रामचन्द्र पौडेलले गरे पार्टी नेतृत्वको प्रतिस्पर्धाबाट अलग रहने घोषणा

काठमाडाैं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी नेतृत्वको प्रतिस्पर्धाबाट अलग रहने निर्णय गरेका छन् । शनिबार प्रेस विज्ञप्तिमार्फत पौडेलले आफू नेतृत्वको प्रतिस्पर्धाबाट अलग रहने निर्णय गरेको बताएका छन् । नेता पौडेलले कांग्रेसभित्र विचलन आइरहेको अनुभव गरेको उल्लेख गरेका छन् । ‘पार्टीभित्र अहिले जुन परिस्थिति निर्माण भइरहेको छ, त्यो सन्दर्भमा मैले चौधौं महाधिवेशनमा नेतृत्वको प्रतिस्पर्धाबाट अलग रहने निर्णय गरेको छु’, उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पार्टीको महाधिवेशन केवल व्यक्तिको छनोट गर्नेमात्र थलो होइन, यसले पार्टीलाई स्पष्ट नीति, योजना र एकताको सन्देश दिनु आवश्यक हुन्छ म नेपाली कांग्रेस पार्टीका तमाम कार्यकर्ता र महाधिवेशन प्रतिनिधिहरूलाई यो दिशामा आफ्नो ध्यान लगाउन र सुदृढ, सबल र एकताबद्ध पार्टी निर्माणमा एकजुट हुन आग्रह गर्दछु।’ कांग्रेसमा विचलन आइरहेको भन्दै अहिले कांग्रेस केवल सत्ताको भर्‍याङमा सीमित हुन पुगेको आफूले अनुभव गरेको उनले बताए ।

‘मैले कांग्रेसलाई जुन रूपमा बुझ्दै आएको थिएँ, त्यो कांग्रेसमा विचलन आइरहेको मैले अनुभव गर्नुपरेको छ। पार्टी सत्ताको भर्‍याङमा सीमित नहोस् भनेर यस्का संस्थापक नेताहरू बिपी, गणेशमान र किशुनजीले आर्दश र मूल्यका लागि जीवनभर लड्नु भयो, सङ्घर्ष गर्नुभयो, त्यो आज निरर्थक हुन लागेको पीडा बोध भइरहेछ’, उनले भनेका छन्, ‘कांग्रेसलाई आज केवल सत्ताको भन्याडमा सीमित हुन गएको मलाई महसुस भइरहेको छ। त्यो पनि संसदीय विचलनबाट हात लागेको सत्ता अवसरमा पार्टी रमाइरहेको अवस्था छ ।’

चौधौं महाधिवेशनसम्म आइपुग्दा आफूले अनेक प्रपञ्च भोगेको भन्दै प्रजातन्त्रका मूल्य, मान्यता र आदेश अंगालेर अथक प्रयत्न गरिरहँदा पनि पार्टी महाधिवेशनको मझधारमा आएर प्रतिस्पर्धाको मैदान छोड्न पर्ने अवस्थामा म पुगेको उनले बताए ।

उनले एउटा इमान्दार र लोकतन्त्रवादी नेपालीको हैसियतमा पार्टी र राष्ट्रमा देखिएका विकृति र गलत प्रवृत्तिविरूद्ध भने लडि नै रहने प्रतिवद्धता व्यक्त गरेका छन् ।

‘राष्ट्रिय राजनीतिमा मेरो भूमिका रही रहनेछ प्रतिस्पर्धाबाट म अलग रहे पनि आस्थावान साथीहरूले आफ्नो विवेक प्रयोग गरेर लोकतान्त्रिक प्रतिस्पधाको आदर्श र मूल्यलाई जोगाउनु हुनेछ भन्ने शुभेक्षा व्यक्त गर्दछु’, उनले भने ।

प्रतिक्रिया