समुन्द्रमा ४० दिन अलपत्र !

आप्रवासीहरू एक महिनाभन्दा बढी समयदेखि तेल बोक्ने पानीजहाजमा अड्किएका थिए । तेल बोक्ने पानीजहाजका क्याप्टेन भोलोदिमिर एरोस्किन र उनको सहकर्मीको ध्यान आप्रवासीहरूलाई समुद्रमा डुब्नबाट जोगाउने थियो । चालकदलका २१ सदस्य पानीजहाजमा भएका कसैले समुद्रमा हाम फालेर आफ्नै ज्यान नलिउन् भन्नेमा सतर्क थिए ।  केही साताअघि एक आप्रवासीले समुद्रमा हाम फाल्ने धम्की दिएका थिए । केही दिनपछि तीन जनाले त हाम फाले नै । चालकदल तत्काल खट्न सक्दा तिनको उद्धार गरियो । तर, ती २७ आप्रवासीलाई ओर्लिने अनुमति इटल र मल्टाले नदिएपछि पानीजहाजमा अलपत्र परे । आप्रवासीलाई घटनाबाट जोगाउन सकिन्छ भन्ने दोधारमा चालकदल थिए ।
क्याप्टेन एरोस्किनलाई चिन्ता थियो, आप्रवासीलाई पानीजहाजबाट ओर्लिन दिने बन्दरगाह भेट्न नसक्नु । ‘हामी पानीजहाज रोकेर बसेका छौँ । अहिलेका लागि हाम्रो जाने गन्तव्य छैन । यी मानिसलाई ओराल्न स्वीकृति दिने कुनै ठाउँ छैन,’ मेयस्र्क एटेयन पानीजहाजका क्याप्टेनले केही दिनअघि भनेका थिए । उक्त जहाजलाई भूमध्यसागरमा रोकेर राखियो । अन्ततः ४० दिनपछि इटलीले तिनलाई जहाजबाट ओर्लिने अनुमति दियो ।  शुक्रबार आप्रवासीहरूको उक्त समूहलाई एउटा गैरसरकारी संस्थाले सञ्चालन गरेको डुंगामा राखेर पोजालो बन्दरगाह लगिएको बताइएको छ । ‘यससँगै युरोपेली सामुद्रिक यात्राको इतिहासमा सबैभन्दा लामो र लज्जास्पद अन्योल समाप्त भएको छ,’ मेडिटेरानिया सेभिङ ह्युमन्सले ट्वीटरमा लेखेका छन् ।

क्याप्टेन भोलोदिमिर एरोस्किनले यो अवस्थामा धेरै समय यसैगरी बस्न नसकिने बताएका थिए । एरोस्किनले तेल बोक्ने पानीजहाजमा मानिस राख्नका लागि ठाउँ नभएको र चालकदल उद्धारका लागि पनि तालिमप्राप्त नभएकाले अवस्था गम्भीर रहेको बताएका थिए । औषधोपचारमा सहायता गर्न सक्ने कर्मचारी पनि नभएको र मानिसहरू दिनदिनै हतास हुँदै गएको उनले बताएका थिए । व्यापारिक प्रयोजनको पानीजहाजले आप्रवासीहरूको उद्धार गर्दा भूमध्यसागरमा अड्किएको यो वर्ष मात्रै यो तेस्रोपटक हो । तर, योे सबैभन्दा लामो समय अड्किएको हो । यसअघि दुई वटा पानीजहाज एक साताभित्रै बन्दरगाह पुग्न सकेका थिए । योपटक आप्रवासीसहित समुद्रमा तेल बोक्ने पानीजहाज एक महिनाभन्दा लामो समयदेखि अलपत्र प¥यो । ‘यी मानिसहरूलाई किनारमा उत्रिने अधिकार दिइएको छैन । पानीजहाज हल न चल बनेको छ र कतै लैजान सकिँदैन,’ उनले भनेका थिए ।

चार वर्षअघि आप्रवासी संकट उच्च रहँदा प्रत्येक महिना सयौँ मानिसले समुद्रमै ज्यान गुमाउँथे, त्यो बेला परिस्थिति अहिलेको भन्दा फरक थियो । त्यतिबेला पनि मेयस्र्कका क्याप्टेन एरोस्किन भूमध्यसागरमा यात्रामै थिए र उनले सयौँ आप्रवासीको उद्धार गरेका थिए । ‘मेरो यो तेल ट्यांकरले समुद्रबाट ३ सय ५३ जना मानिसलाई ओसार्नु थियोे । हामी उनीहरूलाई २४ घण्टाभित्र इटलीमा उतारिदिन्थ्यौँ,’ उनी सम्झिन्छन् ।
क्याप्टेन एरोस्किनले पनि त्यसैगरी मानिसलाई ओराल्ने प्रयास गरेका थिए । झन्डै एक महिनाअघि उक्त तेल ट्यांकर विनातेल इटलीको जेनोआबाट ट्युनिसियाको ल शखिरास्थित बन्दरगाह जाँदै थियो । अगस्ट ४ को दिउँसो खाना खाँदै गर्दा क्याप्टेनलाई मल्टास्थित उद्धार संयोजन केन्द्रमा सम्पर्क गर्नू भन्दै एउटा सन्देश आयो । सन्देश लिबियाबाट अगस्ट २ मा डुंगामा यात्रा गरिरहेका २७ जना आप्रवासीलाई उद्धार गर्न थियो ।

सुरुमा उक्त डुंगाको सम्पर्क उद्धार गर्ने आफूलाई भनिए पनि त्यो सम्भव नभएको एरोस्किनले बताए । ‘त्यसपछि आफ्नो जलमार्ग मोडेर उक्त डुंगामा सवार २७ जना आप्रवासीको उद्धार गर्नु भनेर स्पष्ट सन्देश आयो,’ उनले भने । दश नटिकल माइल टाढा रहेको डुंगानजिक पुग्दा त्यसमा खचाखच भरिएका मानिसहरूले हात हल्लाइरहेको देखेपछि आफूलाई सान्त्वना भएको क्याप्टेनले बताए । डुंगा र पानीजहाजको आकारको भिन्नताले उद्धारकार्य चुनौती थियो । डुंगा भेटेलगत्तै ती आप्रवासीलाई पानी र खानेकुरा दिइयो । एरोस्किन उनीहरूलाई लिन उद्धार गर्ने छुट्टै पानीजहाज आउला भन्ने थियो । तर, १२ घण्टासम्म अर्को पानीजहाज आएन । साँझ पर्दै गएपछि हावाको वेग तीव्र हुन थाल्यो र समुद्रमा छाल देखा पर्न थाल्यो । त्यसपछि चालकदलले अर्को पानीजहाजको भर नपरी आफैँले उद्धार गरे । सानो डुंगाबाट डोरी र भ¥याङको सहायताले एक–एक गरी सबैको उद्धार गरियो । त्यसमा एक १५ वर्षीय किशोर र १२ हप्ताकी गर्भवती महिला पनि थिइन् ।

विभिन्न अफ्रिकी मुलुकका यी आप्रवासी केहीलाई मात्रै थोरै अंग्रेजी भाषा आउने भएकोले उद्धारमा कठिनाइ थियो । तर, जोखिमपूर्ण उद्धार भए पनि कोही घाइते भएनन् । त्यतिबेला चालकदलले २७ जनाको ज्यान जोगाएकोमा खुसी महसुस गरे । तेल भर्न र ओसार्न आवश्यक पाइपको सञ्जाल जहाजमा हुन्छ । त्यसैले उद्धार गरिएका आप्रवासीलाई सुरक्षित राख्नु अर्को चुनौती मानिएको थियो । आप्रवासीहरूलाई पानीजहाजमा शौचालय भएको अघिल्लो भागमा जान प्रतिबन्ध लगाइएको थियो । कोरोना भाइरस महामारीका कारण पनि एरोस्किनले चालकदलका सीमित सदस्यलाई मात्रै उद्धार गरिएका व्यक्तिसँग कुराकानी गर्न अनुमति दिएका थिए । केही आप्रवासीहरूले युरोपेली संघलाई हस्तक्षेप गर्न भन्दै भिडिओ सन्देश रेकर्ड गरे । सँगै उनीहरूले आफ्नो ज्यान बचाइदिने क्याप्टेनसहित चालकदलको प्रशंसा गर्दै पत्र पनि लेखे । आप्रवासीको उद्धार गरेकोमा एरोस्किनलाई उनकी १५ वर्षीया छोरीको भावुक सन्देश आयो ।

अन्तर्राष्ट्रिय सामुद्रिक संगठन (आइओएम) का अनुसार सदस्य राष्ट्रहरूले समुद्रमा उद्धार गरिएका व्यक्तिलाई जतिसक्दो चाँडो सुरक्षित स्थलमा ओर्लिने व्यवस्था मिलाउन संयोजन गरिदिनुपर्छ । आइओएमका अनुसार यो वर्षको आठ महिनामा मात्रै ५ सय ५४ जना आप्रवासीले समुद्रमा ज्यान गुमाइसकेका छन् ।

सन् २०१५ को आप्रवासी संकटयता भूमध्यसागरमा अझै पनि सयौँ मानिसहरूले ज्यान गुमाइरहेका छन् । भूमध्यसागरमा उद्धार कार्य गर्दै आएको संगठनले यदि युरोपेली संघअन्तर्गतका राष्ट्रहरूले कानुन मान्न अस्वीकार गरे थप मानिसको ज्यान जाने चेतावनी दिएको छ । सी–वाचका फेलिक्स वेइसकाअनुसार सामान बोक्ने कार्गो जहाजले मात्रै यो वर्ष भूमध्यसागरमा तीन सय जनाभन्दा बढी मानिसको उद्धार गरिसकेको छ । तेल बोकेको पानीजहाज मेयस्र्कले अहिलेको गतिरोध अन्त्य गरिदिन आह्वान गरेको थियो । संयुक्त राष्ट्रसंघको शरणार्थीसम्बन्धी निकायले पनि उद्धार गरिएका मानिसलाई ओर्लिन दिन आफ्ना सदस्य राष्ट्रलाई भन्न युरोपेली संघलाई घच्घच्याएको थियो । यसबारेमा मल्टाका अधिकारीहरूले कुनै प्रतिक्रिया दिएनन् । (बिबिसी)

प्रतिक्रिया