समृद्ध बन्दै थारु लोककला

काठमाडौं । तराई मधेसमा प्रचलित थारु लोककलाले नेपालको पहिचानलाई चिनाउन महत्वपूर्ण भूमिका खेलेको छ । पूर्वदेखि पश्चिम तराईसम्म बसोबास गरिरहेका थारुले बनाउने लोककला चित्रकला, मूर्तिकला, वास्तुकला, हस्तकला तथा अन्य विभिन्न रुपमा प्रचलनमा आएको पाइन्छ ।

एक पुस्ताबाट अर्को पुस्तामा पुस्तान्तरण हुँदै लोककलाको विकास भएको देखिन्छ । लोकजीवनका विविध आयाम र परिवेश, जनजीवन, धार्मिक, संस्कृति, संस्कार, सामाजिक तथा राजनीतिक विषयसमेत लोककलामा व्यक्त भएको हुन्छ । कलाकार तथा प्राज्ञ एससी सुमनले ग्रामीण लोककलाको तात्पर्य जीवन र सत्यसँग तादात्म्य राखेर अमूर्त भावलाई साक्षात्कार गर्ने रहेको बताए । उनले भने, ‘थारु लोककला थारु समाज र संस्कृतिको दर्पण तथा सांस्कृतिक धरोहर हो ।’

नेपालमा थारु लोककलाको ऐतिहासिक पृष्ठभूमि निकै पुरानो रहेको संस्कृतिविद् अशोक थारु बताउँछन् । उनले थारु लोककलामा जीवन र जगतका भौतिक, काल्पनिक, सामाजिक, सांस्कृतिक, धार्मिक तथा प्राकृतिक लगायतका विषय कलात्मक रुपमा आएको विचार व्यक्त गर्दछन् ।

सामान्यजनले आफ्ना मनोभावलाई दृश्यभाषाका रुपमा अभिव्यक्त गर्ने कलाको रुपमा लोककला आएको पाइन्छ । हुनत समाजमा राज्यद्वारा प्रवद्र्धित राजकीय कला, धर्म तथा यससँग सरोकार राख्ने निकायबाट संरक्षित धार्मिक कला र लोक अर्थात् सामान्यजनले प्रवद्र्धन गर्दै आएको कलालाई लोककलाका रुपमा चिनिन्छ ।

नेपाल बहुसांस्कृतिक, बहुभाषिक तथा बहुजाती भएको मुलुक हो । यहाँ विभिन्न आदिवासी तथा जनजातिका आफ्नै मौलिक कला र संस्कृति रहेका छन् । सभ्यताका रुपमा विकास भइरहेका यी कलाको अभ्यास नेपालमा प्राचीनकालदेखि भइरहेको छ । यी कलाले पहिचानसँगै देशमा कलाको विविधताको आयामलाई बोकिरहेका छन् ।

नेपालमा थारु, मैथिली, नेवार, अवधी, मुस्ताङ्गी, पर्वते, जैती, खाम, किराँत, सन्ताल, राजवंशी, मुगाली लगायतका विभिन्न लोककला प्रचलित छन् । यी कला परम्परा ती जातिको परम्परा, संस्कृति र जनजीवनमा आधारित रहेको पाइन्छ ।

