काभ्रे । काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिकाका सबै स्वास्थ्य संस्थामा अक्सिजन कन्सन्ट्रेटरलगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।
स्वास्थ्य सेवा विभागमार्फत नगरपालिकाका सबै स्वास्थ्य संस्थामा मागबमोजिम अक्सिजन कन्सन्ट्रेटर २ वटा, पल्स अक्सिमिटर ३ वटा, सिटामोल ३ हजार चक्की, आइरन चक्की १२ हजार, सर्जिकल माक्स ४ हजार थान र एन ९५ माक्स २ हजार वटा हस्तान्तरण गरिएको हो ।
समाजसेवी विशाल तामाङ, रघुनाथ धिताल लगायतले समन्वय गरेका थिए । आइतबार नै ती स्वास्थ्य सामाग्री सम्बन्धित स्वास्थ्य संस्था प्रमुखलाई नगर प्रमुख कुनसाङ लामाले हस्तान्तरण गरेका छन् ।
स्वासप्रश्वासका विरामी बढ्दै गएको र कोरोनालगायतको जोखिम उत्तिकै रहेको भन्दै ती सामग्री उपयोगी हुने भन्दै नगर प्रमुख लामाले समन्वय गर्ने र प्रदान गर्ने सबैमा आभार प्रकट गरे ।
हस्तान्तरण कार्यक्रममा नगर युवा परिषद्का कार्यकारी उपाध्यक्ष रामेश्वर अधिकारी, स्वास्थ्य शाखा प्रमुख भगिरथ अधिकारी लगायतको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया