बैंकमा नक्कली हस्ताक्षरको आतंक

काठमाडौं । मंसिर ९ गते बिहान प्रहरीको एउटा टोली न्युरोडमा रहेको जनता बैंकमा पुग्यो । सादा पोसाकमा गएको प्रहरीलाई अघिल्लो रात एउटा सूचना आएको थियो । सोही सूचनालाई आधार मानेर प्रहरी एउटा ‘सेक्रेट’ मिसनका लागि त्यहाँ पुगेको हो ।  बिहान १० नबज्दै तीनजना युवाहरूको एउटा टोली बैंकमा छि¥यो । उनीहरू गोपालमान राजवाहक नामको चेक लिएर पैसा साट्न पुगेका थिए । उनीहरू रकम साट्न लागेका वेला प्रहरीले पक्राउ गर्यो । बैंकमा आएका सबै छक्क परे । तर, प्रहरीले यत्तिकै उनीहरूलाई पक्राउ गरेको थिएन । अघिल्लो रात महानगरीय प्रहरी परिसरमा एउटा फोन आयो । फोन गर्ने व्यक्ति थिए खातावाला राजवाहक । उनले आफ्नो बैंक खातामा रहेको रकम कसैले चोरी गरेको वा के भएको हो भनेर जानकारी गराए । नगराउन पनि कसरी उनको खाताबाट पटक–पटक गरेर १९ लाख ९९ हजार रुपैयाँ निकालिएको रहेछ । घटना आइतबार दिउँसो भए पनि उनले राति मात्र थाहा पाए ।

राजवाहकको मोबाइलमा आइतबार दिउँसो करिब साढे तीन बजेतिर अपरिचित नम्बरबाट फोन आयो । ‘म जनता बैंकबाट बोलेको । केही प्राविधिक गडबडी आएको छ । डेढ घण्टा जति मोबाइल अफ गर्नुहोला’, फोनमा बोल्ने व्यक्तिले भने । उनले पनि बैंकबाट फोन आएको सम्झिएर फोन अफ गरे । उनले राति सात बजेतिर मात्र फोन अन गरे । जब फोन अन गरे, बैंकबाट उनको मोबाइलमा म्यासेज आयो । तीनवटा फरक–फरक समयमा म्यासेज आएको थियो । राम्रोसँग लेखपढ गर्न नसक्ने उनको म्यासेज परिवारका सदस्यले राति करिब साढे ८ बजेतिर मात्र देखे । म्यासेजमा तीनपटक गरेर १९ लाख ९९ हजार रुपैयाँ निकालिएको भनेर बैंकको तर्फबाट सन्देश आएको थियो ।

राजवाहकले कसैलाई पनि चेक नदिएको र भएका सबै चेक आफूसँगै रहँदा पनि कसरी रकम निकालियो भनेर अचम्ममा परे । त्यसपछि उनको मनमा चिसो पस्यो र तत्कालै महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीलाई सम्पर्क गरेर सबै घटना सुनाए । त्यसपछि उनले सोही राति नै जनता बैंक र नेपाल राष्ट्र बैंकका अधिकारीसँग सम्पर्क गरी घटनाका बारेमा सोधपुछ गरे । त्यसपछि बैंकले पनि आन्तरिकरूपमा छानबिन सुरु गरेको थियो । बैंकका प्राविधिकतर्फका कर्मचारी राति नै बैंक पुगेर अनुसन्धान गर्दा गोपालमानलाई बैंकले उपलब्ध गराएको चेकबाट रकम नझिकी उनकै नामको नयाँ चेकबाट रकम झिकेको खुल्यो ।


