रोशीको पाँच स्वास्थ्य संस्थामा निःशुल्क औषधिसहित मानसिक रोगको उपचार

काभ्रे । काभ्रे जिल्लाको रोशी गाउँपालिकाले केही समयमै गाउँपालिकाभित्र सञ्चालित पाँच स्वास्थ्य संस्थाहरूमा निःशुल्क औषधिसहित मानसिक रोगको उपचार सुरु गर्ने भएको छ । मानसिक रोगको बारेमा तालिम प्राप्त स्वास्थ्यकर्मी रहेको ५ स्वास्थ्य संस्थामा केही दिनमै मानसिक रोगको उपचार सुरु गर्ने भएको हो ।

रोशी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख गंगालाल श्रेष्ठका अनुसार गाउँपालिकाभित्रको स्वास्थ्य संस्थाहरूमध्ये ५ वटा स्वास्थ्य संस्थामा मानसिक रोगको बारेमा तालिम प्राप्त स्वास्थ्यकर्मी रहेकाले ती स्वास्थ्य संस्थामा मानसिक रोगको उपचार सुरु गर्न लागेको हो ।

रोशी गाउँपालिका–। ५ स्थित सिसाखानी स्वास्थ्य संस्था, वडा नं. ७ स्थित कटुञ्जेबेशी स्वास्थ्य संस्था, वडा नं. ८ स्थित खार्पाचोक स्वास्थ्य संस्था, वडा नं. १० स्थित वाल्टीङ स्वास्थ्य संस्था र वडा नं। ११ स्थित भिमखोरी स्वास्थ्य संस्थामा केही समयमै मानसिक रोगको उपचार सुरु गर्ने श्रेष्ठले बताए ।

औषधिको टेण्डर भइसकेको र सो औषधि आउनेबित्तिकै ती ५ स्वास्थ्य संस्थाहरूमा निःशुल्क औषधिसहित मानसिक रोगको उपचार सुरु गर्ने उनको भनाइ छ । पालिकाको अन्य स्वास्थ्य संस्थाहरूमा पनि क्रमशः स्वास्थ्यकर्मीहरूलाई तालिम दिएर मानसिक रोगको उपचारमा वृद्धि गर्दै जाने उनले जानकारी दिए ।

विश्व आत्महत्या रोकथाम दिवस

विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा रोशी गाउँपालिका स्वास्थ्य शाखाले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । आईतबार रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाको अध्यक्षतामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

सो कार्यक्रममा गाउँपालिका अध्यक्ष लामाले पछिल्लो समयमा आत्महत्या बढ्दै गएकाले रोकथाम तथा न्यूनिकरणको कार्यक्रम गर्नुपर्ने बताए । आत्महत्या रोकथाममा गाउँपालिका मात्र नभएर सबै क्षेत्रको उत्तिकै भूमिका हुनुपर्नेमा लामाले जोड दिए । आत्महत्या रोकथामको लागि सुक्ष्म ढंगले अध्यायन गरी लाग्न स्वास्थ्यकर्मीहरूलाई अनुरोध गरे ।

अन्तरक्रियापछि विद्यालय नर्स, स्वास्थ्यकर्मी र महिला स्वयमसेवीकामार्फत आत्महत्या रोकथाम तथा न्यूनिकरणको लागि जनचेतना फैलाउने कार्ययोजना बनाएका छन् । धेरैजसो आत्महत्या मानसिक रोगका कारण भएकाले मानसिक रोगको बारेमा जनचेतना फैलाउने आयोजकले जानकार दिएका छन् ।

त्यसरी नै रोशीको आत्महत्याको समग्र डाटा एनिलाईसि गरेर बढी भएको वडामा प्राथमिकताको साथ जनचेतनामूलक कार्यक्रम गर्ने योजना स्वास्थ्य शाखाले बनाएका छन् । ९० प्रतिशत आत्हत्या मानसिक रोगका कारण भएको हुनाले मानसिक रोगको न्यूनिकरण तथा रोकथामका लागि गाउँपालिकाले कसरी कार्यक्रम गर्ने भन्ने बारेमा पालिकास्तरीय नीति तथा कार्यक्रम बनाउने कार्ययोजना तय भएको छ ।

स्वास्थ्य शाखा प्रमुख गंगालाल श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मिमबहादुर वाईबा, प्रमुख प्रशासकीय अधिकृत रामबहादुर तामाङ, गाउँपालिकाका प्रवक्ता वसन्तकुमार लामा, जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका अधिकृत राजाराम अधिकारी, कटुञ्जेबेशी प्रहरी चौकीका इञ्चार्ज निरमदन थापा, गाउँपालिकाका महिला विकास शाखा अधिकृत रञ्जना चौलागाई, शिक्षा शाखा प्रमुख राजेन्द्र सिग्देल, गाउँपालिक भित्रका सबै सवास्थ्य संस्थाका प्रमुत तथा प्रतिनिधिहरू लगायत अन्य कर्मचारीहरूको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया