अज्ञात रोगबाट नौ जनाको मृत्यु

हुम्ला । ताजाकोट गाउँपालिकामा पहिचान नभएको रोगका कारण नौ जनाको मृत्यु भएको छ । सुरुमा बिरामीको टाउको दुख्ने, वाकवाकी लाग्ने, छाती दुख्ने, ज्वरो आउने र अन्त्यमा मृत्यु हुने गरेको छ ।

ताजाकोटको वडा नम्बर १, २ र ८ मा वृद्धवृद्धा तथा बालबालिका बढी प्रभावित भएका छन् । सदरमुकामबाट ताजाकोट पुग्न चार दिन लाग्ने भएकाले त्यहाँ चिकित्सकको टोली पुग्न समय लाग्ने भएको छ । नेपालगंजबाट बाजुराको कोल्टी विमानस्थल हुँदै जाँदा चाँडो हुने भएकोले स्वास्थ्यकर्मीको टोली नेपालगंजमा तयारी अवस्थामा रहेको र आइतबार बिहान कोल्टी विमानस्थल हुँदै प्रभावित क्षेत्रमा जाने प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालले जानकारी दिए ।

एक साताअघिदेखि फैलिएको सो रोगका कारण शनिबारसम्म मर्नेको सख्या नौं पुगेको मैला स्वास्थ्य चौकीका अहेब मोतीलाल जैशीले बताए । बिरामीको उचित उपचार र रोगको पहिचान नभएका कारण रोग फैलिँदै गएको छ । रोगबाट गाउँपालिका मैला, मदानलगायतका गाउँका मानिस बिरामी परेको स्थानीय बासिन्दाले बताएका छन् ।

एक हप्ताअघि पानी परेसँगै सो रोग फैलिएको थियो । सो रोगका कारण ताजाकोट गाउँपालिका–१ का ७० वर्षीय कुसुुमा रिठाल र ६० वर्षीय सुरजित खड्का, वडा नं २ का ५५ वर्षीय रंगे कोली र पाँच वर्षकी सुनकेसा सुनार, वडा नं ३ का ७० वर्षीय अमकली मल्ल, ७५ वर्षीय बज्जीरे सुनार, ५५ वर्षीय लक्ष्य सुनार र १० महिनाका बालक संजीव थापाको मृत्यु भएको मैला स्वास्थ्य चौकीका अहेब मोतीलाल जैशीले बताए । शनिबार दिउँसो ताजाकोटका बिरबल रिसालको ज्यान गएपछि ज्यान गुमाउनेको संख्या नौ पुगेको हुम्लाका प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिए ।

आइतबार बिहान उडान भएमा दिउँसोसम्म स्वास्थ्यकर्मी पुग्नेछन् । समस्या जटिल बन्दै गएकोले नेपालगंजबाट हेलिकप्टरमार्फत स्वास्थ्यकर्मी लैजान गृह मन्त्रालयमार्फत पहल भैरहेको र हेलिकोप्टर उपलब्ध भएमा आइतबार बिहानै स्वास्थ्यकर्मी पुग्ने उनले बताए ।

प्रतिक्रिया