संस्कृतिविद् तथा अध्येता अशोक थारुका अनुसार पछिल्लो समय तराई मधेसमा बसोबास गर्ने थारु समुदायमा प्रचलनमा रहेका लोककला राज्यको मूलप्रवाहमा आएको सुनाए । उनले भने, ‘लुप्त अवस्थामा रहेको लोककला विस्तारै राज्यको मूलधारमा आइरहेको छ । कलाकार पनि जागरुक बन्दै यसमा नयाँपन दिने कोशिस गरिरहेका छन् । समृद्ध रुपमा रहेको थारु लोककलाको विकास, संरक्षण, प्रवद्र्धन तथा व्यवसायिकरणमा राज्यले विशेष ध्यान दिन जरुरी छ ।’ उनका अनुसार राष्ट्रियस्तरका कला प्रदर्शनी, कार्यशाला, गोष्ठी, पुरस्कारमा समेत थारु लोककलाकारको सहभागिता बढ्दै गएको छ । अशोकले विभिन्न स्थानमा थारु कला र संस्कृति झल्किने संग्रहालय बनाउने क्रम पनि बढिरहेको सुनाए ।
प्राज्ञ एससी सुमनले विविधतामा एकता भएको नेपालमा थारू जाति मेचीदेखि महाकालीसम्म मध्य–पश्चिम भूभागमा रहेको सुर्खेत उपत्यका, भित्री–तराई भनिने दाङ उपत्यका, देउखुरी उपत्यका, चितवन उपत्यका, माडी उपत्यका, मरिनखोला उपत्यका तथा कमला उपत्यकाका साथै नेपालको समग्र तराई र उत्तर भारतको आदिवासी जाति भएको बताए ।

उनले भने, ‘किसान संस्कृतिको उपज खेतीका लागि खनजोत र सिँचाइ, भित्तिचित्र र मृत्तिका उत्कीर्ण कला, हस्तकला, गायन तथा नृत्य जीवन्त कलाको रुपमा रहिआएको छ । यी हाम्रा मौलिक कला हुन् र यिनमा थारुको विशिष्ट क्षमता र प्रतिभा रहेको पाइन्छ ।’

थारू समाजको पुरानो परम्परा टेराकोटा तथा सेरामिक कला हो । यो चलन कहिलेदेखि सुरू भयो, त्यसको यकिन समय थाहा हुन सकेको छैन । थारु समाजमा माटाका भाँडा, हात्ती, घोडा, बाघ, मयूर, जोखवा–जोखिनियाँ लगायत अन्य जनावरका माटाका मूर्तिहरू पनि बनाइन्छ ।

सुमनले घरका भित्तामा आफ्नो मनमा उठेका स्वाभाविक कल्पना तथा उद्वेगलाई घरकै खर बाँस, गोबर, माटोजस्ता घरेलुु सामग्रीबाट लिपपोत गरी तयार पारिएको भित्तामा प्राकृतिक रङबाटै विभिन्न स्वरूपमा चित्रांकन गरिने प्रचलन रहेको बताए । उनले भने, ‘यस्ता चित्र सामान्यतः परम्परागत सांस्कृतिक विधि–विधान विवाह, व्रतबन्ध लगायतका सामाजिक सस्कारको बेला, चाडपर्व, पूजाआजा, व्रत–त्योहार आदिमा लेखिन्छ । यो परम्परामा थारुजाति पनि निकै सचेत ढंगले कलात्मक कर्मलाई अगाडि बढाउँदै आएको देखिन्छ ।’

नेपाल ललितकला पत्रकार समाजका अध्यक्ष केशव राज खनालले पछिल्लो समय थारु लोककलाको विकासमा स्थानीय, प्रदेश तथा संघीय सरकारले थोरै भए पनि चासो राख्न थालेको बताउँछन् । उनले विभिन्न प्रज्ञा प्रतिष्ठानबाट थारुकलाका बारेमा चासो र बहस समेत भइरहेको सुनाए । खनालले भने, ‘थारुको मौलिक पहिचान झल्किने लोककलाको विकास, प्रवद्र्धन तथा संरक्षणमा प्रज्ञा प्रतिष्ठान, विश्वविद्यालय, राज्य तथा सरोकारी संघ संस्थाले खोज अनुसन्धान गर्नुपर्दछ । यसका साथसाथै सशक्तिकरणमार्फत लोककला संरक्षण गर्ने अभियान थाल्नुपर्दछ ।’

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका लोककला विभाग प्रमुख तथा प्राज्ञ मिथिलादेवी यादवले थारु लोककला निकै समृद्ध, वैभवशाली र पुरानो कला परम्परा भएको बताइन् । उनले यस कलाको विकास र प्रवद्र्धनका लागि प्रतिष्ठानले विविध कार्यक्रम गरिरहेको सुनाइन् । यादवले भनिन्, ‘समाजलाई समृद्ध बनाउन र मौलिक पहिचान बचाउनसमेत लोककलाको विशिष्ट महत्व रहेको छ । नेपालमा थारु पहिचान र मौलिकतालाई लोककलाले जीवन्त बनाइराखेको छ ।’

थारु समाजमा चाडपर्व तथा सस्ंकारजन्य कार्यका लागि लोककला बनाइने प्रचलन छ । चित्रकला, मूर्तिकला, वास्तुकला, हस्तकला, झुट्टीकला, गोडैना लगायतका कला थारु समाजमा प्रचलित छन् । दैनिक जीवनमा उपयोग हुने कलाका रुपमा हस्तकला आएको पाइन्छ । आवासका निम्ति वास्तुकलाको विशिष्ट भूमिका रहिआएको छ । यीमध्ये चित्र र मूर्तिकला विशेष महत्वका साथ बनाएको पाइन्छ । चित्र भित्ता, प्रस्तर, डेहरी, हस्तकलाका सामान, भूमि, भाँड, पट (कपडा), वास्तु, काठ, ढुंगा, कागज लगायतका बनाइन्छ । यस्तै, मूर्ति काष्ठ, माटो, प्रस्तर, टेराकोटा तथा सेरामिकका रुपमा बनाएको पाइन्छ ।

थारु कला भूगोल र सामाजिक परिवेश अनुसार पूर्व, मध्य, पश्चिम, मध्यपश्चिम तथा सुदूरपश्चिममा फरक फरक रहेको छ । लुम्बिनी प्रदेशमा ‘अष्टिम्की’, मधेश प्रदेशमा विवाहमा बनाउने कोहवर÷सितुवा र बाँसबसिनी चित्र निकै प्रसिद्ध छन् । त्यस्तै प्रदेश १ मा ‘मोखकला’ (सजावटीय कला) बनाउने प्रचलन छ भने सूदूरपश्चिममा सजावटीय चित्र बनाउने चलन छ । पूर्वदेखि पश्चिमसम्मका थारुमा घरका भित्तामा उद्भृत मूर्ति बनाउने प्रचलन रहिआएको छ । थारु लोकचित्रकलाका रुपमा अष्टिम्की, सितुवा÷कोहवर, बाँसबसिनी, संस्कारजन्य चित्र, सजावटीय चित्र÷मोखकला, शिकार चित्र आदिलाई चिनिन्छ ।

थारू समाजमा ढुंगामा मूर्ति कुद्ने परम्परा ज्यादै कम भेटिन्छ । विभिन्न देवदेवीलाई त्रिआयमिक आकारमा ल्याउन बनाइने कला मूर्ति कला हो । थारू समाजमा ढुंगा, काठ तथा माटोमा मूर्तिकला बनाउने चलन छ । हात्ती, घोडा, मयूर, बाघ, विभिन्न चराचुरुंगी लगायतका मूर्ति बनाइन्छ । अध्येता अशोक थारुका अनुसार तराई क्षेत्रमा काठ सहजरूपमा पाइने भएकाले थारूले काठमा मूर्ति बनाएको हुनुपर्छ ।

उनले भने, ‘ठन्ह्वामा पहिला काठका आर्कषक मूर्ति बनाइन्थ्यो । त्यसमा विभिन्न जनावरका आकृतिसँगै यौवनाहरूको यौनले भरिएका उत्तेजक मूर्ति बनाइन्थ्यो । त्यसैगरी इनारमा काठका प्रतीकात्मक मूर्ति बनाई पोखरीसँग विवाह गरिन्छ । त्यसो नगरे इनार अशुद्ध हुन जाने उक्ति रहेको छ । नयाँ इनार खनेपछि त्यसको नजिकै पोखरी खनी त्यससँग इनारको विवाह गरिन्छ । पञ्च पाण्डवको प्रतीकात्मक मूर्ति काठको बनाई पूज्ने प्रचलन दाङका थारूमा रहेको छ ।’

