बौद्धमा गाईजात्राको तयारी पूरा

काठमाडौं । बौद्धनाथ क्षेत्र विकास समिति, काठमाडौं महानगरपालिका वडा नं. ६ र बौद्ध तामाङ कल्याण गुठीको संयुक्त आयोजनामा राजधानीभित्रको ऐतिहासिक साँस्कृतिक पर्वका रुपमा मनाइँदै आएको गाईजात्रा, रोपाईजात्रा र घोनाई जात्रा भदौ १५ गते आयोजना गर्ने भएका छन् । बौद्ध घ्याङ गुठीले आयोजना गर्ने सो कार्यक्रम २०५३ सालबाट बौद्धनाथ क्षेत्र विकास समिति गठन भएपछि समितिकै सक्रियतामा र स्थानीय धार्मिक संस्थाहरुको सहभागितामा आयोजना गर्ने गरिएको हाे । नेपाल सरकारले बौद्धनाथ क्षेत्र विकास समिति गठन गरेपछि चिनियाँ लामाको अधिनस्थमा रहने बौद्ध घ्याङ गुठी यस्ता स्थानीय जात्रा तथा पर्वहरुबाट बाहिरिएको छ । बौद्ध घ्याङ गुठीका पुजारी चिनियाँ लामाको सो क्षेत्रको धर्म संस्कृतिप्रति सद्भाव नदेखिएपछि स्थानीय तहका सामाजिक संघसंस्थाहरुले यो पर्वलाई निरन्तरता दिन थालेका हुन् ।

यस पटक गाईजात्रा, रोपाईजात्रा तथा घोनाई जात्रा पर्वका लागि काठमाडौं महानगरपालिकाको सम्पदा विभागबाट १५ लाख, बौद्धनाथ क्षेत्र विकास समितिको तर्फबाट रु १० लाख बजेट विनियोजन गरिएको कुरा तामाङ कल्याण गुठी बौद्ध, फुलबारीमा आयोजित पत्रकार सम्मेलनमा मुल समारोह समितिका संयोजक जयमंगल लामा, काठमाडौं महानगरपालिका वडा नंं. ६ का अध्यक्ष भुवन लामा, बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले बताएका छन् । बौद्ध क्षेत्रको मौलिक संस्कृतिमा आधारित रोपाईजात्रा (घोनाई) सो क्षेत्रको पहिचानका रुपमा रहेको छ ।

यस पटक विभिन्न १० विधामा प्रतिस्पर्धीहरुलाई सहभागी गराई प्रथम, द्वितीय, तृतीय र सान्त्वना पुरस्कारको समेत व्यवस्था गरिएको आयोजक समितिले बताएको छ । समितिका अनुसार प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः १० हजार, ७ हजार, ५ हजार र २५ सय राशिको नगद पुरस्कारसहित प्रमाणपत्र, पदक र ट्रफी प्रदान गरिने कार्यक्रम रहेको छ । गाईजात्रामा रोपाहार, बाउसे, हलगोरु, झाँकी, हास्य–व्यंग्य, ख्याली, लाखे, घोडा, बाल रोपाहार र बाल बाउसे विधामा प्रतिस्पर्धा हुने बताइएको छ । प्रतियोगिहरुको छनोटका लागि वीरबहादुर लामाको संयोजकत्वमा १० सदस्यीय निर्णायक समिति बनेको कुरा समारोह समितिका प्रवक्ताद्वय सम्पूर्णकुमार लामा र टासीकुमार लामाले बताए ।

प्रतिक्रिया