कांग्रेस महाधिवेशन : पौडेल समूहमा भएन सहमति

काठमाडौं । महाधिवेशन नजिकिँदै गर्दा नेपाली कांग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट सभापतिका आंकाक्षीहरु मिल्ने भन्दा नमिल्ने दिशामा अघि बढेका छन् । केही दिनदेखि लगातार भइरहेका छलफलबाट प्रगति नहुँदा संस्थापन एवम् पार्टी सभापति शेरबहादुर देउवालाई फाइदा पुग्ने देखिएको छ । बुधबार दिउँसो प्रकाशमान निवास चाक्सीबारीमा बसेको संस्थापन इतर समूहको बैठकमा सभापतिका तीन आकांक्षीबीच सहमति जुट्न नसकेको हो । सभापतिका एक दाबेदार शशांक कोइराला पछि हट्न तयार भए पनि रामचन्द्र पौडेल, शेखर कोइराला र प्रकाशमान सिंह एकअर्कालाई त्याग गर्न तयार नभएका हुन् । बुधबार बसेको बैठकमा वरिष्ठ नेता पौडेलले आफूलाई सभापतिमा नछाडे राजनीतिबाटै सन्यास लिने आशयको कुरा राखेको नेता डा. रामशरण महतले बताए ।

महतका अनुसार यो समूहमा सभापतिका लागि यिनै तीन नेताबीच कुरो अड्किएको छ । ’आजसम्मको अवस्था हेर्दा मिल्ने अवस्था देखिएन’, उनले भने, ’प्रकाशमान सिंह र शेखर कोइराला दुवै एकअर्कालाई स्वीकार्ने बिन्दुमा पुगेनन् । यदि मिल्ने अवस्था नभएमा वरिष्ठ नेता पौडेलले राजनीतिबाटै विश्राम लिने भन्नुभएको छ ।’ ‘प्रकाशमान आफैं लड्छु भन्छन्, शेखर कोइराला पनि आफैं लड्ने कसैलाई छाड्दिनँ भन्छन्’, महतले भने, ‘उता रामचन्द्र पौडेल यी दुई लडे भने म पार्टीबाटै बिदा हुन्छु । घरै बस्छु, राजनीतिबाटै सन्यास लिने खालको कुरा गरिरहेका छन् । अहिलेसम्मको अवस्था हेर्दा मिल्ने देखिएन ।’

अर्का नेता अर्जुननरसिंह केसीले पनि अझै कुरा नमिलेको बताएका छन् । उनका अनुसार केही प्राविधिक, केही राजनीतिक र केही समायोजनका कुरामा अड्किएको छ । यिनै कुरालाई ध्यानमा राखेर बिहीबार पनि छलफल हुने केसीले बताएका छन् । उनले बिहीबार पनि छलफल गरेर केही न केही निचोडमा पुग्ने बताए । यही समूहका अर्का नेता गुरु घिमिरेले कांग्रेसमा पार्टी हाँक्ने एक से एक नेता भएकाले कुरो अड्किएको बताएका छन् ।

‘कांग्रेसमा पार्टी हाँक्ने एक से एक नेता छन् । हाम्रो समूहको टसल साँघुरिएर नजिक आएको छ । सहमतिमा जाने कि प्रक्रियामा जाने भन्ने भएको छ’, उनले भने, ‘बिहिबार बिहान फेरि केन्द्रीय सदस्यहरु जुटेर निकास निकाल्ने भनिएको छ ।’ उनले भोलि बस्ने बैठकलाई उम्मेदवार छान्ने अधिकार नभए पनि परिपक्व सुझाव दिने बताए । ‘हामीले परिपक्व सुझाव दिने छौँ । चार नेताले सकेनन् अब हामी छान्छौँ’, उनले भने, ‘अरु मिलेर आउनु भनेको छ ।’

यस्तो छ महाधिवेशनको कार्यतालिका
नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशन मंसिर २४ गतेबाट काठमाडौंमा सुरु हुँदै छ । प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा उद्घाटन हुने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले महाधिवेशनका कार्यतालिका प्रकाशन गरेको छ ।

