महिलालाई विनाधितो उद्यमी बनाउँदै निर्धन उत्थान

धनगढी । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले सुदूरपश्चिम प्रदेशमा २ अर्ब ५० करोडभन्दा बढी रुपैयाँ कर्जा प्रवाह गरेको छ । सोमबार धनगढीमा आयोजना गरेको प्रदेश स्तरीय केन्द्र प्रमुख कार्यशाला गोष्ठीमा संस्थाले १ अर्व ६२ करोड ५६ लाख रुपैयाँ वचत रहेको जनाइएको छ ।

कार्यक्रममा सहभागी केन्द्र प्रमुखले संस्थाले बिनाधितो कर्जा उपलब्ध गराएर महिलाहरुलाई विभिन्न व्यवसाय सञ्चालन गरेर जीविकोपार्जनमा सहज पुर्याइरहेको र आफ्ना छोराछोरीको पढाइलेखाइमा समेत मद्दत पुगेको धारण व्यक्त गरेका थिए ।

गोष्ठीमा सहभागी केन्द्र प्रमुख तथा उद्यमी महिलाहरुले आफ्नो अनुभव साटासाट गरेका थिए । सहभागीहरुले हाल संस्थाले २० हजारदेखि ५ लाख रुपैयाँसम्म बिनाधितो कर्जा दिने गरेकोमा बढाएर ८–१० लाख रुपैयाँसम्म कर्जा दिन र ब्याजदर घटाउन पनि माग गरेका थिए ।

सुदूरपश्चिम प्रदेशमा संस्थाको एक सय वटा केन्द्र र ४५ हजार १९४ जना सदस्य रहेको संस्थाले जनाएको छ । २२ हजार ४४९ जना महिला सदस्यहरुले कर्जा लिएर विभिन्न व्यावसाय गरिरहेको जनाइएको छ ।

संस्थामा आवद्ध महिलाहरुलाई सुत्केरी भत्ता दिँदै आएको छ भने गम्भिर रोगको उपचार, आगलागी, बाढी पीडितलाई सहयोग गर्दै आएको संस्थाका क्षेत्रीय प्रमुख गोकर्णप्रसाद उपाध्यायले बताए । उनले रोजगारी सिर्जना गरि बेरोजगारी सून्य बनाउने संस्थाले लक्ष्य राखेको बताए ।

गोष्ठीमा कैलाली र कञ्चनपुरका झण्डै सय जना केन्द्र प्रमुख महिलाहरुको उपस्थिति रहेको थियो । त्यस्तै गोष्ठीमा संस्थाका प्रमुख कार्यकारी अधिकृत जनार्दनदेव पन्त, धनगढी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठ,संस्थाको क्षेत्रीय कार्यालय प्रमुख गोकर्णप्रसाद उपाध्यायलगायत संस्थाको कैलाली र कञ्चनपुरमा रहेका शाखा प्रमुखको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया