कांग्रेस महाधिवेशन : देउवा र कोइरालाबीच टक्कर

काठमाडौं । भावी नेतृत्वका लागि उम्मेदवारी दर्ता गर्ने क्षणसम्म आइपुग्दा नेपाली कांग्रेसको आन्तरिक समिकरणमा व्यापक फेरबदल आएको छ । सभापति शेरबहादुर देउवाले नेतृत्व गरेको संस्थापन समूह एकगठ रहन सकेन भने रामचन्द्र पौडेलको संस्थापन इतर समूह पनि छिन्नभिन्न भयो । विगतदेखि देउवालाई सघाउँदै आएका नेता विमलेन्द्र निधीले पहिल्यै विद्रोह गर्दै आफू सभापतिको उम्मेदवार बन्ने घोषणा गरेका थिए । हाल उपसभापति रहेका निधीले शनिबार सभापति पदका लागि उम्मेदवारी दर्ता गरिसकेका छन् । देउवालाई ठूलो धक्का भने निधी असफल बने । उनले देउवा समूहका कुनै पनि चर्चित नेतालाई आफूतिर तान्न सकेनन् । उनले निर्वाचनका लागि आफ्नो टिम पनि बनाएका छैनन् ।

सभापतिमा आफ्नो दावेदारी कमजोर बनेको बुझेर उनले अन्तिम क्षणमा रामचन्द्र पौडेलको नाममा सर्वसम्मति गर्न प्रस्ताव गरेका थिए । तर, उनको प्रस्ताव देउवाले स्वीकार्ने सम्भावना थिए । रामचन्द्र आफ्नै गुटमा समेत सर्वसम्मत बन्न सकेनन् र अन्ततः सभापतिको दौडबाटै बाहिरिए ।

पार्टीका प्रभावशाली युवा नेता विश्वप्रकाश शर्माले पनि अन्तिम समयमा देउवाको साथ छोडेका छन् । देउवाको टिमबाट महामन्त्रीको उम्मेदवार बन्न असफल भएपछि उनी बाध्य भएर सो समूहबाट अलग भएका हुन् । संस्थापन इतरका शेखर कोइरालाले पनि उनलाई तान्न नखोजेपछि शर्मा अन्ततः प्रकाशमान सिंहको प्यानलबाट महामन्त्रीको उम्मेदवार बनेका छन् ।

मधेशमा पकड भएका नीति र युवा पुस्तामा प्रभाव बनाएका शर्मालाई गुमाउँदा देउवालाई केही न केही धक्का अवश्य पुग्ने छ । तर, पछिल्लो समिकरणमा देउवालाई केही लाभ पनि भएको छ । अघिल्लो महाधिवेशनमा सभापति पदका उम्मेदवार बनेका कृष्ण सिटौलाले देउवालाई समर्थन गरेका छन् । आफ्नो समूहका युवा नेता प्रदीप पौडेललाई महामन्त्रीमा उभ्याउने शर्तमा उनले देउवालाई समर्थन जनाएका हुन् । सिटौलाको समर्थन देउवाका लागि ठूलो प्लस प्वाइन्ट हुन सक्ने ठानिएको छ ।

पछिल्लो फेरबदलमा युवा नेता प्रदीप पौडेललाई फलिफाप भएको छ । अघिल्लो महाधिवेशनमा रामचन्द्र पौडेलको प्यानलबाट केन्द्रीय सदस्य जितेका पौडेलले महाधिवेशनपछि गुट परिवर्तन गर्दै सिटौलातिर लागेका थिए । तत्कालिन महाधिवेशनका सिटौला समूहमा रहेका महामन्त्रीका दावेदार गगन थापालाई हुत्याउँदै पौडेल सिटौलाकै सिफारिसमा देउवाको बलियो प्यानलमा समेटिएका हुन् ।

यता, संस्थापनइतर समूहले अन्तिम समयसम्म निकै कसरत गर्दा पनि सर्वसम्मत सभापति उभ्याउन सकेन । अन्ततः यो समूह नै तितरवितर भएको छ । यस समूहबाट शेखर कोइराला र प्रकाशमान सिंह सभापतिका उम्मेदवार बनेका छन् । शेखर कोइरालाले पदाधिकारीमा पूरा प्यानलसहित उम्मेदवारी दिएका हुन् ।

कागजमा हेर्दा शेखरको प्यानल प्रभावकारी देखिएको छ । यसअघि कृष्ण सिटौलाको समूहमा रहेका युवा नेता गगन थापा शेखरको प्यानलमा आएका छन् । उनी महामन्त्रीका उम्मेदवार हुन् । उनीसहित अर्का चर्चित नेता डा. मिनेन्द्र रिजाल पनि कोइराला प्यानलबाट महामन्त्रीका उम्मेदवार बनेका छन् । डा. रिजाल अघिल्लो १३ औं महाधिवेशनबाट गुट परिवर्तन गर्दै देउवालाई छाडेर रामचन्द्रको समूहमा लागेका थिए ।
यसअघि रामचन्द्र पौडेल समूहमा रहेका नेताहरु धनराज गुरुङ र चन्द्र भण्डारी कोइरालाको प्यानलबाट उपसभापति पदका उम्मेदवार बनेका छन् । उनीहरु दुवै पार्टीमा राम्रो छवि भएका नेता मानिन्छन् ।

यता कोइराला परिवारकै सदस्य सुजाता कोइराला भने शेखरको प्यानलमा अटाइनन् । उनले प्रकाशमानको प्यानलबाट उपसभापतिमा उम्मेदवारी दिएकी छन् । अर्का कोइराला सदस्य वीपी पुत्र शशांक कोइराला अन्तिम समयमा सभापतिको रेसबाट बाहिरिए । उनले शेखरलाई समर्थन गरेका छन् । रामचन्द्र र शशांकको समर्थनप्राप्त शेखरले सभापतिलाई देउवालाई कडा टक्कर दिन सक्ने अनुमान गरिएको छ ।
यसपटक संस्थापन इतर समूहका हस्ति मानिने महेश आचार्य पनि गुटबाट तितरवितर भएका छन् । उपसभापति दावी गरेका उनी प्यानलमा नपरेपछि स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

२०४८ मा गणेशमान सिंह र कृष्णप्रसाद भट्टराई जस्ता नेताको विरोधका बाबजुद गिरिजाप्रसाद कोइरालाले ३७ वर्षको उमेरमै सांसद नै नरहेका आचार्यलाई अर्थमन्त्री बनाएका थिए । आचार्य सधैं कोइराला गुटका प्रभावशाली नेता रहदै आएका छन् । यसपटक उनी कोइराला परिवारको लिस्टमा अटाउन सकेनन् । तर उनी प्रकाशमान सिंहको टिममा जाने विषयमा छलफल गरिरहेका छन् ।

१२१ सदस्यका लागि ५०९ को उम्मेदवारी 
नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनबाट केन्द्रीय सदस्य बन्न ५०९ जनाले उम्मेदवारी दर्ता गरेका छन् । खुलासहित १८ कलस्टरबाट निर्वाचनमार्फत १२१ जना निर्वाचित गरिने कांग्रेसको विधानमा उल्लेख छ । थारू कलस्टरबाट निर्वाचित हुने दुई महिलासहित चार सदस्यका लागि १४ जनाको उम्मेदवारी परेको छ भने खुलातर्फबाट निर्वाचित हुने ३५ जनाका लागि १०९ जनाको उम्मेदवारी परेको छ । मधेशी कलस्टरबाट निर्वाचित हुने चार महिलासहित ९ सदस्यका लागि ३२ जनाको उम्मेदवारी परेको छ ।

७ महिलासहित १५ जनाको कोटा रहेको आदिवासी जनजाति कलस्टरमा ८७ जनाको उम्मेदवारी परेको छ भने ६ महिलासहित १३ जनाको कोटा रहेको खसआर्य कलस्टरमा ९३ जनाको उम्मेदवारी परेको छ । चार महिलासहित नौ दलित सदस्यका लागि ३९ जना, खुलातर्फ ९ महिला कोटाका लागि ३१ र एक पिछडिएको क्षेत्रका लागि दुई जनाको उम्मेदवारी परेको छ । अपांगता भएका व्यक्तिको एक जनाको कोटामा १६ जनाको उम्मेदवारी परेको छ भने एक जनाकै कोटा रहेको अल्पसंख्यकमा ६ जना र एक महिलासहित तीन जनाको कोटा रहेको मुस्लिम कलस्टरबाट १६ जनाकाृे उम्मेदवारी परेको छ ।

भौगोलिक क्षेत्रबाट सात प्रदेशबाट महिलासहित २१ जनाको प्रतिनिधित्व हुनुपर्नेमा प्रदेश १ बाट १३ जना, प्रदेश २ बाट पाँच जना, बाग्मती प्रदेशबाट ९ जना, गण्डकीबाट सात जना, लुम्बिनीबाट ११ जना, कर्णालीबाट सात जना र सुदूरपश्चिम प्रदेशबाट १२ जनाको उम्मेदवारी परेको छ ।

तीनवटा प्यानल 
नेपाली कांग्रेसको सभापतिका लागि ६ जनाले उम्मेदवारी दिएका छन् । जारी १४ औं महाधिवेशन अन्तर्गत आज (शनिबार) साँझ ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएकोमा सो समयभित्र ६ जनाको उम्मेदवारी दर्ता भएको हो । वर्तमान सभापति शेरबहादुर देउवा र नेताहरु प्रकाशमान सिंह र डा. शेखर कोइरालाले प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन् भने उपसभापति विमलेन्द्र निधि, कल्याण गुरुङ र युवराज न्यौपानेले एकल उम्मेदवारी दिएका छन् । देउवाको टिमबाट उपसभापतिमा विजयकुमार गच्छदार र पूर्णबहादुर खड्का उम्मेदवार छन् भने महामन्त्रीमा डा. प्रकाशशरण महत र प्रदीप पौडेल ।

वर्तमान सभापति देउवाले आफू दोहोरिने योजनासहित पार्टीका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको साथ लिएर आफ्नो टिम तयार पारेका हुन् । महत देउवा र पौडेल सिटौला समूहका हुन् । देउवा समूहमा महामन्त्रीका लागि बालकृष्ण खाण, एनपी साउद र ज्ञानेन्द्रबहादुर कार्की पनि दौडमा थिए। तर, सिटौलाको साथ लिनुपर्ने भएपछि देउवाले पौडेललाई छानेका हुन् । सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय डिना, भीष्मराज आङ्देम्बे, मानबहादुर विश्वकर्मा, महेन्द्र यादव, किशोरसिंह राठौर, उमाकान्त चौधरी, फरमुल्लाह मन्सुर र जीवनबहादुर शाहीलाई उम्मेदवार बनाइएको सभापति देउवाको सचिवालयले जनाएको छ। चौधरी सिटौला समूहका हुन् ।

केन्द्रीय सदस्यतर्फ केशवकुमार बुढाथोकी, श्याम घिमिरे, नारायण बहादुर कार्की, कृष्णबहादुर कार्की, गेहेन्द्र गिरी, प्रकाश अधिकारी, गोविन्दबहादुर शाह, मञ्जु खाण, नानु बास्तोला, चम्फा खड्का, कान्तिका सेजुवाल, लीला नेपाल र विद्या तिमिल्सिनालाई उम्मेदवार बनाउने निर्णय भएको छ । प्रकाशमान सिंहले पनि प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन् । सिंह प्यानलको उपसभापतिमा सुजाता कोइराला र महामन्त्रीमा विश्वप्रकाश शर्मा छन् । त्यसैगरी शेखर कोइरालाको प्यानलमा उपसभापतिमा चन्द्र भण्डारी र धनराज गुरुङले उम्मेदवारी दिएका छन् भने महामन्त्रीमा डा. मीनेन्द्र रिजाल र गगन थापा उम्मेदवारी दर्ता गराएका छन् ।

