बैतडीमा भण्डारी र कुँवरको प्रतिस्पर्धा

बैतडी । आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै बैतडीका उमेदवारले प्रचारप्रचारलाई तीव्रता दिएका छन् । यसले गर्दा चुनावी सरगर्मी पनि बढेको छ । निर्वाचन नजिकिँदै गर्दा विभिन्न आकलन पनि भइरहेका छन् ।

प्रतिनिधिसभाका लागि एक मात्र क्षेत्र रहेको बैतडीमा सत्ता गठबन्धन दल र नेकपा (एमाले)बीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । गठबन्धन दलबाट नेकपा (माओवादी केन्द्र)का पोलिटब्युरो सदस्य नरेन्द्रबहादुर कुँवरलाई साझा उमेदवार बनाइएको छ । यस्तै, एमालेबाट उक्त पार्टीका प्रदेश अध्यक्ष दामोदर भण्डारी चुनावी मैदानमा छन् ।

यी दुवैबीचको प्रतिस्पर्धा निकै रोचक हुने देखिएको छ । कुँवर २०७४ सालको निर्वाचनमा वाम गठबन्धन भएपछि भण्डारीको सारथिका रूपमा रहेका थिए । वि.सं. २०६४ र २०७० मा भने एकार्काविरुद्ध उमेदवार बनेका थिए । अहिले पनि दुवैजना एकापसमा भिडिरहेकाले रोचक प्रतिस्पर्धा हुने देखिएको छ ।

वि.सं. २०७० र २०७४ मा गरेर दुईपटक विजय हासिल गरिसकेका भण्डारी ‘ह्याट्रिक’ गर्ने दाउमा छन् । वि.सं. २०६४ मा कुँवरले भण्डारीलाई पराजित गर्दै विजय हासिल गरेको भए पनि २०७० सालमा व्यहोरेको हारको बदला लिने दाउमा कुँवर छन् । गठबन्धन दलको पनि साथ रहेकाले कुँवरले सहजै जित निकाल्न सक्ने आकलन गरिएको छ ।

पूर्वअर्थ राज्यमन्त्री समेत भइसकेका भण्डारी योपटकको चुनावलाई आफ्नो पक्षमा पार्दै ह्याट्रिक गर्ने रणनीतिमा छन् । एमाले संगठनका हिसाबले माओवादी केन्द्रभन्दा बलियो भएकाले भण्डारी चुनाव जित्नेमा ढुक्क छन् । माओवादी केन्द्र संगठनमा कमजोर देखिए पनि सत्ता गठबन्धनको साथ रहेकाले निर्वाचनको मत परिणाम आफ्नो पक्षमा आउने भन्दै कुँवर पनि ढुक्क छन् ।

वि.सं. २०७४ मा वाम गठबन्धनका साझा उमेदवार बनेका भण्डारी नेपाली कांग्रेसका नरबहादुर चन्दलाई पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए । २०७० को निर्वाचनमा दुई क्षेत्र रहेका बेला भण्डारीले कांग्रेसका लोकराज अवस्थीलाई हराएका थिए ।

गएको वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा वडाध्यक्षले पाएको मतलाई आधार मान्दा बैतडीमा गठबन्धन दलको मत ५१ हजार ८२१ रहेको छ । एमालेको ३५ हजार ४८ मात्र छ । यो मत संख्यालाई आधार मान्ने हो भने कुँवरले सहजै रूपमा जित हात पार्ने देखिए पनि गठबन्धन दलको असन्तुष्टिको फाइदा उठाउँदै आफूले बाजी मार्ने भण्डारीको रणनीति देखिएको छ ।

स्थानीय निर्वाचनमा यहाँ एमालेको ३५ हजार ४८, कांग्रेसको ३३ हजार ६८३, माओवादीको १४ हजार ९९८, नेकपा (एकीकृत समाजवादी)को तीन हजार १४० र राप्रपाको दुई हजार चार मत छ ।

यो मतसंख्या हेर्दा कांग्रेसले गठबन्धनका तर्फबाट उमेदवार पाउने अनुमान गरिएको भए पनि माओवादी केन्द्रको उमेदवार भएकाले असन्तुष्टि रहेको देखिएको छ । गठबन्धनभित्रको असन्तुष्टि र १० वर्षसम्म गरेको काम नै आफ्नो जित्ने आधार रहेको भण्डारीले बताए ।

उनले भने, “हामी हाम्रो पौरखमा चुनावमा लड्दै छौँ, १० वर्षको काम जनताले देखेका छन्, समृद्ध बैतडीको संकल्प लिएर चुनावमा होमिएका छौँ ।”

सत्ता गठबन्धनका साझा उमेदवार कुँवरले भने गठबन्धन एकढिक्का भएर चुनावमा होमिएकाले कुनै असन्तुष्टि नरहेको जिकिर गरे । उनले भने, “टिकटका लागि गठबन्धनमा सामेल सबै दलका नेता लागेको भए पनि अहिले कुनै असन्तुष्टि छैन, सबै एकजुट भएर निर्वाचनमा होमिएका छौँ ।”

एक सिटका लागि ११ प्रतिस्पर्धी

प्रतिनिधिसभाका लागि एक मात्र निर्वाचन क्षेत्र रहेको बैतडीमा ११ जना चुनावी प्रतिस्पर्धामा रहेका छन् । प्रतिस्पर्धामा रहेका भए पनि लोकतान्त्रिक –वाम गठबन्धन र एमालेका उमेदवारबीच मुख्य प्रतिस्पर्धा हुने आकलन गरिएको छ । अन्य राजनीतिक दल र स्वतन्त्र उमेदवारले पनि चुनाव जित्ने दाबी गरिरहेका छन् ।

बैतडीमा प्रतिनिधिसभा सदस्यका लागि लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका पोलिटब्युरो सदस्य कुँवर चुनावी मैदानमा छन् । यस्तै, एमालेका तर्फबाट प्रदेश कमिटी अध्यक्ष भण्डारी चुनावी मैदानमा छन् । स्वतन्त्रबाट नेपाली कांग्रेसका नेता केशवबहादुर चन्द पनि चुनावी मैदानमा उत्रिएका छन् ।

यस्तै, राप्रपाबाट देवबहादुर चन्द, स्वतन्त्रबाट त्रिलोकबहादुर चन्द, नेश्नलिष्ट पिपल्स पार्टीबाट कृष्णबहादुर चन्द, राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रकाशचन्द्र भट्ट, नेपाल मजदूर किसान पार्टीबाट कृष्णप्रसाद गोसाइँ, जनता समाजवादी पार्टीबाट आनसिंह भण्डारी र स्वतन्त्रबाट मानसिंह विष्ट चुनावी मैदानमा छन् ।

प्रदेशसभा ‘क’का लागि गठबन्धनका साझा उमेदवार नेपाली कांग्रेसका वीरबहादुर विष्ट, एमालेका सुरेन्द्र पाल, राप्रपा नेपालका कृष्णा पन्त, नेकपा (एकीकृत समाजवादी)का नरेन्द्र विष्ट, राप्रपाका रणबहादुर विष्ट र स्वतन्त्रबाट नेपाली कांग्रेसका हरिमोहन भण्डारी चुनावी मैदानमा छन् ।

प्रदेशसभा ‘ख’मा गठबन्धनका साझा उमेदवार नेपाली कांग्रेसका शिवराज भट्ट, एमालेका लीलाधर भट्ट, राप्रपा नेपालका प्रेमबहादुर चन्द, नागरिक उन्मुक्ति पार्टीका रेवती बोहरा र राप्रपाका नारायणदत्त जोशी प्रतिस्पर्धामा छन् ।

हाल उमेदवारले प्रचारप्रसारमा तीव्रता दिएका छन् । यहाँ एक लाख ५० हजार १५६ मतदाता रहेका छन् । रासस

प्रतिक्रिया