अभिमुखीकरण गोष्ठी सम्पन्न

विराटनगर । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ मोरङले स्थानीयतहमा कार्यरत कृषि प्राविधिकहरूका लागि पकेट, ब्लक विकास कार्यान्वयनसम्बन्धी अभिमुखीकरण गोष्ठी सम्पन्न गरेको छ । विराटनगरमा बुधबार आयोजित सो कार्यक्रममा जिल्लाका १७ वटै स्थानीयतहका कृषि प्राविधिकहरूको सहभागिता थियो । कार्यक्रममा परियोजना कार्यान्वयन इकाई मोरङका प्रमुख विनोदकुमार मण्डलले परियोजनाले सञ्चालन गरिरहेको पकेट तथा ब्लक कार्यक्रमलाई थप प्रभावकारी बनाउने विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेलले स्थानीयतहमा सञ्चालित पकेट तथा ब्लक कार्यक्रममा भइरहेका प्रगति र मूल्यांकनको बारेमा विवरण पठाउन आग्रह गरे ।

प्रदेश–१ भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयका योजना महाशाखा प्रमुख पशुपति पोखरेलले परियोजनाबाट सञ्चालित कार्यक्रमलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । कार्यक्रममा सहभागीहरूले सुझाव र सल्लाह दिँदै सञ्चालित पकेट र ब्लक क्षेत्रको अनुगमन आवश्यक रहेकोमा जोड दिएका थिए । जिल्लाका विभिन्न पालिकाहरूमा विगत पाँच वर्षदेखि पारियोजनाले तरकारी, च्याउ, मौरीपालन तथा पशुपालनलगायत विभिन्न बाली तथा वस्तुहरूलाई लंक्षित गर्दै पकेट र ब्लक सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया