ओझेलमा ‘पुरानो गाउँ’

छिस्तीको केवै कटेरमाथि लागेपछि ‘पुरानो गाउँ’ आइपुग्छ । प्रकृतिले सिँगारेको पुरानो गाउँ अहिले भने मान्छेविहीन बनेको छ । पहिले पहिले त्यहाँ पौडेल मुखियाको बस्ती थियो । पछि उनीहरू थातथलो छाडेर तल झरे । गाउँ पुरानो मात्रै होइन बिरानो पनि भएको छ । बस्ती सरे पनि ‘पुरानो गाउँ’को चिनारी भने मेटिएको छैन । अहिलेसम्मै त्यही नाउँ चल्तीमा छ । प्रकृतिको भव्यतासँगै इतिहास र संस्कृतिका पक्षबाटसमेत पुरानो गाउँको भिन्न महत्व छ । बाग्लुङको जैमिनी नगरपालिका–८ छिस्तीका बासिन्दाले वडाको ठूलो सम्पत्तिका रूपमा त्यसलाई लिने गरेका छन् । बेलाबेला पर्यटन र पूर्वाधार विकासका योजनासँग पुरानो गाउँलाई जोड्नुपर्ने आवाज उठाउँछन् पनि उनीहरू ।

केवैका डिलबहादुर श्रीसले पुरानो गाउँलाई चिन्न नसकी ओझेलमा परेको वैभवका रूपमा चित्रित गरे । ‘भुरे, टाकुरे राज्यका पालामा यहाँबाट राजकाज चल्थ्यो, त्यसबेला यसको सम्बन्ध गलकोट राज्यसँग थियो,’ इतिहास कोट्याउँदै उनले भने, ‘गल्छिना, कोतघर र गाउँको अवशेष अहिले पनि भेटिन्छ ।’ त्यसैले पनि यो गाउँलाई संरक्षण गरी भौतिक पूर्वाधारको विकास गर्नुपर्ने देखिन्छ ।

श्रीसका अनुसार किसानले त्यहाँका टापु र खर्कमा बाली उब्जाउने, बस्तुभाउ पाल्ने र गोठ बस्ने गर्थे । उहिले बनेका पोखरी, चौपारी, मन्दिरजस्ता संरचना अहिले पनि जंगलबीच देख्न सकिन्छ । गाउँलेका भनाइमा वर्षात्का बेला पोखरीको पानी खाँदा हैजा चलेपछि मानिस त्यहाँबाट बसाइँ सरेका थिए । त्यसपछि उनीहरू त्यहाँ फर्कएनन् ।

कतै घना जंगल, कतै समथर घाँसे मैदानसहित रमणीय भू–बनोटमा पुरानो गाउँ अवस्थित छ । अहिले पनि तलका गाउँले घाँस दाउरा गर्न र भेँडाको चरिचरनका लागि त्यहाँ पुग्छन् । सिंगै क्षेत्रलाई पुरानो गाउँ भनिए पनि त्यहाँ स–साना टापु, देउराली र खर्क छन् । करिब सात हजार रोपनीमा त्यो फैलिएको श्रीसले बताए ।

‘बेलाबेला विमानस्थल बनाउन सकिन्छ कि भनेर पनि यहाँको चर्चा हुने गर्छ,’ उनले भने, ‘कृषि, वनमा आधारित कुनै विश्वविद्यालय या औद्योगिक क्षेत्र पनि बनाउन सकिने ठाउँ छ ।’ अहिले जंगल र मैदानमा फेरिएको त्यहो ठाउँमा पहिले खेतीपाती हुन्थ्यो ।

त्यहीँ मानिसको बसोवास थियो । राज्यले चाहेमा त्यस ठाउँको बहुउपयोग गर्न सक्ने स्थानीयवासी पदमबहादुर पुनले बताए । उनका अनुसारे पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास गर्नसके गाउँमा आर्थिक गतिविधि बढ्ने र मानिसको जीवनस्तर उकासिने देखिन्छ । पर्यटक आकर्षित गर्न त्यहाँ पूर्वाधार निर्माणको भने खाँचो छ । जनसहभागितासहित स्थानीय तहको लगानीमा यसैवर्ष सडक पुगे पनि अन्य सुविधाबाट त्यस क्षेत्र वञ्चित छ । खानेपानी, विद्युत्लगायत आधारभूत सेवा पुरानो गाउँ पु¥याउनुपर्ने पुनले बताए ।

केवै गाउँबाट चार किमि यात्रापछि पुरानो गाउँ उक्लन सकिन्छ । पदयात्रामार्फत पनि सजिलै त्यहाँ पुगिन्छ । पुनका अनुसार धार्मिक आस्थाका दृष्टिलेसमेत पुरानो गाउँलाई पवित्र रूपले हेरिन्छ । त्यहाँ रहेको बराजुको मन्दिरमा बर्सेनि साउन र भदौमा विशेष पूजाआजा हुन्छ ।

खासगरी पौडेलले पूज्ने गरेको मन्दिर भए पनि स्थानीय जनजाति समुदायको पनि सांस्कृतिक आस्था त्यहाँ जोडिएको छ । साउनमा गाउँभरिका सबै त्यहाँ पुगेर खिर चढाएपछि बल्ल घरमा खिर फुकाउने चलन छ । बलेवा, सर्कुवालगायतका ठाउँबाटसमेत पौडेलका सन्तति पूजाआजाका लागि पुरानो गाउँ पुग्छन् ।

प्रकृतिको मनारेम दृश्यापान त्यहाँको अर्को आकर्षण हो । पुरानो गाउँबाट हिमशृंखलासहित रमणीय पहाडी भू–बनोट र जनजीवनको अवलोकन गर्न सकिन्छ । दुर्लभ वन्यजन्तु र पक्षीको बासस्थानसमेत त्यहाँ छ । जडीबुटीका लागि पनि पुरानो गाउँको नाम आउछ ।

वडाध्यक्ष विजय शर्मा अधिकारीले पुरानो गाउँको समग्र विकासमा नगर र वडाको ध्यान गएको बताए । ‘नगरको पर्यटकीय विकास योजनामा पुरानो गाउँ पनि समेटिएको छ, डिपिआरमार्फत काम अगाडि बढ्दै छ,’ उनले भने, ‘अहिले बजेटको अभाव भएकाले सोचेजसरी काम गर्न सकिएको छैन ।’

सडक पु¥याउनेदेखि, पदमार्ग निर्माण, पोखरी, मन्दिर संरक्षणलगायतका काममा वडाले सघाएको वडाध्यक्ष अधिकारीले बताए । वनभोजस्थल, ‘भ्यूटावर’ जस्ता पर्यटकीय पूर्वाधार निर्माणको योजना रहेको उनले जानकारी दिए । पुरानो गाउँको समग्र विकासका लागि सर्वपक्षीय सरोकार समिति बनाउन पहल गरिए पनि नेतृत्व कस्ले लिने विवादले त्यो टुंगोमा पुग्न सकेको छैन ।

अहिले पनि त्यस ठाउँको विकासलाई लिएर कुनै पनि संघसंस्था÷समिति क्रियाशील छ्रैनन् । जसका कारण विकासबाट पुरानो गाउँ पछाडि परेको छ । राज्यका निकायको पनि खास नजर पुग्न सकेको छैन । नेपाललाई उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोरदेखि १७ किमि दुरीमा पुरानो गाउँ पर्छ । त्यहाँ पुग्दा सेरोफेरोमा रहेका हाँडीकोट, थन्थाप माई, बेलबगर लगायतका गन्तव्यस्थललाई फन्को मार्न सकिन्छ ।

प्रतिक्रिया