स्थानीय र एक्यापबीच दुरी बढ्दै

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) र स्थानीय सरकारबीच पछिल्लो समयमा विवाद बढ्दै गएको देखिएको छ । १० वर्षभित्र समुदायलाई हस्तान्तरण गर्नुपर्ने म्यादसहित सन् १९८६ मा स्थापना भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अहिलेसम्म पनि कायम छ र बर्सेनि म्याद थप हुँदै आएको छ । तत्कालीन पाँच जिल्लाका ५७ गाविसमा विस्तार भएको एक्याप नयाँ संरचनाअनुसार यहाँका १६ वटा स्थानीय तहमा पर्छ । अहिले देशमा अधिकारसम्पन्न तीन तहका सरकार छन् ।

संविधानअनुसार आफ्नो क्षेत्र भित्रको प्राकृतिक स्रोत परिचालन गर्ने अधिकार स्थानीय सरकारलाई नै छ । यी १६ स्थानीय सरकारले संविधानबाट प्राप्त अधिकारसमेत प्रयोग गर्न नपाएको गुनासो गरिरहेका छन् । उनीहरूका अनुसार सबै स्रोत साधन एक्यापले परिचालन गरिदिएपछि १६ वटै स्थानीयतह स्रोतविहीन बन्न पुगेका हुन् । वर्तमान संविधान जारी हुनुभन्दाअघि तत्कालीन गाउँ विकास समितिहरूसँग पनि पटकपटक द्वन्द्व हुने गरेको थियो । नियमावलीमा उसको क्षेत्राधिकारका सबै स्रोत उसैले उपभोग गर्न पाउने उल्लेख छ । यसरी अधिकार बाझिँदा एक्याप लागू भएका क्षेत्रमा समानान्तर सरकारजस्तो देखिन थालेकाले सर्वसाधारण नागरिक पनि द्वन्द्वको चपेटामा परेको देखिन्छ । एक्याप रहेको तत्कालीन गण्डकी र धवलागिरि अञ्चलमा पर्ने पाँच जिल्ला कास्की, लमजुङ, मनाङ, मुस्ताङ र म्याग्दी अहिले गण्डकी प्रदेशभित्र छन् ।

‘समुदायमा आधारित संरक्षण’ अवधारणामा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को परिकल्पनाअघि नै प्राकृतिक स्रोत र सुन्दरतामा भरिपूर्ण थिए, कास्की, लमजुङ, मनाङ, मुस्ताङ र म्याग्दी । यद्यपि ती स्रोतहरूको उचित व्यवस्थापन भएको थिएन । परिणामस्वरुप चोरी सिकारी बढी हुने गर्दथ्यो । स्थानीयको सक्रियतामा संरक्षण सहितको उपभोग एक्यापको परिकल्पना हो ।

एक्याप गठन भएदेखि अहिलेसम्म स्थानीयवासीले देख्ने गरी के काम भएको छ ? सधैँ विकासमा अवरोध गर्ने ? स्थानीयवासीको जनजीविकामा समस्या खडा गर्ने मात्रै भएको छ नेकपा मनाङका सचिव बेदबहादुर गुरुङ भन्छन, ‘एक्याप छुट्टै छ, स्थानीय सरकार छुट्टै छ, जनताले कसको कानुन मान्ने ?’ सन् १९८६ मा घान्दु्रकबाट सुरु भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना सन् १९९२ मा मनाङमा विस्तार गरिएको थियो ।  ‘कानुनी व्यवस्था नमान्ने भनेको होइन साथसाथै प्राकृतिक, भौगोलिक र सांस्कृतिक विशिष्टतालाई पनि हेर्नुपर्छ,’ नेपाली कांग्रेस मनाङका सचिव सुरेन्द्र गुरुङ भन्छन्’ ‘एक्यापको व्यवस्थाका कारण सर्वसाधारण जनता आफ्नै बारीको काठ काट्न पाउँदैनन्, देशमा गणतन्त्र आयो तर मनाङी जनतालाई गणतन्त्र आउनै सकेन ।’

‘प्रत्येक गाउँमा एक्यापका कर्मचारी जाँदा फूलमालाले स्वागत हुन्थ्यो, अहिले त्यस्तो अवस्था रहेन,’ उनले भने, ‘विगतमा एक्यापको ठूलो योगदान पनि छ, तर अहिले आएर त्यो आकर्षण छैन ।’ गुरुङ जनस्तरको अपेक्षाअनुसार काम नगरेका कारण एक्यापसँग जनसमुदायमै असन्तुष्टि बढेको बताउँछन् ।

आयोजनामा जनसहभागिता बढाउनकै लागि गाउँगाउँमा संरक्षण क्षेत्र व्यवस्थापन समिति गठन भएका छन् । कसैले काठ, दाउरा काट्नुपर्दा तिनै समितिबाट सिफारिस लिनुपर्छ । सिफारिस दिँदा उठेको रकम समितिले विकास निर्माण र क्षमता अभिवृद्धिमा खर्च गर्छन् । तर कुन समितिले कति पैसा उठायो र कहाँ खर्च भयो भन्ने हिसाब–किताब पारदर्शी ढंगले नराखिएको आरोप स्थानीय नेताहरूको छ ।
त्यस्ता समितिको म्याद सकिएको दुई वर्ष बितिसकेको छ । एक्यापकै म्याद थप्ने विषयमा अन्योल हुँदा नयाँ समिति गठन हुन नसकेको हो । ‘योजना छनोटमा स्थानीयको सक्रिय सहभागिता छैन । कार्यालयले जे योजना पठायो त्यही काम गर्नुपर्छ । यसरी त विकासमा जनताको सहभागिता नै देखिएन,’ जिल्ला समन्वय समिति मनाङका प्रमुख यज्ञप्रसाद घले भन्छन, ‘एक्यापले उठाएको पैसा कति छ ? कहाँ खर्च भयो, त्यो पारदर्शी छैन ।’ यहाँका अधिकांश स्थानीय नेता अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको म्याद थप्न सकारात्मक देखिएका छैनन् ।

म्याद नथप्न दबाब परिरहेकै बेला सरकारले गएको माघमा एक वर्षका लागि म्याद थपिदियो । तर, अब एक्याप कसको मातहतमा सञ्चालन हुन्छ भन्ने टुंगो अझै लागेको छैन । तीन वटै सरकारले उसको स्वामित्व आफूलाई दिनुपर्ने माग राखेका छन् । ‘पर्यटन रोयल्टीमा सबै तहका सरकारको दृष्टि पुगेको छ । स्रोत देखेर सबैले एक्याप मागेका हुन,’ सिएमसी टंकी मनाङका अध्यक्ष विनोद गुरुङले भने, ‘यो विवाद सरकारले छिट्टै टुंग्याइदियोस् ।’ उनका अनुसार ग्रामीण क्षेत्रमा एक्यापकै कारण नेतृत्व र सीप विकासमा टेवा पुगेको छ ।

‘कति सिएमसीका अध्यक्षहरू अहिले सांसद छन् । हामी नै जान्नेबुझ्ने भएको पनि एक्यापको पछि लागेर हो,’ उनले भने, ‘आजभोलि विकास निर्माणको काममा अवरोध सिर्जना भएपछि असन्तुष्टि बढ्न थालेको छ, स्थानीयसँग समन्वय गर्न सके अहिले देखापरिरहेको यो वितृष्णा घटेर जानेछ ।’  एक्याप क्षेत्रमा प्रवेश गर्दा विदेशी पर्यटकले दुई हजार रुपैयाँ तिर्नुपर्छ भने सार्क मुलुकका पर्यटकलाई दुई सय शुल्क तोकिएको छ । एक्यापको मुख्य आम्दानीको स्रोत यही हो । यो संस्था संरक्षण क्षेत्र व्यवस्थापन नियमावली विसं २०५३ को अन्तर्गत सञ्चालित छ ।

एक्याप मनाङका प्रमुख बाबुलाल तिरुवाले विकासका काममा केही कमजोरी भएको स्वीकार्दै सुधारेर अघि बढ्ने प्रतिबद्धता जनाए । ‘पूरै कर्मचारीको विश्वासका साथ काम गर्ने हो, उनीहरूले कहिलेकाहीँ गलत रिपोर्ट दिँदा विरोध आएका छन्’ उनले भने, ‘आगामी दिनमा सुधारेर जानु सबैको हितमा छ, एक्याप स्थानीयकै पक्षमा छ, संरक्षणको पक्षमा छ ।’ विकास निर्माणका काममा कुनै अवरोध नगरेको उनले दाबी गरे ।
‘कसैले घर बनाउँदा काठ काट्न पाउँदैनाँै भनेको छैन । तर नियमानुसार गर्नु भनेको हो,’ उनले भने, ‘मनपरी गर्न दिने हो भने वनजंगल बाँकी रहँदैन, हरियाली डाँडा उजाडिन्छन् ।’ आगामी दिनमा स्थानीय सरकारसँगको समन्वयमा कार्यक्रम तय गर्ने उनले जानकारी दिए ।

मनाङको सबैभन्दा ठूलो आयस्रोत भनेकै पर्यटन र जडीबुटी हो । यो दुवै क्षेत्र एक्यापको स्वामित्वमा छ । अहिले संविधानले गाउँपालिकालाई अधिकारसम्पन्न बनाएको छ । यद्यपि मनाङका चारवटै गाउँपालिकाको प्राकृतिक स्रोतमाथि कुनै पहुँच छैन । सबै गाउँपालिकामा ०४९ सालमा एक्याप लागू भएदेखि यहाँका स्रोतसाधन संकलन र उपभोगको अधिकार पूरै उसैसँग छ ।

‘प्रदेश सरकारले स्थानीय स्रोतको कर जम्मा गरिदिन भन्छ । हामीले कुनै स्रोत चलाउनै पाएको छैन,’ चामे गाउँपालिका अध्यक्ष लोकेन्द्र घले भन्छन्, ‘संविधानले आफ्नै स्रोतबाट गाउँपालिका चलाउनु भनेको छ, सबै स्रोत एक्यापको अधीनमा छ, मनाङका स्थानीय तहले कुन स्रोत खोज्ने ?’ आफँैले संरक्षण गरेको स्रोत आफँैले प्रयोग गर्न नपाउँदा एक्यापप्रति वितृष्णा बढेको उनको भनाइ छ । ‘भोलिको सन्ततिका लागि भनेर प्रकृतिको संरक्षण गरेको हो नि । प्रयोग नै गर्न नपाए संरक्षण किन गर्ने ?,’ उनले गरे, ‘घर बनाउँदा काठ काट्न नपाउने ? एक ट्रयाक्टर बालुवा निकाल्न नपाउने ? घरअगाडि बाटो बनाउन नपाउने ?’

नासो गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले एक्याप र स्थानीय सरकारका कार्यक्रममा एकरुपता नभएको बताए । ‘उनीहरू छुट्टै सरकारजस्तो गर्छन । गाउँसभामा कार्यक्रम पेश गर्छन,’ उनले भने, ‘उनीहरूले सञ्चालन गरेका कार्यक्रममा पनि गाउँपालिकाको पैसा पर्छ । आपसी समन्वय नहुँदा योजनामा दोहोरोपना छ ।’ उनको बुझाइमा एक्याप र स्थानीय सरकारबीच प्राकृतिक स्रोत साधनको परिचालनमा द्वन्द्व बढी छ । ‘एउटा काठ काट्नुप¥यो, एक्यापको स्वीकृति चाहिन्छ, एउटा ढुंगा निकाल्न पनि एक्यापलाई नै गुहार्नुपर्छ,’ उनी भन्छन्, ‘गाउँपालिकाले पनि एक्यापलाई सोधेर काम गर्नुपरे जनप्रतिनिधिको औचित्य के ? संघीयताको औचित्य के ?’

मनाङका प्रमुख जिल्ला अधिकारी ध्रुव गिरीले स्थानीय सरकारसँग समन्वय नभएका कारण विवाद देखिएको बताए । ‘सबै खत्तमै गरेको होइन । जुन हिसाबले तल्लो तहसँग समन्वय हुनुपथ्र्यो, त्यो देखिएन,’ उनले भन्नु, ‘क्षेत्राधिकार समान हुँदा द्वन्द्व बढेको हो । धेरै समस्याको समाधान दुई पक्ष बीचको समन्वयले हुन सक्छ ।’ स्रोतकै उपभोगमा बढी समस्या देखिएको उनको भनाइ छ । संघीय सरकारले नै यसको निकास निकाल्नुपर्ने उनले सुझाव दिए । स्रोत चलाउन पाउनुपर्ने मागसहित स्थानीयवासीले एक्यापअन्तर्गत विभिन्न जिल्लाका कार्यालयहरूमा पटक पटक तालाबन्दीसमेत गरेका थिए । मनाङका तिल्चे, थोंचे, नाचै र ताल क्षेत्रमा सामुदायिक वन छन् भने अरू सबै क्षेत्र एक्याप मातहत छन् ।
एक्यापका कार्यक्रम निर्देशक राजकुमार गुरुङ स्रोत परिचालनको समस्या संरक्षण क्षेत्रभरि रहेको भन्दै सरकारले नै निकास निकाल्नुपर्ने बताउँछन् । ‘यो सिंगोे क्षेत्रको समस्या हो । स्थानीय तहले आफ्नो ऐन लागू गर्न खोज्छ । हामीले हाम्रो नियम हेर्छौं । यसैले समस्या भएको छ,’ उनले भने, ‘कानुनबाटै स्पष्ट भएको छैन । हामी त राज्यको निर्देशन कार्यान्वयन गर्ने मात्रै हो ।’ उनले जिल्लाभित्रको विकास निर्माणमा एक्यापले कुनै अवरोध नगर्ने बताए ।

‘स्थानीय विकासको काममा ढुंगा, गिट्टी, बालुवा संघीय कानुनअनुसार निकाल्न पाउँछन् । बाहिर निकासी गर्न चाहिँ पाइँदैन,’ गुरुङले भने, ‘स्रोत परिचालनमा केही असमझदारी भए छलफल गरेर निकास दिनुपर्छ ।’ स्रोत उपभोगमै समस्या भएपछि आइतबार जिल्ला समन्वय समितिले एक्याप र सरोकारवालासँग छलफल आयोजना गरेको थियो । बैठकले समन्वयबाट अघि बढ्ने निर्णयसमेत गरेको छ ।  एक्यापले स्थानीयवासीलाई घरबास (होम–स्टे) सञ्चालन गर्न सामग्री पनि दिएको छ । मनाङको चामे गाउँपालिका–२ थान्चोककी सुन्तासी घलेलाई पनि यसका लागि सामग्री दिएको छ । उनी उमेरले ६० काटे तर घरमा आफूभन्दा पाको उमेरका श्रीमानबाहेक कोही छैनन् । भत्किएको घर भर्खरै मर्मत गरेका छन् । शौचालय र बाथरुम पनि व्यवस्थित छैनन् । उनलाई एक्यापले घरबास (होमस्टे) सञ्चालन गर्न दिएको सामग्री यसै छन् ।

उनले पाएका दुईवटा ओछ्यान, सिरक, सिरानी र तन्ना कोठामै थन्किएको छ । ‘आमा बूढी हुनुहुन्छ । त्यैपनि बिरामी भएर अस्पताल गइरहनुपर्छ,’ सुन्तासीकी छोरी विमला घलेले भनिन, ‘घरबास (होमस्टे) भनेको के हो थाहै छैन पाहुना कसरी राख्ने ?’ सोही ठाउँकी मोती गुरुङको सानो घर छ । मुस्किलले आफ्नो परिवार सुत्नसमेत कोठा पुग्दैन । उनको घरमा पनि घरबास सञ्चालन गर्न सामग्री दिइएको छ । उनीहरू जस्तै त्यो गाउँमा १४ परिवारले घरबासको सामान पाएका छन् । सामान पाएका अधिकांशले घरबास चलाउन सक्ने अवस्था छैन । स्थानीयसँगको सहमतिविना सामान दिएका कारण घरवास चलाउन समस्या परेको उनीहरूको भनाइ छ ।

उता घरवासको सामान बाँडेदेखि होटलसँगको सम्बन्ध चिसिएको पाइएको छ । ‘होटलमा आइरहेका पाहुना घरवासमा जान्छन्, लगानी गरेको होटललाई असर गर्छ,’ होटल व्यवसायी धनबहादुर गौचनले भने, ‘होटल भएको ठाउँमा होमस्टे खोल्दा राम्रो हुँदैन, यो कार्यलाई सुधार गर्नुपर्छ ।’ एक्यापले यो वर्ष थान्चोकसहित खाङसारमा पनि घरवास सञ्चालन गर्ने निर्णय गरेको छ । खाङसारमा स्थानीयवासीकै अवरोधले खरिद गरिएको सामान वितरण हुन सकेको छैन । दुवै घरवास दर्ता गरिएका छैनन् ।

प्रतिक्रिया