तपाइँ राजधानीको एउटा सामान्य होटलमा गएर सादा खाना (मासु र अण्डा बाहेक) खानुभयो भने कति पैसा तिर्नुहुन्छ ? सय रुपैयाँ, एक सय २० रुपैयाँ वा बढीमा एक सय ५० रुपैयाँ ? योभन्दा कममा राजधानीको मात्र होइन, सम्भवतः नेपालको जुनसुकै जिल्लाका कुनै पनि होटलले खुवाउँदैनन् । तर, सरकारले त्योभन्दा कम मूल्यमा खाना खुवाइरहेको छ । त्यो पनि अपराध पुष्टी भएर कारागारमा कैद भएका व्यक्ति (कैदी) वा अपराध करारमात्रै भएका तर, पुष्टी नभएका ( थुनुवा) लाई । प्रहरीले कुनै अपराध पुष्टी नभए पनि आशंकामा पक्राउ परेकालाई अदालतको आदेशअनुसार थुना (थुनुवा कक्ष) मा राख्ने गरेको छ ।
यस्ता थुनुवालाई खाना भने कारागार व्यवस्थापन विभागले खुवाउँछ । थुनुवाका आफन्तले आफ्नो घरबाटै ल्याएर खुवाउँछु भने पनि करकाप हुँदैन । तर, देशका मुद्दा चल्ने अधिकांश प्रहरी कार्यालयमा राख्ने थुनुवालाई विभागबाटै खानपिनको व्यवस्थापन हुँदै आएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलामा अहिले एउटा थुनुवालाई दैनिक ८६ रुपैयाँ उपलब्ध गराइन्छ । त्यसमध्ये दैनिक ४५ रुपैयाँ नगद र ४१ रुपैयाँ ३८ पैसा राशनबापत दिने गरिन्छ । नगद खनामै रुपान्तरण गरिए पनि एउटा थुनुवाले दैनिक ८६ रुपैयाँ ३८ पैसा पाउँछ । आर्थत उसले विहान र बेलुकीको खाना सोही पैसा अनुरुप खानुपर्छ ।
एक थुनुवाले दुई छाकको खाना ८६ रुपैयाँ ३८ पैसा बराबरको खानुपर्छ । त्यसमा पनि राशनकै लागि भनेर त ४१ रुपैयाँ ३८ पैसामात्र छुट्याइएको छ । अब भन्नुस, यो रकमले दुई छाक खाना आउँछ कि आउँदैन ? तर, यथार्थ यहि हो, माथि उल्लेखित रकमबाटै उसले दुई छाक खाना खानुपर्छ त्यो पनि हप्ताको एकपटक माछा÷मासु वा अण्डासहित । दार्जुला मात्रै होइन, जिल्ला प्रहरी कार्यालय पाल्पाको कुरा गरौं । पाल्पामा दार्चुलाको जस्तै एक दिनमा एउटा थुनुवाले नगद र रासनगरि ८८ रुपैयाँ ७० पैसा पाउने रहेछ । यो रकममा उसले दुई छाक खानपीन गर्नुपर्छ । के यो रकमले उसले दुई छाक खान अहिलेको महँगी अनुसार पाउँछ त ?
दार्चुला र पाल्पा त प्रतिनिधि जिल्ला मात्र हुन् । थुनुवालाई सरकारले दैनिक रुपमा उपलब्ध गराउँदै आएको रासनको रकम हेर्दा अन्य जिल्लाको अवस्था पनि दयनीय नै देखिन्छ । जिल्ला प्रहरी कार्यालय मनाङको कुरा गरौं । मनाङको थुनुवाको चर्चा गर्दा उनीहरुले एक दिनको एक सय दुई रुपैयाँ ६६ पैसा पाउने रहेछन् । हाम्रो सरकारी रेट नै त्यही अनुसारको छ । माथि उल्लेखित रकममा थुनुवाले कसरी आफ्नो पेट भर्लान्, सोचनीय विषय छ । प्रहरी हिरासतमा राखिएका थुनुवा हुन् वा जेलमा राखिएका कैदीवन्दीले पाउने रासनको दर÷रेट अहिले प्रहरी जवानले पाउँने रासनभत्ताभन्दा नाजुक अवस्थामा छ ।
काठमाडौंकै हकमा एक प्रहरी जवानलले दैनिक दुई सय एक रुपैयाँ २५ पैसा पाउँछन् । तर, थुनुवाले ९५ रुपैयाँ ३६ पैसा पाउँछन् । यही हिसावले आधाभन्दा थोरै रकम थुनुवाले पाएको देखिन्छ । मानव शरीरलाई दैनिक दुई हजारदेखि चार हजार क्यालोरी आवश्यक पर्ने चिकित्सकको भनाई छ । तर, थुनुवाले पाउने सिधा दररेट हेर्दा उनीहरुलाई क्यालोरी नपुग्ने देखिन्छ । एक जिल्लाका प्रमुखले नाम उल्लेख नगर्ने सर्तमा भने,‘ अहिले थुनुवालाई सरकारले दिने सिधाले दुई छाक खाना खान पुग्दैन । अपराध करार भएर राज्यको नियम कानुनलाई मानेर थुनामा बस्दा पनि उनीहरुले खान पाउने संवैधानिक अधिकार छ । तर, अहिलेको सिधा रकमले केही गरे पनि पुग्ग्दैन ।’
अहिलेको सिधाले पुग्दैन : रामचन्द्र सिवाकोटी (सूचना अधिकारी, कारागार व्यवस्था विभाग)
अहिले कैदीवन्दी भन्नुस् वा थुनुवालाई भन्नुस्, सात सय ग्राम चामल र ६० रुपैयाँ सिधाबापत दिंदै आएका छौं । प्रत्येक थुनुवा राख्ने कार्यालयमा मेस हुन्छ । मेसमा सगोलमा खाना पाक्छ । खाइरहेका पनि छन् । चामल भनेर छुट्टै दिइँदैन । अहिले पैसा नै दिने गरेका छौं । तर, पनि अहिले छुट्याइएको रकमले पुग्दैन । महँगी बढेर कहाँ पुगिसक्यो । पुरानै दररेट अनुसार खुवाइएको छ । हामीले परिमार्जित गर्न तालुक निकाय गृह मन्त्रालयलाई भनिसकेका पनि छौं ।
अर्को कुरा कारागार व्यवस्थापन विभागको नेतृत्व स्थायी रुपमा आएनन् । सरकारले यो विभागलाई कर्मचारी थन्क्याउने थलोको रुपमा बुझेको छ । नेतृत्व चारदेखि पाँच महिना टिक्दैनन् । कोही सरुवा मागेर जान्छन् । कोही अवकाश भएर जान्छन् । यस्तो अवस्थामा थुनुवाको पक्षमा कस्ले बोल्ने ? नेतृत्व स्थायीत्व नभएको कारणले पनि समस्या छ । अहिले कारागारको मात्रै कुुरा गर्ने हो भने देशभरका कारागारमा २६ हजारभन्दा बढी कैदीवन्दी छन् । जिल्ला अनुसार उनीहरुको सिधाको दररेट कायम गरिएको छ । भौतिक पूर्वाधार व्यवस्थापनको पाटो त बेग्लै छँदैछ । त्यसमाथि कारागारको क्षमताभन्दा बढी कैदीवन्दीको चापले गर्दा उनीहरुको व्यवस्थापनमा केही त्रुटी देखिएका छन् ।
व्यवस्थित गर्नु जरुरी छ : एसएसपी विष्णु केसी (प्रवक्ता, नेपाल प्रहरी)
अहिले थुनुवाको सम्बन्धमा कारागार व्यवस्थापन विभागले खानपिनको व्यवस्थापन गर्दै आएको छ । प्रहरी हिरासतमा राखिएका थुनुवाको सुरक्षासँगै उनीहरुका अन्य समस्याका बारेमा हामीले हेर्दै आएका छौं । थुनुवालाई दिइने रासनसिधाको दररेट हेर्दा कुनै पनि हालतमा पुग्दैन ।
परिमार्जित गर्नुपर्ने देखिन्छ । प्रहरीले त कतिपय अवस्थामा आफ्नो राशन काटेर भएपनि थुनुवालाई खुवाउँदै आएको छ । विभागले हेर्नुपर्ने दाहित्व हो । उसले पन्छिन पाउँदैन । अहिले प्रहरी कार्यालयमा थुनुवाको चाप बढी छ ।
राजधानीकै कुरा गर्दा अहिले मुद्दा चलाउने कार्यालय र काठमाडौं परिसरमा दुई सय ५० जनाभन्दा बढी थुनुवा छन् । यो सँख्या थपघट भइरहन्छ । शौचालय, खानेपानी र उनीहरुको बस्ने स्थानको व्यवस्थापन प्रहरीले गर्दै आएको छ । सिधाको हकमा भने प्रहरी कार्यालयले पनि आफ्नै बजेट अनुसार व्यवस्थापन गर्नुपर्ने अवस्था छ । यसलाई परिमार्जन नगरि हुँदैन ।
कुन जिल्लामा कति
झापा : ९३ रुपैयाँ ९७ पैसा
इलाम : ९२ रुपैयाँ ३५ पैसा
पाँचथर : ९५ रुपैयाँ १५ पैसा
ताप्लेजुङ : एक सय १० रुपैयाँ
संखुवासभा : ९६ रुपैयाँ १२ पैसा
तेह्रथुम : एक सय ६ रुपैयाँ ९० पैसा
धनकुटा : ९५ रुपैयाँ १५ पैसा
भोजपुर : ९० रुपैयाँ १० पैसा
सुनसरी : ९० रुपैयाँ १० पैसा
मोरङ : ९३ रुपैयाँ १७ पैसा
सोलुखुम्बु : एक सय ५५ रुपैयाँ
ओखलढुंगा : ९६ रुपैयाँ ८७ पैसा
खोटाङ : ९९ रुपैयाँ ८८ पैसा
उदयपुर : ९२ रुपैयाँ ३५ पैसा
सप्तरी : ९२ रुपैयाँ २० पैसा
सिराहा : ९३ रुपैयाँ ९८ पैसा
धनुष : ९३ रुपैयाँ ९७ पैसा
महोत्तरी : ९६ रुपैयाँ ४० पैसा
सर्लाही : ९२ रुपैयाँ २० पैसा
रौतहट : ९२ रुपैयाँ
बारा : ९२ रुपैयाँ ३७ पैसा
पर्सा : ९२ रुपैयाँ ३५ पैसा
सिन्धुपाल्चोक : एक सय रुपैयाँ ६० पैसा
काभ्रे : एक सय एक रुपैयाँ ५ पैसा
नुवाकोट : ९५ रुपैयाँ
रसुवा : ९८ रुपैयाँ ५० पैसा
मकवानपुर : ९९ रुपैयाँ ५० पैसा
चितवन : ९५ रुपैयाँ ७० पैसा
धादिङ : ९५ रुपैयाँ ३६ पैसा
सिन्धुली : ९५ रुपैयाँ
रामेछाप : ९७ रुपैयाँ १० पैसा
दोलखा : ९१ रुपैयाँ
काठमाडौं : ९५ रुपैयाँ ३६ पैसा
ललितपुर : ९५ रुपैयाँ ३६ पैसा
भक्तपुर : ९५ रुपैयाँ ३६ पैसा
कास्की : ९५ रुपैयाँ ३६ पैसा
तनहुँ : ९७ रुपैयाँ १४ पैसा
पर्वत : एक सय १३ रुपैयाँ
बागलुङ : एक सय पाँच रुपैयाँ
म्याग्दी : ९८ रुपैयाँ
लमजुङ : एक सय १० रुपैयाँ ५२ पैसा
गोरखा : एक सय रुपैयाँ ३६ पैसा
मुस्ताङ : एक सय दुई रुपैयाँ ६६ पैसा
स्याङ्जा : एक सय १६ रुपैयाँ
पूर्वी नवलपरासी : ९३ रुपैयाँ ८६ पैसा
पश्चिम नवलपरासी : ९५ रुपैयाँ
मनाङ : एक सय १० रुपैयाँ
रुपन्देही : ९५ रुपैयाँ ५५ पैसा
कपिलबस्तु : ९३ रुपैयाँ ६० पैसा
पाल्पा : ८८ रुपैयाँ ७० पैसा
गुल्मी : एक सय पाँच रुपैयाँ ७५ पैसा
अर्घाखाँची : ९४ रुपैयाँ
दाङ : ९१ रुपैयाँ ५० पैसा
बाँके : ९१ रुपैयाँ ५० पैसा
बर्दिया : ९१ रुपैयाँ ६६ पैसा
प्यूठान : ७७ रुपैयाँ ८० पैसा
रोल्पा : ९२ रुपैयाँ ३५ पैसा
रुकुम पूर्व : एक सय ५३ रुपैयाँ ८६ पैसा
सुर्खेत : ९१ रुपैयाँ
दैलेख : ९२ रुपैयाँ ३५ पैसा
जाजरकोट : एक सय तीन रुपैयाँ ४० पैसा
रुकुम पश्चिम : ९५ रुपैयाँ ५६ पैसा
सल्यान : ९५ रुपैयाँ ४० पैसा
जुम्ला : एक सय १६ रुपैयाँ ४४ पैसा
मुगु : एक सय ३२ रुपैयाँ
डोल्पा : एक सय ३८ रुपैयाँ ९६ पैसा
हुम्ला : एक सय ४५ रुपैयाँ ३० पैसा
कालिकोट : एक सय ११ रुपैयाँ ९२ पैसा
कैलाली : एक सय सात रुपैयाँ ८० पैसा
डोटी : एक सय १० रुपैयाँ
अछाम : ९३ रुपैयाँ २५ पैसा
बाजुरा : ९७ रुपैयाँ ९३ पैसा
बझाङ : एक सय पाँच रुपैयाँ
कन्चनपुर : ९१ रुपैयाँ ८५ पैसा
डडेल्धुरा : ९५ रुपैयाँ ५० पैसा
बैतडी : ९२ रुपैयाँ
दार्चुला : ८६ रुपैयाँ
प्रतिक्रिया