दलित पढ्ने विद्यालयमै आउदैनन् गैरदलित

दार्चुला । दार्चुला जिल्लाको एक विद्यालयमै छुवाछुतको अवशेष देखिएको छ । व्याँस गाउँपालिका–६ स्थित लटबाब आधारभूत विद्यालयमा दलित समुदायका विद्यार्थीहरू मात्रै अध्ययन गर्ने गरेको पाइएको छ ।

व्याँस गाउँपालिका–६ हुतीस्थित लटबाव आधारभूत विद्यालय जैपुरमा दलित समुदायका विद्यार्थी मात्रै अध्ययन गर्ने गरेको उक्त विद्यालयका प्रधानाध्यापक रञ्जित दमाईले जानकारी दिए । दलित समुदायका विद्यार्थीबाहेक गैरदलित समुदायका बालबालिकाहरू उक्त विद्यालयमा अध्ययन नगर्ने प्रधानाध्यापक दमाईको भनाइ छ ।

०५४ सालमा स्थापना भएको लटबाब आधारभूत विद्यालय जैपुरमा हालसम्म गैरदलित समुदायका बालबालिकाहरू पढ्न जादैनन् । कानुनले नै छुवाछुत, भेदभाव कानुनी अपराध भने पनि उक्त विद्यालयमा छुवाछुत भइरहेको पाइएको छ ।

‘यस विद्यालयमा विद्यार्थी मात्र होइनन् शिक्षक कर्मचारी पनि दलित नै भएकाले गैरदलितहरू आउँदैनन् बरु यहाँ भन्दा दुई किलोमिटर टाढा रहेको रानीस्थान आधारभूत विद्यालय नौपन्यारमा जान्छन्

दलित समुदाय र गैरदलितको बस्ती छेउछाउमै भए पनि दलितहरूको समुदायलाई जैपुर नाम दिइएको छ भने गैरदलितहरूको बस्तीलाई हुती नामले चिनिन्छ । दलित बस्तीमा स्थापना गरिएको लटबाब आधारभूत विद्यालय जैपुरमा नजिकै रहेको हुती बस्ती अर्थात् गैरदलितका बालबालिकाहरू भने झन्डै दुई किलोमिटर टाढाको अर्काे विद्यालयमा जाने गरेको प्रअ दमाईको भनाइ छ । प्रअले भने, ‘यस विद्यालयमा विद्यार्थी मात्र होइनन् शिक्षक कर्मचारी पनि दलित नै भएकाले गैरदलितहरू आउँदैनन् बरु यहाँ भन्दा दुई किलोमिटर टाढा रहेको रानीस्थान आधारभूत विद्यालय नौपन्यारमा जान्छन् ।’

विगतदेखिकै चलन र संस्कारका कारण छुवाछुतको व्यवहार भइरहेको प्रधानाध्यापक दमाईले बताएका छन् । उक्त विद्यालयमा कर्मचारीहरू पनि दलितहरू मात्रै भएकाले विशुद्ध दलितहरूको विद्यालयका नामले चिनिएको जिल्लाकै पहिलो विद्यालय बनेको प्रधानाध्यापक दमाईले बताए । ‘विद्यार्थीहरू पनि दलित र शिक्षक कर्मचारीहरू पनि दलितै भएको जिल्लाकै पहिलो विद्यालय हो’, प्रधानाध्यापक दमाईले भने ।

दुई दशक पहिले स्थापना भएको उक्त विद्यालयमा हालसम्म उक्त विद्यालयमा गैरदलितले पढेका छैनन् भने उक्त विद्यालयमा गैरदलित कर्मचारीहरू पनि छैनन् । उक्त विद्यालयमा बालविकास गरी जम्मा ५० जनासम्म विद्यार्थी छन् भने दुई जना स्थायी शिक्षक कार्यरत छन् भने एक जना बालबालिका सहयोगी र एक जना कार्यालय सहयोगी कार्यरत छन् । प्रधानाध्यापक रञ्जित दमाई, नरीराम टमटा स्थायी शिक्षक हुन् भने बालविकास सहयोगी रमाटमटा र कार्यालय सहयोगी चन्द्रराम टमटा कार्यरत छन् ।

दलित विद्यालयमा आफ्ना बालबालिकाहरू नपठाए पनि गैरदलितहरूले दलित विद्यालय र समुदायलाई भने सहयोग गरिरहेको प्रधानाध्यापक दमाईको भनाइ छ । गैरदलितहरूले दलित विद्यालय लटबाब आधारभूत विद्यालयमा नपठाए पनि विद्यालय निर्माणका लागि जग्गा दान गरेका छन् ।

केही दिनअघि मात्रै गैरदलित समुदायबाट दलित विद्यालयलाई जग्गा दान गरेको प्रधानाध्यापक दमाईले बताए । व्यास गाउँपालिका–६ हुतीमा रहेको लटबाब आधारभूत विद्यालय जयपुरलाई जग्गादान गरिएको छ । ब्यास गाउँपालिका हुतिका कालाराठी मलगाई परिवारबाट गगनसिंह कँुवरका छोरा उपेन्द्रसिंह कुँवर तथा प्रमसिंह कुँवरका छोरा विसिनसिंह कुँवर र चन्द्रसिंह कुवरकी पत्नी सीतादेवी कुँवरले जयपुर आधारभूत विद्यालयलाई १ रोपनी ३ आना २ पैसा ३ दाम जग्गा दान गरेको विद्यालयका प्रधानाध्यापक रञ्जीत दमाईले जानकारी दिए ।

प्रतिक्रिया