सीबी लामा अध्यक्ष रहेकाे पशुपति सहकारी समस्याग्रस्त घोषणा

काठमाडौं । काभ्रेका सीबी लामा अध्यक्ष रहेकाे पशुपति बचत तथा ऋण सहकारी संस्था समस्याग्रस्त घोषणा भएको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले १ असारमा सहकारीलाई समस्याग्रस्त घोषणा गरेको हो । मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै पशुपति सहकारीलाई समस्याग्रस्त घोषणा गरेको हो ।

संघ सरकारको सहकारी विभागको नियमन क्षेत्रभित्र रहेको पशुपति सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेडले २०७७ सालदेखि बचतकर्ताको बचत फिर्ता नगरेको सम्बन्धमा कारबाही हुँदा उक्त सहकारी संस्थामा सहकारी ऐन, २०७४ अनुसार समस्याग्रस्त घोषणा गरेको मन्त्रालयले जनाएको छ ।

ऐनको दफा १०४ को उपदफा (१) को खण्ड (क) देखि (च) सम्मको अवस्था विद्यमान रहेकोले सहकारी विभागका रजिष्ट्रारको सिफारिसमा सोही ऐनको दफा १०४ को उपदफा (२) बमोजिम समस्याग्रस्त घोषणा गरेको मन्त्रालयले जारी गरेकेा प्रेस विज्ञप्तिमा उल्लेख छ ।

मन्त्रालयले उक्त संस्थाको सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानीसम्बन्धी कार्य गर्न सोही ऐनको दफा १०५ बमोजिम गठित समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा पठाइएको हो ।

सहकारी विभागले २९ फागुन २०७९ मा सहकारीलाई समस्याग्रस्त घोषणा गर्न सिफारिस गरेको थियो । यस्तै विभागले सहकारीका अध्यक्ष सीबी लामासहित सञ्चालक र व्यवस्थापकलाई पक्राउ गरी अनुसन्धान गर्न सीआईबीलाई १९ जेठमा पत्राचार गरेको थियो ।

विभागले अनुसन्धानको लागि पत्राचार गरे पनि अहिलेसम्म सीआईबीले कारबाही भने अगाडि बढाएको छैन । सहकारी विभागमा बचतकर्ताले ५३ करोड निक्षेप फिर्ता पाउनुपर्ने माग दाबीसहित उजुरी दिएका छन् । तर, सहकारीमा एक अर्ब ७२ करोड निक्षेप दायित्व रहेको विवरण सहकारी विभगमा छ ।

प्रतिक्रिया