अब सरकारको काम गरे मात्रै मजदुरले राहत पाउने

काठमाडौं । कोरोना भाइरस संक्रमण फैलिन नदिन सरकारले लगाएको लकडाउनबाट प्रभावित मजदुर परिवारलाई काममा लगाएर मात्रै राहत दिने भएको छ । काम गरेवापत राहतको २५ प्रतिशत मात्र मजदुरहरूले राहत पाउनेछन् ।

दोस्रो चरणको राहत प्याकेज ल्याएको सरकारले असंगठित क्षेत्रका रोजगार विहीन मजदुरहरूलाई स्थानीय तह, प्रदेश वा संघीय सरकारबाट सम्पादन हुने सार्वजनिक काममा लगाउने योजना अघि सारेको छ । यसरी काममा लगाउँदा दैनिक ज्याला वा नगद उपलब्ध गराउनेछ ।

स्थानीय तहले असंगठित क्षेत्रमा मजदुरलाई राहत दिँदा मापदण्ड अनुसार ज्याला दर तोकेर मात्र वितरण गर्ने सरकारले निर्णय गरेको छ । ज्याला निर्धारण गर्दा स्थानीय तहले परिवारको लागत तयार गर्नेछ भने राहत माग गर्ने परिवार सम्बन्धित स्थानीय तहको रोजगार केन्द्रमा सूचीकृत हुनुपर्ने जनाएको छ ।

साथै, राहत दावी गर्ने मजदुरले आफ्नो परिवारमा कोही पनि स्वरोजगार नरहेको, औपचारिक रोजगारीमा नरहेको र आयआर्जजनको वैकल्पिक स्रोत नभएको घोषणा गर्नुपर्नेछ ।

प्रतिक्रिया