असारबाट उद्धार शुरु गरिने

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को मारमा परेका खाडी मुलुकका नेपाली श्रमिकको उद्धार असारबाट शुरु गर्ने भएको छ । कोरोनाका कारण कतिपय नेपाली रोजगार विहिन अवस्थामा पुगेपछि उनिहरुको उद्धार गर्ने काममा जुटेको हो ।

नेपाली सरकारी तथ्यांक अनुसार विदेशमा हाल ४० लाख नेपाली रहेको अनुमान छ । उनिहरु नेपालबाट श्रम स्विकृति लिएर गएका हुन् । तिमध्ये अधिकाश खाडी मुलुक र मलेसियामा रहेका छन् । सरकारले सकेसम्म जेठ अन्तिम नभएपनि असारबाट खाडी मुलुकबाट नेपाली श्रमिकको उद्धार गर्न शुरु गर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ । सबैभन्दा पहिला कुवेतबाट उद्धार गर्ने श्रममन्त्री रामेश्वर राय यादवले जानकारी दिए । नेपाललाई अहिलेसम्म खाडी मुलुक मध्ये कुवेत र युएईले आफ्ना कामदार फिर्ता लैजान आग्रह गरेको छ ।

मन्त्रालयका अनुसार कुवेतबाट करिव सात हजार नेपाली पहिलो चरणमा ल्याउनुपर्ने देखिएको छ । कुवेतले कोरोनाको महामारी शुरु भएपछि तुरुन्तै नेपाली कामदारलाई लैजान भनेर कुटनीतिक तवरले जानकारी गराईसकेको छ । कोरोनाका कारण अर्थव्यवस्था जटिल बनेपछि त्यहा रहेका कामदारको रोजगारी गुम्ने खतरा बढिरहेको छ । जसमध्ये करिव सातदेखी ९ हजारसम्म नेपाली बेरोजगार हुन सक्ने सरकारले आकंलन गरेको छ । उनिहरुलाई उद्धारको व्यवस्था गर्न सरकारले मन्त्रालयलाई पनि निर्देशन दिईसकेको छ ।

मन्त्री यादवले प्रत्यक्ष प्रभावित भएका व्यक्तिको तथ्यांक संकलन गर्न निर्देशन दिएको बताए । उनले भने, ‘कुवेतले तुरून्तै नेपाली कामदारहरूलाई लैजानुपर्यो भनेको छ । हामीहरू त्यसका लागि सम्पर्कमा छौँ र समन्वय गरिरहेका छौँ । जुन जुन देशमा हाम्रा नेपाली दाजुभाइ दिदीबहिनी फर्कनुपर्ने अवस्था छ, उहाँहरूलाई हामी जुन महिनाबाट ल्याउने वातावरण बनाउँदैछौँ ।’ कुवेतमा हालसम्म कोरोनाबाट संक्रमितको सख्या ६४ पुगिसकेको छ । बुधबारमात्र थप १३ जना नेपालीमा कोरोना संक्रमणको पुष्टि भएको छ । त्यहा अहिलेसम्म ४ हजार २४ जनामा संक्रमण भेटिएको छ ।

युएईले पनि नेपाली कामदार लैजान आग्रह गरिसकेको छ । तर, राष्ट्रपति विद्यादेवी भण्डारीको पहलमा हालका लागि सो आग्रह युएईले स्थगित गरेको मन्त्रालयले जनाएको छ । राष्ट्रपतिले युएईका शेखसँग टेलिफोन सम्बाद गरेपछि तत्काल फिर्ता ल्याईहाल्नु पर्ने अवस्था नभएको मन्त्री यादवले बताए । अन्य मुलुकबाट आग्रह नभएपनि स्वयम नेपाली फर्किने इच्छा देखाएकाले त्यसतर्फ पनि आफुहरुको ध्यानकर्षण भएको जानकारी दिए ।

खाडीका अधिकाश मुलुक कोरोनाबाट प्रभावित भएकाले उनिहरु आउँदा नेपालमा कहा राख्ने भन्ने समस्या अहिले देखिएको छ । उनिहरुलाई १४ दिन अनिवार्य क्वारेन्टाइनमा राख्नुपर्ने हुन्छ । त्यसका लागि संचालनमा नआएका विद्यालयका भवन, होटल र त्यस्ता प्रकारका ठुला खाली संरचनामा राख्ने गरी काम शुरु भएको छ । मन्त्रालयले आन्तरिक तयारी पुरा भएपनि नेपालीको उद्धार शुरु गर्ने बताएको छ ।

मन्त्रालयले उनिहरुको स्वास्थ्य जाँच नेपालमै गर्ने कि सम्वन्धित देशमै गर्ने भन्नेबारे पनि छलफल शुरु गरेको छ । मन्त्री यादवका अनुसार सम्वन्धित देशबाटै स्वास्थ्य जाँच गरेर नेपाल ल्याउने गरी पहल भईरहेको बताए । ‘फर्काउँदा पनि स्वास्थ्य जाँच गरेर मात्रै फर्काउँछौँ । हामीले सम्बन्धित देशहरूलाई एकैचोटी ठूलो सख्यामा स्वास्थ्य जाँच गर्न हामीलाई पनि गाह्रो पर्छ भनेका छौँ’, उनले भने, ‘त्यहाँ नै स्वास्थ्य जाँच गरेर संक्रमित नभएकालाई मात्रै ल्याउने वातावरण हामी बनाउँछौँ ।’

कोरोनाभाइरसको संकटका कारण कैयौँ देशमा विशेषगरि साना व्यवसायहरूमा कार्यरत नेपालीहरूले रोजगारी गुमाएका वा उनीहरूका सुविधा कटौती गरिएका विवरणहरू आइरहेका छन् । त्यसका बीच सरकारले त्यहा रहेका दूतावासलाई नेपालीको विवरण संकलन गर्न निर्देशन दिईसकेको छ । कतिपय दूतावासले त्यस्ता विवरण अनलाइनका माध्यमबाट संकलन गर्न थालिसकेका छन् । विदेशमा रहेका ४० लाखमध्ये करिव १५ देखी २० प्रतिशत नेपाली स्वदेश फर्किन सक्ने आकंलन गरिएको छ । विज्ञहरुले भने यति ठुलो सख्याका नेपाली एकैपटक ल्याउन सरकार एक्लैले नसक्ने पनि बताएका छन् ।

प्रतिक्रिया