सल्यान । सल्यान अस्पतालमा शनिबारदेखि अक्सिजन कन्सिट्रक्टर सञ्चालन गरिएको छ । जनशक्ति अभावको कारण जिल्लामा आएको लामो समयपछि अस्पतालमा अक्सिजन कन्सिट्रक्टर जडान गरिएको हो । कर्णाली प्रदेश सरकारको सहयोगमा तथा सल्यान अस्पतालको व्यवस्थापनमा प्लान्ट सञ्चालन भएपछि अस्पतालमा हुने अक्सिजन अभावलाई केही हदसम्म कम हुने अस्पतालले जनाएको छ । कर्णाली प्रदेश सरकारको ५१ लाख रुपैयाँको आर्थिक सहयोगमा अक्सिजन कन्सिट्रक्टर जडान गरिएको स्वास्थ्य कार्यालय सल्यानका सूचना अधिकारी थलराज डिसीले जानकारी दिए ।
कन्सिट्रक्टर जडान भएसँगै अक्सिजन दिनुपर्ने कोरोना संक्रमित बिरामीहरूको उपचारमा सहज हुने बताए । अस्पतालमा क्षमताभन्दा बढी कोरोना संक्रमित बिरामीहरूको उपचार गर्नुपरेपछि केही दिन यता अस्पतालमा अक्सिजनको अभाव हुन थालेको थियो । ‘अस्पतालमा जडान गरिएको कन्सिट्रक्टरले प्रतिमिनेट ४० लिटर अक्सिजन उत्पादन गर्छ यसबाट प्रतिमिनेट पाँच लिटर अक्सिजन दिनुपर्ने आठ जना बिरामीलाई एकैसाथ अक्सिजन दिन मिल्छ’, सल्यान अस्पतालका डाक्टर भीमकान्त जैशीले भने ।
अस्पतालमा जडान भएको कन्सिट्रक्टर अक्सिजन प्लान्टभन्दा बढी क्षमता भएको भएको डा. जैशीले जानकारी दिए । अस्पतालमा भएका अक्सिजन सिलिन्डर अक्सिजन भर्न सुर्खेत तथा नेपालगञ्ज लैजानुपर्ने तर समयमा पालो पाउन नसकेपछि अक्सिजन लिइरहेका बिरामीहरू प्रभावित हँुदै आएका थिए । अक्सिजन कन्सिट्रक्टर जडान गरेपछि अक्सिजन लिइरहेका बिरामीहरूलाई केही हदसम्म सहज हुने अस्पतालले जनाएको छ ।
सल्यान अस्पतालमा १४ वटा अक्सिजन सिलिन्डर रहेकोमा हाल विभिन्न व्यक्तिहरूको सहयोगमा अक्सिजन सिलिन्डरहरू समेत अस्पतालमा उपलव्ध गराइएको छ । यसले अस्पतालमा कोरोना संक्रमितहरूको उपचारमा सहज हँुदै जान थालेको छ । जिल्लामा कोरोना संक्रमण दर वृद्धि हुँदै गएपछि संक्रमणबाट मृत्यु हुनेको संख्या पनि शनिबारसम्म २२ पुगेको छ । पछिल्लो समय होम क्वारेन्टिनमा बसेका संक्रमितहरूको पनि ज्यान जान थालेको छ । अहिलेसम्म जिल्लामा होम क्वारेन्टिनमा बसेका ६ जनाको मृत्यु भइसकेको छ ।
जिल्लामा हालसम्म ५ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा २५ जना सल्यान अस्पतालमा र ४ सय ९३ जना होम आइसोलेसनमा रहेको अस्पतालले जनाएको छ । सल्यान अस्पतालमा १६ शय्याको कोराना संक्रमितहरूको उपचारका लागि आइसोलेसन वार्ड भए पनि बिरामीहरूको चाप बढ्न थालेपछि अस्पतालले आकस्मिक कक्षलाईसमेत कोरोना संक्रमितहरूको उपचारका लागि प्रयोग गरेको छ ।
स्थानीय तहहरूले निर्माण गरेका आइसोलेसनमा संक्रमितहरू नबस्ने तथा सल्यान अस्पतालमा आउने बिरामीहरूको संख्या वृद्धि हुन थालेपछि सल्यान अस्पतालमा २० शय्याको अस्पताल निर्माण अन्तिम चरणमा पुगेको छ । शारदा नगरपालिकाको पाँच लाख रुपैयाँको आर्थिक सहयोगमा नेपाली सेनाको सवुज गणले निर्माण कार्य अन्तिम चरणमा पुगेको जानकारी दिएको छ ।
प्रतिक्रिया