संसद्को गतिरोध अन्त्यका लागि कांग्रेस र एमालेबीच छलफल

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच संसद्को गतिरोध अन्त्य र राजनीतिक निकासबारे छलफल भएको छ ।

सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा केहीबेर अघिदेखि जारी छलफलमा कांग्रेस र एमालेका अन्य नेताहरु पनि छफलमा सहभागी छन् । आज दिउँसो १ बजे बोलाइएको संसद् बैठक सूचना टाँस गरी स्थगित भएपछि सरकारको नेतृत्वकर्ता दल कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी दलसँग छलफल गरेका हुन् ।

अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) बारे सत्तारुढ गठबन्धनबीच सहमति जुट्न नसकेपछि प्रधानमन्त्रीले प्रतिपक्षी दलसँग छलफल अघि बढाएका हुन् ।

उक्त छलफलमा प्रधानमन्त्री देउवासहित सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र कांग्रेस महामन्त्री गगनकुमार थापा छन् भने एमालेका तर्फबाट अध्यक्ष ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ सहभागी छन् ।

एमसिसीमा सत्तारुढ दलबीच सहमति जुट्न नसकेपछि प्रधानमन्त्री देउवाले प्रतिपक्षी दल एमालेसँग छलफल गर्दै आएका छन् । प्रतिनिधिसभाको बैठक यही फागुन १३ गते दिउँसो १ बजे बस्ने भएको छ ।

प्रतिक्रिया