प्रहरीले दुई दिन लगाएर अनुसन्धान गर्दा नक्कली कागजपत्र बनाएर नयाँ चेकबुक निकालेको खुल्यो । त्यही चेकबाट कीर्ते हस्ताक्षर गर्दै खाताबाट रकम झिकेको फेला प¥यो । त्यसपछि सोमबार बिहान प्रहरी बैंक पुगेको थियो । बैंकबाटै प्रहरीले अञ्जन बराल, सुभाष श्रेष्ठ र मनिष घिमिरेलाई पक्राउ गर्न सफल भयो । उनीहरूले राजवाहकको नामको चेकबुक बोकेका थिए । पुनः पैसा निकाल्ने योजनाअनुसार आएका उनीहरूलाई प्रहरीले त्यहीँ पक्राउ गर्न सफल भयो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ गरेर सोधखोज गर्दै जाँदा उनीहरूका अरू तीनजना साथी रहेको पत्ता लागेको थियो । उनीहरू कुमार तामाङ, सुमन पौडेल र गोविन्द घिमिरे थिए । यी सबैको कोठा खानतलासी गरेपछि प्रहरीले नगद, चेकबुक, एटिएम र बैंकका फाइल, खाता खोल्न राखिएका मानिसका फोटो तथा नागरिकताको नक्कल फेला पारेको छ । प्रहरीका अनुसार यी व्यक्तिले सक्कली नै चेकबुक बनाएर खातावालाको नक्कली सही गरी पैसा निकालेको देखियो । राजवाहकको चेक जनता बैंकको ग्वार्को शाखाबाट बनाइएको पत्ता लागेको छ ।

प्रहरीका अनुसार सोमबार दिउँसो तीन बजेदेखि पाँच बजेभित्रमा १९ लाख ९९ हजार रुपैयाँ चेकबाट झिकेको देखिन्छ । पक्राउ परेकाबाट १८ लाख ६० हजार नगद बरामद भएको छ । प्रहरीका अनुसार यी व्यक्तिले बैंकमा खाता रहेका व्यक्तिहरूको चेकमा रहेको सही चोरेका छन् । जसको सही चोरी भयो उसैको नाममा चेक हराएको निवेदन दिएर नयाँ चेक लिएर रकम निकालेका छन् । सही मिलाएर लाखौँ निकाल्न सफल भएका पनि छन् । कैयौँ व्यक्तिको नाममा रहेको खाताको सयौँ थान सक्कली चेक लिन सफल भएका छन् । उनीहरूले विभिन्न १८ वटा बैंकबाट यसैगरी रकम निकाल्ने तयारी गरिरहेको खुलेको छ । खातावालाहरूको सक्कली नै भिजा कार्डसमेत बनाएर प्रयोगमा ल्याएका छन् । ‘यी सबै गर्न सम्बन्धित बैंकका कर्मचारीको मिलेमतो तथा लापरबाहीसमेत देखिन्छ, यस सम्बन्धमा सूक्ष्म अनुसन्धान भइरहेको छ,’ परिसर प्रवक्ता डिएसपी बोगटीले भने ।

आइतबार दिउँसो करिब १ बजेतिर बैंक पुगेर उनले आफू गोपालमान भएको र आफ्नो चेक हराएको भन्दै नयाँ चेक बनाउन फारम भरेका थिए । उनले बैंकका कर्मचारीले मागेको आवश्यक कागजपत्रसमेत उपलब्ध गराए । तर, बैंकका कर्मचारीले उनी गोपालमान हुन् वा होइनन् कुनै प्रमाणीकरण नै गरेन । मान्छे एउटा र फोटो अर्को हुँदासमेत बैंकले केही गरेन । ‘यहाँ बैंकको केही गल्ती देखिएको छ । हामी यो पाटोमा कर्मचारीलाई अनुसन्धान गरिरहेका छौँ,’ परिसरका एसएसपी उत्तमराज सुवेदीले भने ।

यसैबीच, मुक्तिनाथ विकास बैंकबाट समेत चोरहरूले १० लाख रुपैयाँ लिएको खुलेको छ । गिरोहले मुक्तिनाथ विकास बैंकबाट दस लाख बराबर रकम चेकमार्फत भुक्तानी लगिसकेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । ‘बुधबार साँझसम्ममा मुक्तिनाथ बैंकबाट दस लाख रुपैयाँ चेकमार्फत भुक्तानी लगेको जानकारी आएको छ,’ प्रवक्ता बोगटीले भने । उनका अनुसार हालसम्म विभिन्न व्यक्तिका दुई हजार प्रतिलिपि नागरिकता र त्यति नै बराबरको फोटोहरू पनि बरामद गरेको छ ।

प्रतिक्रिया