थारू समाजको पुरानो परम्परा टेराकोटा तथा सेरामिक कला हो । यो चलन कहिलेदेखि सुरू भयो त्यसको यकिन समय थाहा हुन सकेको छैन । यस्तै, थारु समाजमा माटाका भाँडा, हात्ती, घोडा, बाघ, मयूर, जोखवा–जोखिनियाँ लगायत अन्य जनावरका माटाका मूर्तिहरू बनाइन्छ ।

विभिन्न प्रयोजनका लागि माटाका भाँडाको प्रयोग हुने गर्दछ । जाड बनाउने, देवदेवतालाई चढाउने, खाना पकाउने, पानी खाने, अन्य सामान राख्नका लागि तथा विभिन्न घरेलु प्रयोजनका लागि माटाका भाँडा बनाउने प्रचलन थारू समाजमा व्यापक रहेको छ । त्यस्तै मूर्ति पूजनका लागि माटाका मूर्ति बनाइने प्रचलन पनि पुरानै हो । प्रकृतिप्रेमी थारू जातिले जङ्गली जनावरका मूर्ति पूजा गर्नु उनीहरूलाई मित्रवत् व्यवहार गर्नका लागि पनि हो ।


यसैगरी, शरीरमा सियोको टुप्पाले खोपी बनाइने कलालाई गोडैना (गोद्ना÷टाटु) कला भनिन्छ । यो एकचोटि खोपेपछि जिन्दगीभर चित्रकृति शरीरमा रहिरहन्छ । थारू समाजमा विशेषगरी नारीले शरीरका विभिन्न भागमा यो कला बनाउने गर्दछन् । विवाहबाट पहिलोपटक बेहुली माइती घर गएपछि गोडैना बनाउने थारू समाजमा प्रचलन रहेको अशोक थारुले बताए । थारूलगायत पूर्वी तथा पश्चिमी तराईका जिल्लामा बसोबास गर्ने विभिन्न समुदायमा टाटुकला खोप्ने चलन रहेको छ । टाटुमा चन्द्र, सूर्य, मयूर, रूख एवं जंगललाई प्रतीकात्मक रूपमा बनाइन्छ ।

कार्तिक, मंसिर महिना धान थन्काउने समय हो । यसबेला खेतबाट धान काटिसकेपछि घरमा थन्काइन्छ । त्यसपश्चात् खेतमा धान नहुने र चराचुरूंगीको आहारमा कमी हुने हुनाले झुट्टीकलाको प्रचलन चलेको हो । धानका बाला उनेर कलात्मक रुपले हात्ती, चरा, घोडा आकारका झुट्टीकला बनाइ घरको छानामा झुण्ड्याइन्छ । धानका बालालाई कलात्मक रुपमा बनाइने भएकाले यसलाई झुट्टी कला भनिएको हो ।

मैथिली प्राज्ञ सुमनले थारु लोककलाको संरक्षणका लागि खोज अनुसन्धान तथा सशक्तिकरणको आवश्यकता रहेको जिकिर गरे । नेपाल ललितकला पत्रकार समाजका अध्यक्ष खनालले परम्परादेखि प्रचलित कतिपय थारु लोककला लोप हुने अवस्थामा पुगेकाले यसको संरक्षणका लागि राज्यले ध्यान दिनुपर्नेमा जोड दिए । थारु लोककलाको संरक्षण, संर्वद्धन तथा प्रवद्र्धनमा प्रज्ञा प्रतिष्ठान, विश्वविद्यालय, राज्यका तीनै तहका सरकारले गहन ढंगले काम गर्नुपर्ने टड्कारो आवश्यकता रहेको छ ।

प्रतिक्रिया