उर्वरभूमिमै अस्तित्व जोगाउन सकस

सिराहामा मधेस केन्द्रित दल

सिराहा । आगामी मंसिर ४ गते देशभर प्रतिनिधिसभा र प्रदेशसभाका लागि निर्वाचन हुँदैछ । यो निर्वाचनबाट सिराहा जिल्ला पनि अछुतो छैन । विगतदेखि नै राष्ट्रिय राजनीतिमा महत्वपूर्ण स्थान राख्दै आएको सिराहा जिल्ला मधेस आन्दोलनको उद्गम स्थल पनि हो ।

पहिलो र दोस्रो मधेस आन्दोलनको केन्द्रका रूपमा रहेको सिराहाका निर्वाचन क्षेत्रहरूलाई देशभरकै महत्वपूर्ण क्षेत्रमध्ये एक मानिन्छ । मधेसी जनाअधिकार फोरम र तत्कालीन नेकपा माओवादीबीचको सामान्य असमझदारीले सुरु भएको मधेस आन्दोलनले त्यतिबेला समग्र मुलुकलाई नै तताएको थियो ।
मधेस आन्दोलनको रापले तराई÷मधेसका सबै जिल्लाको वातावरणलाई असहज बनाएको थियो । त्यति मात्र होइन, मधेस आन्दोलकै कारण मूलधारका राजनीतिक दलहरू पनि तत्कालीन मधेसी जनाअधिकार फोरमको माग सम्बोधन गर्न बाध्य भएका थिए ।

समग्रमा भन्नुपर्दा सिराहाको चार वटै निर्वाचन क्षेत्रमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका पुराना र प्रभावशाली मानिएका नेताहरूले उम्मेद्वारी दिएकाले मधेसवादी दलहरूको अवस्था यो पटक निकै दयनीय देखिन्छ ।

सुरक्षाको दृष्टिकोणले पनि यो जिल्ला त्यतिकै संवेदनशील मानिन्छ । यो जिल्लामा प्रतिनिधिसभाका लागि चार वटा निर्वाचन क्षेत्र तोकिएको छ । अघिल्ला निर्वाचनहरूमा मधेसवादी दल (खासगरि मधेसी जनअधिकार फोरम) ले वर्चस्व कायम गरेको सिराहा जिल्लामा पछिल्लो समयमा मधेस केन्द्रित दलहरू गुटफुटका कारण कमजोर देखिएका छन् ।

मधेस आन्दोलनको रापतापबाट अग्रस्थान ओगटन सफल भएका मधेसवादी दलहरूलाई अहिले आफ्नो अस्तित्व जोगाउन पनि निकै कठिनाइ परेको देखिन्छ । मंसिर ४ गते हुन लागेको निर्वाचनमा नेकपा एमालेसँग गठवन्धन नगरेको भए उपेन्द्र यादब नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) र सत्ता साझेदार दलसँग गठवन्धन नगरेको भए महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लगायतका मधेसवादी दलहरूको अस्तित्व नै संकटमा पर्ने अवस्था सिर्जना भएको थियो ।

०६३ साल माघमा भएको पहिलो मधेस आन्दोलनबाट रातारात चर्चित नेता बन्न पुगेका यो जिल्लाका तत्कालीन नेताहरू अहिले गुमनाम अवस्थामा छन् । पछिल्लो समय पार्टी, प्रदेशसभा र प्रतिनिधिसभामा नयाँ अनुहारले प्राथमिकता पाएपछि मधेस आन्दोलनबाट संघर्ष गरी जन्मिएका नेताहरू अहिले मधेसवादी दलहरूबाट टाढिएर गुमनाम बनेका हुन् ।

पहिलो मधेस आन्दोलनबाट चर्चित बनेका नेताहरूमध्ये अहिले सिराहामा विजय यादव मात्र उम्मेद्वारका रूपमा देखिएका छन् । उनी जनता समाजवादी पार्टी (जसपा) को तर्फबाट प्रदेशसभा सदस्य निर्वाचनमा उम्मेद्वार बनेका छन् ।

जसपाकै राजकिशोर यादव र वीरेन्द्र महतो दोस्रो मधेस आन्दोलनबाट चर्चित बनेका नेता हुन् । पछिल्लो समयमा स्थानीय तहमा वीरेन्द्र महतो आशलाग्दो नेताको रूपमा उदाएका छन् । तत्कालीन समयमा मधेस आन्दोलनको नेतृत्व गरेका किशोरी यादव र लक्ष्मण मेहतालगायत भने अहिले गुमनाम छन् ।

शत्रुघन महतो जसपा छाडेर एमालेमा प्रवेश गरेका छन् । पहिलो मधेस आन्दोलनबाट उदाएका विजय यादबको जनाधार पनि अहिले खस्किएको छ । प्रदेश सरकारमा भएका भ्रष्टाचार काण्डहरूमा मुछिएपछि उनी विवादमा परका हुन् ।

जो मधेस आन्दोलनमा सक्रिय भए, मिहिनेत गरे, सडक आन्दोलनमा होमिए, त्यस्तालाई आफ्नै पार्टीले पत्याउन नसक्दा मधेस आन्दोलनको उर्वरभूमि सिराहा जिल्लामा मधेसवादी दललाई आफ्नो अस्तित्व जोगाउनसमेत निकै कठिन बनेको छ ।

विगतमा उपेन्द्र यादव नेतृत्वको विभिन्न समयमा फेरिएको नामसहितको राजनीतिक दल र महन्थ ठाकुर, राजेन्द्र महतो, राजकिशोर यादबलगायतको दलहरूको प्रभाव क्षेत्र मानिने सिराहा जिल्लामा उनीहरूकै ‘गुटफुट’को राजनीतिका कारण अप्ठ्यारो स्थिति सृजना भएको सहजै बुझ्न सकिन्छ ।

सत्तामा गएपछि जिल्लाबासीको हकमा सिन्कासम्म नभाँचिनु तथा भ्रष्टाचारमा लिप्त हुनुले पनि मधेसवादी दलहरूको जनाधार र प्रभावमात्रै सकिएको छैन, बरु अस्तित्व नै खतरामा परेको छ । पछिल्लो समय ग्रामिण क्षेत्रमा सिके राउत नेतृत्वको जनमत पार्टीको जनाधार पनि विस्तारै बढ्दै गएकाले ठुला मधेसवादी दलहरूले आगामी निर्वाचनमा मत तान्न निकै कठिनाइको सामना गर्नुपर्ने देखिन्छ ।

मधेसवादी दलहरू कमजोर हुँदा सिराहामा पनि राष्ट्रिय राजनीतिमा सक्रिय ठुला दलहरू नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रकै पकड बलियो देखिएको छ । नेकपा एमालेबाट विभाजित भएर बनेको माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीको प्रभाव पनि जिल्लामा राम्रो देखिन्छ । एकीकृत समाजवादीबाट मधेस प्रदेशमा कानुन, न्याय तथा प्रदेश मामिलामन्त्री बनेका प्रमोदकुमार यादब केही प्रभावशाली नेता हुन् । समग्रमा भन्नुपर्दा सिराहाको चार वटै निर्वाचन क्षेत्रमा कांग्रेस, एमाले र माओवादी केन्द्रको तर्फबाट पुराना र प्रभावशाली मानिएका नेताहरूले उम्मेद्वारी दिएकाले मधेसवादी दलको अवस्था निकै दयनीय देखिन्छ ।

सिराहाको क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका पुराना नेता पदमनारायण चौधरीले उम्मेद्वारी दिएका छन् । नेपाली कांग्रेसमा चौधरीको लामो समयको योगदान छ । उनको विपक्षमा एमाले–जसपा गठवन्धनबाट एमालेका रामशंकर यादबले उम्मेद्वारी दिएका छन् ।

यादब पुरानो नेता मानिए पनि विगतमा प्रहरीको हत्या गरेको अभियोगमा जेल जीवन विताएपछि उनको छवीमा नराम्रो ‘दाग’ लागेको छ । यस बाहेक उक्त क्षेत्रमा उनीमाथि ‘बाहुबली’ छवी बनाएको आरोप पनि छ । यसले गर्दा एमाले–जसपा गठवन्धनबाट उम्मेदबारी दिएका यादबलाई यो पटक स्थानीय तहमा भोट माग्न केही सकस पर्ने जानकारहरू बताउँछन् ।

यो क्षेत्रमा थारू र यादब समुदायको जातीय नारा सशक्त छ । उत्तरी क्षेत्रमा रहेको बहुल थारू समुदायको अत्यधिक मत पदमनारायणलाई आउन सक्ने देखिन्छ । लाहान नगरपालिकामा कांग्रेस अत्यधिक मतले विजयी भएकाले त्यसको प्रत्यक्ष फायदा पनि पदमनारायणले पाउन सक्छन् ।
यसैगरी दक्षिणी भेगमा यादब समुदायको बाहुल्य छ । यादब समुदायको मत भने रामशंकरलाई आउन सक्छ । प्रतिनिधिसभामा थारु समुदायबाट पदमनारायण एक्लो उम्मेदबार भएकाले उनलाई बढी फायदा हुने देखिएको छ । कांग्रेसभित्र अर्को बागि समूह पनि छ । यो समूहको मतले रामशंकर र पदमनारायणको भाग्य कोर्ने निश्चित छ । बागि समूहले पदमनारायण चौधरीलाई मत दियो भने उनी सहजै रूपमा विजयी हुने देखिन्छ ।

यो निर्वाचन क्षेत्रमा अन्य राजनीतिक दल र स्वतन्त्रबाट पनि ठूलो संख्यामा यादब समुदायको उम्मेद्बार भएकाले रामशंकरको मत बाँडिने सम्भावना छ । प्रदेशसभामा एमालेबाट राजेन्द्र चौधरीले उम्मेद्वारी दिएकाले पदमनारायणको मतलाई केही प्रभाव भने पक्कै पार्न सक्ने स्थानीय राजनीतिक विश्लेषक अर्जुन थपलिया बताउँछन् ।

क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसको पुरानो नेतृ चित्रलेखा यादबले उम्मेद्वारी दिएकी छन् । चित्रलेखा महिला नेतृमात्रै नभएर कांग्रेसभित्र प्रभावशाली पनि छिन् । उनले विगतमा मन्त्रीसहित उपसभामुखसम्मको पदीय जिम्मेवारी पनि सम्हालिसकेकी छन् ।

उनको विपक्षमा एमाले–जसपा गठबन्धनबाट जसपाका राजकिशोर यादबले उम्मेद्वारी दिएका छन् । मधेसमा जातीय समीकरणले निर्वाचनमा महत्वपूर्ण भूमिका खेल्छ । यो क्षेत्रमा उत्तरीतर्फ कोइरी समूदायको उच्च जनसंख्या छ । दक्षिणीतर्फ भने यादब समुदायको जनघनत्व छ । दुवै उम्मेद्वार यादब समुदायको भएकाले जसले कोइरी समुदायको मत तान्न सक्छ, उहि विजयी हुने सम्भावना बढी छ ।

०६२÷६३ सालको जनआन्दोलन ताका विगठित प्रतिनिधिसभाको उपसभामुख यादब आफ्नै दलका कारण तत्कालीन समयमा सभामुख बन्नबाट चुकेकी थिइन् । यो क्षेत्रमा चित्रलेखा र राजकिशोरबीच कडा प्रतिस्र्पधा हुने अवस्था छ । यसका बावजुद पछिल्लो समय मधेस प्रदेश सरकारमा ठुलो भ्रष्टाचार गरेको आरोप लागेका राजकिशोरले आफ्नो अस्तित्व जोगाउन ठुलै संघर्ष गर्नुपर्ने देखिन्छ ।

एउटै पार्टीमा लामो समयसम्म योगदान पु¥याएकी चित्रलेखाले आफ्नै क्षेत्रबाट उम्मेदबारी दिएकी हुन् । राजकिशोरले भने क्षेत्र नम्बर ४ को बासिन्दा भएर क्षेत्र नम्बर २ बाट उम्मेदबारी दिएका छन् । यसले पनि राजकिशोरलाई केही असर पार्ने सम्भावना रहन्छ ।

दोस्रो मधेस आन्दोलनबाट उदाएका राजकिशोरले आफ्नो राजनीतिक जीवनमा थुप्रै पटक पार्टी परिवर्तन गरेको, दल फोडेर छुट्टै दल खडा गरेको र पछिल्लो समयम भ्रष्टाचार प्रकरणमा बदनामी कमाएको जस्ता कारणले आफ्नो औचित्य पुष्टि गर्न उनीमाथि निकै ठुलो दबाब छ ।

सिराहाको क्षेत्र नम्बर ३ निकै महत्वपूर्ण मानिन्छ । यो क्षेत्रमा एकप्रकारले दुई दरबारको निकै ठूलो प्रभाव छ । यो क्षेत्रमा सत्ता गठवन्धनबाट माओवादी केन्द्रका पुरानो नेता विश्वनाथ साह उम्मेद्बार बनेका छन् । एमाले–जसपा गठबन्धनबाट भने एमालेका झनै पुराना नेता लिलानाथ श्रेष्ठ उम्मेद्बार छन् ।

यी दुवै नेताले आ–आफ्नो पार्टीको केन्द्रीय तहमा समेत बलियो पहुँच राख्छन् । त्यसैले दुवै दलभित्र आफ्ना नेतालाई जसरी पनि जिताउने होडबाजी चलेको छ । निर्वाचनमा जसको जित हुन्छ, पार्टीको जित हुन्छ । जसको हार हुन्छ, पार्टीको हार हुने आँकलन गरिएको छ ।

राजनीतिक विश्लेषक अर्जुन थपलियाका अनुसार, दुवै पार्टीबाट भेट्रान वामपन्थी नेताले उम्मेद्वारी दिएका छन् । प्रतिस्र्पधामा निकै झिनो मतले कुनै एक नेता विजयी हुने विश्लेषण गरिएको छ । क्षेत्र नम्बर १ जस्तै यो क्षेत्रलाई पनि अर्थपूर्ण रूपमा हेरिएको छ ।

क्षेत्र नम्बर ३ को नरहा गाउँपालिका, गोलबजार नगरपालिका र सिराहा नगरपालिमामा एमालेले जित हासिल गरेको छ । अन्य गाउँपालिकामा छिटफुट अन्य दलको प्रभाव मानिए पनि स्थानीय तहमा एमालेको बलियो पकडका कारण एमालेको पलडा भारी देखिएको छ ।

यो क्षेत्रमा जसपा र एमालेको पकड बराबरी देखिएको छ । दुवै राजनीतिक दलको मत जोड्दा लिलानाथ निकै बलियो उम्मेदवारका रुपमा देखापरेका छन् । अर्कोतर्फ सत्ता गठवन्धन दलहरू कांग्रेस, माओवादी र एकीकृत समाजवादी पार्टीको मतमा अन्तरघात भएन भने आफ्नो ठाउँमा विश्वनाथ साह पनि बलियो छन् । यो क्षेत्रमा मूलतः कांग्रेसको बागी समूहको मतले पनि उम्मेद्वारको भाग्यरेखा कोर्ने अनुमान गरिएको छ ।

कांग्रेसको बागी समूहको मत तान्न एमालेका उम्मेद्बार लिलानाथ भरमग्दुर प्रयासमा छन् भने अर्कोतर्फ विश्वनाथ पनि उक्त मत तान्ने प्रयासमा छन् । खासगरी पछिल्लो समय लीलानाथ कांग्रेसको बागी समूहको मत तानेर आफ्नो पक्षमा ल्याउन सबै प्रकारको कसरतमा लागेका छन् ।

तर, यो क्षेत्रमा एमालेलाई लोकप्रिय मत ल्याउन भने निकै सकस हुनेछ । कारण हो, जसपाबाट स्थानीय तहका लागि टिकट नपाएका गोपाल यादब पार्टी परित्याग गरी स्थानीय तहको निर्वाचनको समयमा एमालेमा प्रवेश गर्नु ।

त्यो निर्वाचनको क्रममा सिराहा नगरपालिकाको लागि एमालेका तर्फबाट उम्मेद्बार बनेका पूर्वसांसद स्व. हेमनारायण यादबको जेठो छोरा डा. नविन यादबलाई गोपाल यादबले राम्रो सहयोग गरेका थिए । उनै गोपालले अहिले एमाले पार्टी छाडेर स्वतन्त्रबाट प्रदेशसभाको क्षेत्र नम्बर ३(ख) बाट उम्मेद्वारी दिएका छन् ।

सिराहा नगरपालिकामा एमालेबाट फराकिलो मतले जितेका डा. नविन यादबको कान्छो भाई डा. प्रविन यादबले पनि स्वतन्त्रबाट उम्मेदबारी दिएका छन् । गोपाल र डा. प्रविन यादबको स्वतन्त्र उम्मेदवारीले गर्दा लिलानाथ श्रेष्ठलाई केही कठिनाइ हुने पक्का छ । अर्कोतर्फ लिलानाथले मन्त्री भएर पनि स्थानीय स्तरमा खासै महत्वपूर्ण काम नगरेकाले उनलाई पनि आफ्नो औचित्य पुष्टि गर्न त्यति सहज भने छैन ।

सिराहा क्षेत्र नम्बर ४ बाट सत्ता गठवन्धनबाट माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीबाट धर्मनाथ साहले उम्मेद्वारी दिएका छन् । अर्कोतर्फ जसपा–एमाले गठबन्धनबाट जसपाका वीरेन्द्र महतोले उम्मेद्वारी दिएका छन् । वीरेन्द्र महतो धनाढ्य व्यापारी उपेन्द्र महतोका भाइ हुन् ।

एमालेले इमानदारीपूर्वक सहयोग गरे महतोको पलडा भारी देखिन्छ । अर्कोतर्फ धर्मनाथ साह विगतमा एमालेमा रहेर पटकपटक हार बेहोरेका नेता मानिन्छन् । दुई पटक मन्त्री बनेका साहले स्थानीय तहमा खासै काम नगरेकाले पनि उनको जनाधार कमजोर देखिएको छ । सत्ता गठवन्धनबाट साझा उम्मेदबार भएको भए जित सुनिश्चित भए पनि माओवादीभित्र दुई गुट भएका कारण साहका लागि अवस्था त्यति सहज देखिँदैन ।

प्रतिक्रिया