कार्यालयका डीएसपी सुरक्षा केसी र प्रहरी वृत्त, बानेश्वरका निरीक्षक वीरेन्द्र केसी सदस्य रहेका छन् ।

गएराति तिनकुनेस्थित दिव्य सःमिलभित्र धारिलो हतियार प्रहार गरेर एकैपरिवारका ३ सहित ४ जनाको हत्या भएको थियो । मारिनेमा दोलखा घर भएका करिब ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती शुभद्र वाइवा र कुमारकी आमा करिब ७० वर्षीया सुमित्रा भुजेल र मोरङ घर भएका करिब १९ वर्षीय नवीन राई छन् ।

याे पनि : काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका तीनसहित ४ जनाको हत्या

प्रहरी यो घटनामा संलग्न रहेको आशंकामा २८ वर्षीय दीपेन्द्र राईलाई पक्राउ गरेको छ । उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी दीपक थापाका अनुसार, राईलाई कपडा र जुत्तामा रगत लागेको अवस्थामा पक्राउ गरिएको हो । उनले मदिरा सेवन गरेको पाइएको छ ।

प्रतिक्रिया