खोजखबर

मनकामना मन्दिरमा दर्शनार्थी बढ्दै

सौर्य अनलाइन २०७७ माघ ४ गते १३:३९ मा प्रकाशित

मुग्लिन । गोरखाको शहीद लखन गाउँपालिकास्थित मनकामनामा अवस्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर दर्शन गर्न आउने दर्शनार्थीको सङ्ख्या बढ्दै गएको छ । कोरोना भाइरसका कारण ९ महिना बन्द भई गत मङ्सिर २८ गतेदेखि खुला गरिएको मनकामना मन्दिरमा आउने दर्शनार्थी बढ्दै गएको हो ।

हरेक दिन मनकामना मन्दिर दर्शन गर्न आउनेको सङ्ख्यामा वृद्धि हुँदै गएको मनकामना मन्दिरका मूल पुजारी इन्सान थापाले जानकारी दिए । उनका अनुसार शनिबार एकै दिन पाँच हजारभन्दा बढी दर्शनार्थीले मन्दिरको दर्शन गरेका छन् । स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई मन्दिर दर्शनका लागि खुला गरिएको पुजारी थापाले बताए ।

यसैबीच शनिबार मात्र चार हजारभन्दा बढी दर्शनार्थी मनकामना केबलकार चढेर मनकामना दर्शन गर्न पुगेका छन् । मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले शनिबार एकै दिन चार हजार ५०० ले केबलकार चढेको बताए ।

उनका अनुसार कोरोना महामारीका कारण बन्द भएपछि सञ्चालनमा आएको केबलकार चार हजार ५०० जनाले चढेको पहिलोपटक हो । कोरोना महामारीअघि सार्वजनिक बिदा र शनिबारका दिन चार हजार ५०० भन्दा बढी दर्शनार्थी केबलकार चढेर मनकामना मन्दिर पुग्ने गर्दथे ।

सुरक्षा मापदण्डको पूर्ण पालन गर्दै केबलकार सञ्चालन गरिएको छ । मनकामना मन्दिर जाने दर्शनार्थीको सहजताका लागि सञ्चालनमा रहेको मनकामना केलबकारको प्रदेशद्वार बटम स्टेशन चितवनको इच्छाकामना–४ चेरेसमा रहेको छ । केबलकारबाहेक मोटरबाटो र पैदलमार्फत पनि दर्शनार्थी मन्दिर पुग्ने गर्दछन् ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय