एमसीसीको पक्षमा मतदान नगरे पदबाट राजीनामा देउ : प्रधानमन्त्री देउवा

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमसीसीको विपक्षमा मतदान गर्ने र सरकारबाट नबाहिरिने प्रस्ताव गरेका छन् ।

बिहीबार बिहान बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवाव बालुवाटारमा भएको छलफलमा प्रचण्डले माओवादी केन्द्रले एमसीसीको विपक्षमा मतदान गर्न र सरकारबाट नबाहिरिने प्रस्ताव गरेको बताइएको छ । तर, यसलाई प्रधानमन्त्री शेरबहादुर देउवाले अस्वीकार गरेका छन् ।

सरकारमा रहेर सरकारकै प्रस्तावको विपक्षमा मतदान गर्न नमिल्ने भन्दै प्रधानमन्त्री देउवाले एमसीसीको पक्षमा मतदान गर्न आग्रह गरेका हुन् । एमसीसीको पक्षमा माओवादी केन्द्रले मतदान गर्न नसक्ने प्रचण्डको जिकीरपछि प्रधानमन्त्री देउवाले आफ्नो पार्टीका मन्त्रीलाई राजीनामा दिन लगाउन प्रचण्डलाई भनेका छन् ।

एमसीसीको विपक्षमा मतदान गर्ने र सरकारबाट नबाहिरिने हो भने माओवादीबाट मन्त्री भएकालाई बर्खास्त गर्ने चेतावनी प्रचण्डलाई प्रधानमन्त्री देउवाले दिएको स्रोतको भनाइ छ ।

‘तपाईंहरू एमसीसीको विपक्षमा मतदान गरेर सरकारमा बसिरहन मिल्दैन,’ प्रचण्डलाई प्रधानमन्त्री देउवाले भनेको उद्धृत गर्दै स्रोतले भन्यो, ‘यदी एमसीसीको विपक्षमा मतदान गरेर सरकार बसे म तपाइँको पार्टीका मन्त्रीलाई बर्खास्त गर्छु ।’

यसअघि बुधबार प्रधानमन्त्रीको सूचना लिएर खुलमटार पुगेका गृहमन्त्री बालकृष्ण खाँणसँग पनि प्रचण्डले आफ्नो पार्टीले एमसीसीको विपक्षमा मतदान गर्ने र सरकारमा बसिरहने बताएका थिए । यसपछि गृहमन्त्री खाँण एमाले अध्यक्ष केपी ओलीलाई भेट्न उनकै निवास बालकोट पुगेका थिए ।

बुधबार गृहमन्त्री खाँणमार्फत प्रधानमन्त्रीलाई पठाएको सन्देशअनुसार नै बिहीबार देउवासँग प्रचण्डले एमसीसीको विपक्षमा मतदान गर्ने र सरकारबाट नबाहिरिने प्रस्ताव गरेका हुन् ।

यसैबीच, बिहीबार अपरान्ह प्रधानमन्त्री देउवासहित कांग्रेसका शीर्ष नेता र अध्यक्ष ओलीसहित एमाले शीर्ष नेताबीच भेटवार्ता भएको छ । एमसीसीमाथि छलफल गर्ने गरी बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएपछि कांग्रेस र एमालेका शीर्ष नेताबीच भेटवार्ता भएको हो ।– न्युज कारखाना

प्रतिक्रिया