यस्तो छ, कांग्रेस महाधिवेनको कार्यतालिका
नेपाली कांग्रेस केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, सानेपा, ललितपुरमा ।
१. महाधिवेशन प्रतिनिधिहरुको नामावली प्रकाशनः २०७८ मंसिर २४ गते बिहान १० बजे ।
२. उम्मेदवारको मनोनयन दर्ताः २०७८ मंसिर २५ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म ।
३. उम्मेदवारी मनोनयन दर्ता उपर दाबी विरोध र जाँचबुँझः २०७८ मंसिर २५ गते बेलुका ५ बजेदेखि ७ बजेसम्म ।
४. दाबी विरोध उपर निर्णयः २०७८ मंसिर २५ गते बेलुका ७ बजेदेखि ९ बजेसम्म ।
५. उम्मेदवारको पहिलो नामावली प्रकाशन (देवनागरिक वर्णानुक्रम अनुसार)ः २०७८ मंसिर २५ गते बेलुका ९ बजेदेखि १२ बजेसम्म ।
६. मनोनयन पत्र फिर्ता लिइसक्नुपर्ने समयः २०७८ मंसिर २६ गते बिहान ११ बजेसम्म ।
७. उम्मेदवारको अन्तिम नामावली प्रकाशनः २०७८ मंसिर २६ गते दिउँसो १२ः१५ बजे ।
८. मतदानः २०७८ मंसिर २७ गते बिहान ८ बजे ।

राष्ट्रिय सभा गृह, भृकुटीमण्डपमा ।
सभापति पदको मतगणनाः मतदान समाप्त भएपछि ।
सभापति पदको दोस्रो चरणको निर्वाचन गर्नुपर्ने भएमा राष्ट्रिय सभा गृह, भृकुटीमण्डपमा लगत्तै गरिनेछ र सो निर्वाचन सम्बन्धी थप कार्यक्रम मतदान स्थलमा नै प्रकाशन गरिनेछ ।

सभापति बाहेक अन्य पदाधिकारी र सदस्य पदको मतदान समाप्त भएपछि उम्मेदवार वा उम्मेदवारका प्रतिनिधिहरुको रोहबरमा मतपेटिका शिलबन्दी गरी पार्टी केन्द्रीय कार्यालय केन्द्रीय निर्वाचन समितिले तोकेको कोठामा सुरक्षित गरी कोठाको समेत शिलबन्दी गरिनेछ ।
सभापति पदको बाहेक बाँकी पदाधिकारी र सदस्यहरुको मतगणना नेपाली कांग्रेस, केन्द्रीय कार्यालय सानेपामा हुनेछ ।

केन्द्रीय समिति बैठक बोलाइयो
बिहीबार बिहान साढे ११ बजे बस्ने गरि बैठक बोलाइएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठक पार्टी कार्यालय सानेपामा बस्ने छ । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुको उपस्थिति रहने छन् । २४ गतेबाट महाधिवेशन गर्न लागेको कांग्रेसले त्यसअघि अन्तिम बैठक बोलाएको हो ।

मोवाइल निषेधसहितको आचार संहिता
आगामी मंसिर २४ गतेबाट काठमाडौंमा सुरु हुने नेपाली कांग्रेसको महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुलाई केन्द्रीय निर्वाचन समितिले आचार संहिता जारी गरेको छ । नेपाली कांग्रेसको चौधौं महाधिवेशनमा उम्मेदवार रहेका केन्द्रीय कार्य समितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा महाधिवेशन प्रतिनिधि, पार्टीका शुभेच्छुक समर्थकहरुले आचारसंहिता पालना गर्नुपर्ने जनाइएको छ ।

आफ्नो उम्मेदवारीको प्रचार प्रसार गर्नु पर्दा भिजिटिङ्ग कार्ड र सामान्य अपिल वितरण गर्न सकिने आचार संहितामा उल्लेख गरिएको छ । कसैको पनि व्यक्तिगत चरित्रमा लान्छना लाग्ने गरी प्रचार प्रसार गर्न पाइने छैन भने मर्यादित, अनुशासित र संयमित भई शान्तिपूर्ण तरिकाले निर्वाचन प्रचार प्रसार गर्न आग्रह गरिएको छ ।

नेपाली कांग्रेस केन्द्रीय कार्यालय, बी. पी. स्मृति भवन, ललितपुर र राष्ट्रिय सभा गृह ÷ भृकुटी मण्डप, प्रदशनी मार्ग, यी दुई स्थान पार्टीको महाधिवेशनसंग सम्वन्धित स्थल रहेकोले उक्त दुई स्थानहरुको वरिपरि ५०० मिटर क्षेत्रभित्र निर्वाचनसंग सम्वन्धित कुनै पनि प्रकारको प्रचार सामग्री ः व्यानर, भित्तेलेखन, पोष्टर, तुल, पम्लेट इत्यादी टास्न एवं माइकिङ्ग गर्न समेत मनाही गरिएको र यस प्रकारका प्रचार सामाग्री उक्त निषेधित क्षेत्रभित्र टाँसिएको, राखिएको देखिएमा केन्द्रीय निर्वाचन समितिले हटाउने व्यहोरा आचार संहितामा उल्लेख गरिएको छ ।

निर्वाचनको क्रममा शान्ति सुव्यवस्था कायम गर्न गराउन र शान्तिपूर्वक मतदानमा संयमित भएर भाग लिन सवै महाधिवेशन प्रतिनिधिहरुलाई अनुरोध गर्दै मतदानस्थलभित्र (भृकुटी मण्डप ÷ राष्ट्रिय सभा गृह) प्रवेश गर्दा मोवाईल फोन लिएर जान नपाइने कांग्रेस केन्द्रीय निर्वाचन समितिको आचार संहितामा उल्लेख गरिएको छ ।

सजिँदैछ भृकुटी मण्डप
नेपाली कांग्रेसको १४औं महाधिवेशन सुरु हुन दुई दिन मात्रै बाँकी रहँदा महाधिवेशन उद्धाटनस्थल भृकुटीमण्डप सजाउने क्रम धमाधम चलिरहेको छ । स्टेजदेखि गेटसम्म बनाउने, बत्तीदेखि माइकसम्म झुन्ड्याउने काम भइरहेको छ ।

करिब ५० लाखको लागतमा स्टेज बनाउने काम धमाधम चलिरहेको छ । हालसम्म करिब ६० प्रतिशत सम्पन्न भएको स्टेज काम बिहीबार साँझसम्ममा स्टेज सजावटका सबै काम सकिने कांग्रेसले जनाएको छ ।

‘यो स्टेजमा केन्द्रीय सदस्य, पाहुँनाका रुपमा आउने स्वदेशी तथा विदेशी दलका नेताहरु गरी करिब १ सय ५० जना बस्न मिल्ने गरी निर्माण गरिएको छ । यसको काम बिहीबार साँझसम्म सकिन्छ,’ कांग्रेसको निर्वाचन समितिका संयोजक डा प्रदीप पौडेलले भने, ‘गेट, लाइट र माइकको काम पनि बिहीबार साँझसम्म सकिन्छ ।’

महाधिवेशन स्थललाई झकिझकाउ बनाउन करिब १० हजार झन्डा विभिन्न स्थानमा झुन्ड्याउने तयारी भएको कांग्रेसले जनाएको छ । त्यसका लागि पनि महाधिवेशनस्थलमा धमाधम काम भइरहेको छ । केही स्थान झन्डा झुन्ड्याउन समेत सुरु गरिएको छ ।

१४औं महाधिवेशन भएकाले कांग्रेसले विभिन्न स्थानमा १४ वटा गेट बनाउने भएको छ । भृकुटीमण्डपदेखि काठमाडौं प्रवेश गर्ने विभिन्न नाकाहरुसम्म धमाधम गेट बनाउँने काम पनि चलिरहेको छ । ‘केन्द्रको तर्फबाट १४ वटा गेट बन्ने छ भने विभिन्न जिल्ला र प्रदेशहरुले आफ्नो हिसावले गेट बनाउँने छन् । त्यसको काम पनि भएरहेको छ,’ कांग्रेसको निर्वाचन समितिका संयोजक डा प्रदिप पौडेलले भने ।

स्टेज बनाउने काम जुन गतिका साथ भैरहेको छ, त्यो भन्दा बढी तीव्रताका साथ महाधिवेशन स्थलमा अहिलेदेखिनै उमेदवारले आफ्नो पक्षमा प्रचार थालेका छन् । उमेदवारका ब्यानरले भृकुटीमण्डप ढपक्कै ढाकिएको छ । ‘अहिलेदेखि प्रचार नगरे त ठाउँ नै पाइँदैन, त्यसैले समर्थकको साथमा प्रचारको माहोल बनाउँन आएको हुँ,’ केन्द्रीय सदस्यका उमेदवार रुपन्देहीका अब्दुल रज्जाकले भने ।

प्रतिक्रिया