पर्यटक लोभ्याउने ‘स्टोन पार्क’

छरपस्ट देखिने काला ढुंगै ढुंगाकोे पार्क ! अर्थात ‘स्टोन पार्क’ दोलखाको पूर्वी सिमानाको सुन्दर पर्यटकीय स्थलका रूपमा विकास हुँदै आएको छ । जिरी नगरपालिकाको–१ स्यामा, पुम्पाको बगरलाई ठूलाठूला ढुंगाले ढाकिएको छ । बगरमा जताततै देखिने काला ढुंगालाई सजाएर बनाएको पार्क अन्य पार्कभन्दा फरक छ । ढुंगाका माथि फर्फराउँदै गरेको रंगीन ध्वजा पताकाले यहाँका सुन्दरतामा थप रङ पोखेको अनुभूति गराउँछ । खिम्ती खोलाको किनारमा रहेको चौरमा प्राकृतिक रूपमा रहेका ठूलाठूला ढुंगा जीवन्त राख्दै थप पूर्वाधार निर्माण गरी पार्क बनाइएको छ । पहिले रक गार्डेन भनिएको र यस ढुंगाको बगरलाई वडा कार्यालयले ‘स्टोन पार्क’को प्रस्ताव गरी नगरपालिकामा लगेपछि यो स्टोन पार्कको रूपमा नामाकरण भएको छ जिरी नगरपालिका–१ का वडा अध्यक्ष लाक्पा शेर्पाले जानकारी दिए ।

पार्क निर्माणमा स्थानीय र प्रदेश सरकारको करिब १ करोड ५० लाख रुपैयाँ खर्च भएको वडा अध्यक्ष शेर्पाले बताए । पार्कको सभाहल भने नेपाली कांग्रेसका केन्द्रीय सदस्य जिपछिरिङ लामाको सहयोग र मानेहरू श्रद्धालुहरूको सहयोगमा निर्माण गरिएको शेर्पाले बताए । यस ठाउँको विकासका लागि सबैले आफ्नो ठाउँबाट योगदान गरेका छन् ।

यस स्थानलाई आगामी दिनमा टुरिजम हाइकिङको रूपमा विकास गरेर पर्यटकीय हबको रूपमा विकास गरिने जिरी नगरपालिकाले जनाएको छ । यो पार्कमा शनिबार र बिदाका दिनमा दुई सयभन्दा बढी स्थानीय र बाह्य पर्यटक घुम्न आउने गरेको स्थानीय बताउँछन् । सयौँ ठूलाठूला ढुंगासहित घाँसे मैदानहरूले ढाकिएको पार्कमा गुरू रिम्पोचे, शिवजीको मूर्ति निर्माण गरिएको छ । ढुंगामाथि बनाइएको यी मूर्तिहरू पर्यटकका लागि थप आकर्षक बनेको छ । पार्कलाई तारबार लगाएर सुरक्षित बनाइएको छ भने पार्कमा आकर्षक प्रतिक्षालय, खानेपानी, स्टिलट्रस कटेज, शौचालय, हेलिप्याड, स्विमिङ पुल, मनोरञ्जन स्थल, निर्माण गर्नुका साथै पार्कसम्म जाने सडक सोलिङसमेत गरिएको छ । पछिल्ला दिनमा विकास भएका यी भौतिक पूर्वाधारले पनि यसठाउँमा पर्यटकको आगमन बढेको छ ।

प्राकृतिक मनोरममा धनी स्टोन पार्कको नजिकैबाट पूर्वोउत्तरमा सुन्दर हिमशृंखलासमेत देख्न सकिन्छ । पछिल्लो समय नेपाली चलचित्र र म्युजिक भिडिओको सुटिङ गर्न कलाकारहरू स्टोन पार्क आउने गरेका छन् । दयाहाङ राईको मुख्य भूमिका रहेको चलचित्र ‘वीर बिक्रम’मा समेत यसपार्कका सुन्दर दृश्यहरू कैद गरिएका छन् । आन्तरिक पर्यटकलाई लक्षित गरी निर्माणधीन स्टोन पार्कमा अझै विकास र प्रचारप्रचारको कामहरू गर्न प्रयासरत रहेको अध्यक्ष लाक्पा शेर्पाले बताए ।

आन्तरिक पर्यटकलाई लक्षित गरी स्टोनपार्कमा थप पूर्वाधारको विकास गरेको र यसलाई दोलखा रापेछापकै उत्कृष्ट पर्यकटीयस्थल बनाइने शेर्पाले बताए । उसै त दोलखामा अनेकन सुन्दर स्थान छन् । यहाँका सुन्दरता हेर्न विभिन्न स्थानबाट पर्यटक आउँछन् । त्यसमा थप यो पार्कले पनि पर्यटक आकर्षित गर्न थालेको छ ।

वडाध्यक्ष शेर्पाको अनुसार पार्कभित्र बालबच्चाका लागि खेल्न र रमाउनका लागि फनपार्कसमेत बन्दै छ । उक्त फन पार्कले बालबच्चालाई मनोरञ्जन दिनेछ । यस्तै उनीहरूका लागि विभिन्न खेल्ने सामग्री त्यसमा राखिनेछ । जिरी नगरपालिका र बागमती प्रदेश सरकारको समन्वयमा स्टोन पार्कलाई पर्यटकीय गन्तव्य बनाउन लागि परेको अध्यक्ष शेर्पाले बताए ।

पार्कमा दोलखा, काठमाडौं, रामेछाप, सोलुखुम्बुलगायत अन्य जिल्लाबाट आन्तरिक तथा बाह्य पर्यटक घुम्न आउने गरेका उनले जानकारी दिए । स्टोन पार्कहुँदै जट्टापोखरि र पाँचपोखरी पैदल जान सकिन्छ । जहाँ पुगेर ठूलो स्वरमा चिच्याउँदै भगवान्लाई पुकारेमा चिताएको पुग्ने जनविश्वास रहेको छ । यहाँको प्राकृतिक छटाले जो कोहीको मन जित्ने गरेको छ ।

समुन्द्री सतहबाट करिब १ हजार ८ सय ७६ मिटर उचाइमा रहेको स्टोनपार्क नेपालको स्विजरल्यान्डको उपनामले परिचित रहेको छ । दोलखा र रामेछापको सिमानामा रहेको उक्त स्थान दुबै जिल्लाको लागि पर्यटकीय गन्तव्य हो ।

स्टोन पार्कसम्म पुग्नका लागि दोलखाको सदरमुकाम चरीकोटबाट जिरी बजार, जिरीबाट माली, यलुङहुँदै जान सकिन्छ । यस्तै जिरीबजार, कुने, सिउरानी, ठोसे, शिवालयहुँदै पनि पुग्न सकिन्छ । जिरी शिवालयबाट गर्जाङ देउराली जाने गाडी पाइन्छ । ठूला मोटर वा बोलेरोमा जाँदा करिब दुई घण्टामा पुग्न सकिन्छ । यसैगरी छिमेकी जिल्ला रामेछापको ठोसे, शिवालयहुँदै पनि जान सकिन्छ । यो यस भेगका लागि पर्यटकीय गन्तव्यको अर्को राम्रो सम्भावना बोकेको स्थान हो ।

प्रतिक्रिया