एमसिसी पास गर्ने अवस्थामा हाम्रो पार्टी छैन : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी संसदीय प्रक्रियामा नै नरहेकाले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) पास गर्ने अवस्थामा नरहेको बताएका छन् ।

प्रगतिशील पेसागत कानून व्यवसायी सङ्गठनको दोस्रो राष्ट्रिय सम्मेलनलाई आज सम्बोधन गर्दै उनले देश र जनताको हितभन्दा आफ्नो पार्टीबाहिर नजाने बताएका हुन् ।

‘हामी संसद्को प्रक्रियामा सहभागी हुन पाएका छैनौँ’, उनले भने, ‘संसद् सहभागी हुन नपाएपछि हामीले राय कहाँ व्यक्त गर्ने, संसद्मा नै हामीले सहभागी नगराएपछि एमसिसी पास गर्ने कसरी र फेल गराउने कसरी ?’

अध्यक्ष ओलीले एमालेले राष्ट्रिय र जनताको हित तथा अन्तर्राष्ट्रिय सम्बन्ध हेरेर जे गर्दा राष्ट्रका लागि उचित हुन्छ, त्यही मात्र गर्ने बताए । उनले नेपाल न्यायको भूमि भएपनि न्याय मरेको बताउँदै सर्वोच्च अदालतले अन्तिम फैसला गर्ने निकाय भएको, तर त्यसले व्याख्या गर्ने नाममा संविधानबमोजिम नगरेको उल्लेख गरे ।

अध्यक्ष ओलीले सर्वोच्च अदालतले स्वच्छेचारी निर्णय गर्दै जाँदा न्यायपालिकामा विकृति आउनेसमेत बताए । ‘सर्वोच्च अदालत विकृत भयो भने देश, समाज के हुन्छ, हाम्रो विधि कहाँ पुग्छ ?’, उनले प्रश्न गरे । उनले एमाले नेपालको न्याय क्षेत्र स्वच्छ, पवित्र र निष्पक्ष ढङ्गले संविधानबमोजिम हुनुपर्ने मान्यता राखेको बताए ।

अध्यक्ष ओलीले सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई लगाइएको महाअभियोग पारित गर्न नल्याएको स्पष्ट पारे । ‘राणालाई लगाएको महाअभियोग संसद्मा निर्णयार्थ प्रस्तुत हुने छैन’, उनले भने, ‘महाअभियोग निर्णायार्थ प्रस्तुत गर्न ल्याएको होइन ।’ सबै क्षेत्रमा न्याय र समानतासहितको समृद्ध नेपाल हुनुपर्नेमा उनले जोड दिए । सम्मेलनले नयाँ नेतृत्व चयनसमेत गर्ने छ ।

प्रतिक्रिया