मतपेटिका र मतगणनामा सजग हुन सुझाव

काठमाडाैं । पूर्वप्रमुख निर्वाचन आयुक्तहरुले निर्वाचन आयोगलाई संयमित भएर काम गर्न आग्रह गरेका छन् । पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले निर्वाचन आयोगको सबैभन्दा ठूलो शक्ति नै संयमता भएकाले आयोगका पदाधिकारीहरुले त्यसमा ध्यान दिनुपर्ने बताए ।

निर्वाचन आयोगको सानो गल्ती पनि आगोको झिल्कोझैं सल्किन सक्ने भएकाले त्यसतर्फ सचेत हुनुपर्ने उनको भनाई छ । सोमबार ललितपुरमा आयोजित ‘निर्वाचन आयोगको अभिभारा’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले निर्वाचनको वातावरण भत्किन नदिन निर्वाचन आयोग नै बढी सजग हुनुपर्ने पोखरेलले बताए ।

पोखरेलले भने, ‘निर्वाचनलाई अप्ठ्यारोमा पार्ने तत्वहरु धेरै छन् । हाम्रो आफ्नै बोली, बचन र व्यवहारबाट त्यो परिस्थिति नआओस् । यतिखेर असाध्यै संवेदनशिल हुनुपर्छ । किनभने, सानो एउटा झिल्को भयो भने पनि डढेलो लाग्छ । यतिबेला आयोगको सबैभन्दा ठूलो शक्ति भनेकै संयमता हो ।’

अर्का पूर्वप्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर निर्वाचनको सुरक्षा व्यवस्था मिलाउनु पर्ने बताए । शीर्ष नेताहरू उम्मेदवार रहेको जिल्ला बढीसंवेदनशील हुने भएकाले त्यसको सुरक्षा व्यवस्थामा विशेष ध्यान दिनुपर्ने उनले बताए ।

पूर्व कार्यबहाक प्रमुख निर्वाचन आयुक्त दोलखबहादुर गुरुङले मतगणनामा गडबढी हुन नदिन निर्वाचन आयोग गम्भिर बन्नुपर्ने आवश्यकता औल्याउनुभयो । सबै निर्वाचनहरुमा मतगणनाको विषय जटिल हुने भन्दै गुरूङले मतगणना विवादरहित बनाउन आयोगले बेलैमा योजना बनाउनुपर्ने बताए ।

‘अत्यन्तै संवेदनशील र कठिन हुने भनेकै मतगणना हो । प्रत्येक निर्वाचनमा मतगणनामै गडबढी हुँदै आएको छ’, गुरूङले भने । त्यसैगरी, निर्वाचन आयोग मत पेटिकाको सुरक्षामा पनि उत्तिकै चनाखो हुनुपर्ने उनले बताए । २०६४ को निर्वाचनमा मतपेटिका बोकेर आएको ट्रक नै बेपत्ता भएको र अहिलेसम्म पत्ता नलागेको भन्दै उनले त्यस्तो घटना दोहोरिन नदिन आयोग नै सचेत हुनुपर्ने बताए ।

प्रतिक्रिया