विश्वप्रकाश शर्माले सार्वजनिक गरे चुनावी अवधारणापत्र

काठमाडाैं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवार बन्ने घोषणा गरेका नेता विश्वप्रकाश शर्माले अवधारणापत्र सार्वजनिक गरेका छन् । संविधान दिवसको अवसरमा आइतबार झापाको विर्तामोडमा आयोजित कार्यक्रममा शर्माले आफ्नो चुनावी अवधारणापत्र सार्वजनिक गरेका हुन् । उनले हिजो राजनीतिक परिवर्तन भएको र अब राजनीतिमा परिवर्तन गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।

कांग्रेस प्रवक्ता समेत रहेका शर्माले महाधिवेशनका लागि सार्वजनिक गरेको २४ बुँदे अवधारणापत्रको निचोड ‘हिजो राजनीतिक परिवर्तन, अब राजनीतिमा परिवर्तनलाई’ रहेको छ। उनले भनेका छन्, ‘हरेक देशको राजनीतिले त्यो देशको हरक्षेत्रलाई प्रभावित र नेतृत्व गरेको हुन्छ, अतः राजनीतिमा परिवर्तनको अर्थ हुन्छ हर क्षेत्रमा त्यसको व्यापक सकारात्मक प्रभाव। नेपालमा राजनीतिक परिवर्तन पटकपटक भएको छ, अब वेला भएको छ राजनीतिमा परिवर्तनका लागि खुला संवाद, बहस र अभ्यास गर्ने ।’

उनले बीपीको विचारलाई समय सापेक्ष अघि बढाउनु पर्नेमा जोड दिएका छन्। त्यसका लागि राजनीतिलाई सफा पार्नुपर्ने उनको भनाइ छ । शर्माले भनेका छन्, ‘हाम्रो राजनीतिको छविप्रति उब्जिएको प्रश्न र विकर्षणलाई सुत्रबद्ध गर्दै तिनको समयोचित हल साझा ढंगले पहिल्याऔं ।’

प्रतिक्रिया