क्षयरोगबाट हात्ति जोगाउनै मुस्किल

चितवन । सन् २००२ यता क्षयरोगका कारण चितवन राष्ट्रिय निकुञ्जका १५ हात्ती मरिसकेका छन् । यस अवधिमा अन्य कारणसहित २५ हात्ती मरेको तथ्यांक छ । चितवनका हात्तीमा पहिलोपटक सन् २००२ मा क्षयरोग देखिएको थियो । यो संक्रमण सन् २०१६ सम्म जारी नै रह्यो ।

त्यतिबेला निकुञ्जको पशु चिकित्सकका रुपमा कार्यरत डा कमल गैरेका अनुसार क्षयरोगका कारण हात्तीमा समस्या देखिन थालेपछि निजी र सरकारी सबै हात्तीको क्षयरोगको परीक्षण गरिएको थियो । त्यतिबेला निकुञ्जका १७, निजी ४१ र राष्ट्रिय प्रकृति संरक्षण कोषका दुई हात्तीमा क्षयरोग देखिएको थियो । त्यसपछिका केही वर्ष संक्रमण नदेखिए पनि सन् २०१८ यता क्षयरोगका कारण चार हात्ती मरेको अनुमान छ ।

अगष्ट १२ अन्तरराष्ट्रिय हात्ती दिवस मनाउँदै गर्दा निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा विजय श्रेष्ठले पछिल्लो पटक यही साउन १९ गते मरेको दीपेन्द्र गजमा क्षयरोगको संक्रमण देखिएको बताए । यसअघि मरेका तीनवटा हात्तीको शवपरीक्षणका क्रममा फोक्सोमा समस्या देखिएकाले ती हात्तीमा पनि क्षयरोगको संक्रमण भएको अनुमान गरिएको उनको भनाइ छ । चितवन राष्ट्रिय निकुञ्जमा ६० हात्ती रहेका छन् भने यहाँका निजी होटलमा ५७ वटा हात्ती रहेका छन् ।

देशभर यो संख्या २०० रहेको बताइन्छ । दुई सय हाराहारी नै जंगली हात्ती रहेका छन् । उनले हात्तीमा दोस्रो चरणमा क्षयरोग देखापरेको अनुमान गरेका छन् । खतरा बढेपछि निजी र सरकारी सबै हात्तीको नमूना संकलन गरी क्षयरोग परीक्षण गरिँदैछ । उनले भने, ‘पानी रोकिएलगत्तै एकदुई दिनमा नै परीक्षण शुरु गर्छौँ ।’

रगत र हात्तीको सुँढबाट निस्किएको ¥याल संकलन गरेर परीक्षण गरिने उनले बताए । समयमा नै उपचार गर्न सकेमा हात्ती बचाउन सकिने भन्दै उनले उपचारको कामलाई तीव्रता दिन लागिएको बताए । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले क्षयरोग परीक्षणको काम तत्काल शुरु गर्न लागिएको बताए । क्षयरोग देखिएमा उपचार गरेर हात्तीलाई निको पार्न सकिने भएकाले सबै हात्तीको परीक्षण गरिने उनको भनाइ छ ।

निकुञ्जका हात्ती विभिन्न पोष्टमा सुरक्षाका लागि राखिएका छन् भने निजी हात्ती पर्यटक बोक्नका लागि होटलहरुले प्रयोग गर्दै आएका छन् । चितवन राष्ट्रिय निकुञ्ज हात्ती सफारीका लागि अन्तर्राष्ट्रिय रुपमा प्रख्यात छ । यहाँ सामुदायिक वनमा निजी हात्तीमा पर्यटकलाई घुमाउने गरिन्छ । हात्ती चढेर दुर्लभ वन्यजन्तु हेर्न पर्यटक रुचाउँछन् । हात्तीमा क्षयरोग देखिएमा उपचार गर्न लामो समय लाग्ने गर्दछ । यो खर्चिलो पनि हुने चिकित्सकहरु बताउँछन् ।

प्रतिक्रिया