शेखरको टिमबाट सहमहामन्त्रीमा दलिततर्फ जीवन परियार, महिलातर्फ कमला पन्त, मधेशीतर्फ रामकृष्ण यादव, थारुतर्फ टिएल चौधरी, पिछडिएको क्षेत्रबाट बद्री पाण्डे, जनजातितर्फ विकास लामा र खसआर्यबाट देवराज चासिले सहमहामन्त्रीका उम्मेदवारी दिएका छन्। शेखरलाई वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइरालाको समर्थन छ । निधिको समूहबाट दिव्यश्वरी शाहले उपसभापति र डा. राजाराम कार्कीले महामन्त्रीमा उम्मेदवारी दिएका छन् । उता, महेश आचार्यले उपसभापतिमा उम्मेदवारी दिएका छन्। उनको प्यानल खुलेको छैन ।

उम्मेदवारी फिर्ता आज 
नेपाली कांग्रेसको जारी महाधिवेशनमा शनिबार परेका उम्मेदवारी फर्ता लिनका लागि आइतबार विहान ११ बजेसम्मका लागि समय छुट्याइएको छ । कांग्रेस निर्वाचन समितिका अनुसार त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने छ । आइतबार सवा १२ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने जनाइएको छ । सोमबार बिहान ८ बजेदेखि मतदान हुने जनाइएको छ ।

राष्ट्रियसभा गृह, महेन्द्र पुलिस क्लब र भृकुटीमण्डप गरि तीन स्थानमा मतदानको व्यवस्था मिलाइने जनाइएको छ । मतदान मतपत्र मार्फत गर्नु पर्ने छ । विद्युतीय मतदानको व्यवस्था गर्ने भनिएको भए पनि हुन नसकेको कांग्रेसले जनाएको छ । मतदानका लागि एक जनालाई ४५ मिनेट भन्दा बढी समय लाग्ने अनुमान गरिएको छ । कांग्रेसको केन्द्रीय कार्यसमितिको १ सय ३४ पदका लागि ५४८ जना उम्मेदवार मैदानमा रहेका छन् ।महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको संख्या ४ हजार ७४३ रहेको निर्वाचन समितिले जनाएको छ ।

पहिलो चरणमै विजयी हुन्छु : देउवा
काठमाडौँ । कांग्रेसको दोस्रो पटक नेतृत्व लिन सभापतिमा उम्मेदवारी दिएका शेरबहादुर देउवाले आफू पहिलो चरणमै विजयी हुने विश्वास व्यक्त गरेका छन् । सभापतिमा ६ जना प्रतिस्पर्धी छ । विजय हुन ५० प्रतिशतभन्दा धेरै मत ल्याउनुपर्ने कांग्रेस विधानको व्यवस्था भएकाले देउवाले पहिलो चरणमै ५० प्रतिशतभन्दा धेरै मत ल्याउने दाबी गरेका हुन् ।

उम्मेदवारी दिएपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै प्रधानमन्त्री देउवाले आफ्नो नेतृत्वमा आगामी निर्वाचनमा जाँदा पक्कै पार्टीको बहुमत आउने दाबी गरे। सभापतिका अर्का उम्मेदवार डा शेखर कोइरालाले सङ्घीय संसद् नचलेको, न्यायपालिकाको अवस्था राम्रो नरहेको तथा मुलुकको आर्थिक अवस्था पनि बेहाल रहेकाले आफ्नो नेतृत्वमा बनेको समूहले देशको परिस्थिति र पार्टी भित्रको अवस्थालाई सुधार गर्न नयाँ सोच र विचारका साथ कार्यक्रम लिएर अगाडि बढ्ने बताए । पाकाहरूका होस् र युवाका जोसका आधारमा नेपाली कांग्रेसलाई अघि बढाउने उनले बताए ।

सभापतिका अर्का उम्मेदवार पूर्वमहामन्त्री प्रकाशमान सिंहले अवधारणामार्फत सभापतिमा आफ्नो उम्मेदवारी किन भन्ने यसअघि नै जानकारी गराइसकेको बताए । ‘देशभरकै महाधिवेशन प्रतिनिधिले तपाईँले महामन्त्री र उपसभापति भएर इतिहास रचिसक्नुभएको छ । यसपटक स्वभाविक सभापतिको उम्मेदवार हुनुपर्छ भनेकाले उम्मेदवारी दिएको हुँ’, उनले भने ।

प्रतिक्रिया