घरघरमा कोरोनाको सन्देशमूलक चित्र

दैलेख । दैलेखका बालबालिकाले घरघरमा कोरोना भाइरसबाट बच्ने उपाय र कोरोना भाइरसका लक्षणको सन्देशमूलक चित्रकलाको माध्यमबाट सन्देश प्रवाह गरेका छन् । कोरोनाले विश्व नै आक्रान्त बनेको समयमा दैलेखका बालबालिका, बालक्लबहरूले कोरोना भाइरसबाट बच्नका लागि विभिन्न किसिमका चित्र कोरेर गाउँका घरघरमा टाँसी भाइरसबाट बच्नका लागि सहयोग गरेका हुन् । दैलेख जिल्लामा कोरोनाका कारण २२ वैशाखबाट निषेधाज्ञा गरिएको छ । निषेधाज्ञाका कारण विद्यालयहरू बन्द छन् शैक्षिक सत्रको अन्तिमतिर विद्यालयहरू बन्द भएका कारण बालबालिकाहरू विद्यालय जानबाट वञ्चित भएकोले बालबालिकाहरूलाई सिर्जनात्मक काममा लगाउनका लागि सोसेक नेपाल अन्तर्गतको आधार परियोजनाले सघाउ पु¥याइरहेको सोसेक नेपाल दैलेखका संस्थापक अध्यक्ष हिरासिंह थापाले बताए ।

भैरवी गाउँपालिका–५ मा रहेको चिल्ड्रेन सेफ बालक्लब र समाज सुधार बालक्लबले वडाभित्रका २० घरमा कोरोनाको महामारीबाट बच्चे उपाय, नियमित साबुनपानीले हात धुने, नियमित रूपमा मास्कको प्रयोग गर्ने, सामाजिक दुरी स्वास्थ्य मापदण्डहरू पालना गर्ने, कोरोनाका लक्षण लगायतका चित्रहरू बनाएर वडा कार्यालय तथा आफ्नो वडाका २० वटा घरमा टाँसेको चिल्ड्रेन सेफ बालक्लबकी अध्यक्ष ममता शाहीले बताइन् ।

विद्यालय बन्द भएपछि बालबालिकाहरू जंगलमा जाने तथा पढाइप्रति चासो नदिने सन्दर्भमा उनीहरूको सिर्जनात्मक कलासँगै गाउँमा कोरोनाबाट बच्ने उपायको बारेमा चित्र बनाएर सकारात्मक सन्देश दिनका लागि वडा–४ र ५ का दुई वटा बालक्लब करिब ३० बालबालिकालाई सिर्जनात्मक काम सिकाएको आधार परियोजनाकी फिल्ड सामाजिक परिचालक निर्मला नेपालीले बताइन् । उनले भनिन्, ‘गाउँपालिकाको वडा–४ र ५ मा मात्रै १० वटा बालक्लबहरू छन् ती मध्ये दुई वटा क्लबहरूले अहिले कोरोनाको सन्देशसम्बन्धी आचार संहिता, घरआँगन सरसफाइ, कोरोनाबाट बच्ने उपायको बारेमा टोलटोलमा चेतनामूलक चित्रहरू बनाएर टाँसेका छन् थप क्लबहरूलाई पनि सिकाउँदै जानेछौँ ।’
बालबालिकाहरूले घरघरमा आचार संहिता बताएर कार्यान्वयन गर्नसमेत लगाएका छन् । दैनिकजसो उनीहरू आफ्नो घरमा बनाएका आचारसंहिता पालना भएनभएको निगरानी आफैँले गर्छन् । यता गुराँस गाउँपालिका–१ मा पर्ने सरस्वती बालक्लबको अध्यक्ष सिमा सुनारले लकडाउनको समयमा विद्यालय बन्दको कारण बालबालिकाहरू बनजंगलमा भएको चित्र बनाएकी छन् ।

प्रतिक्रिया