काठमाडौं । इलामको दानाबारीमा जन्मिएका विशाल निरौलाको बाल्यकाल भने झापाको शरणामती गाविसमा बित्यो । सानैदेखि रेडियो, टेलिभिजनमा बज्ने हरेक गीत संगीतलाई उनले ध्यान दिएर सुन्ने र आफैँले पनि गुनगुनाउने गर्थे । स्कुले जीवन बेलादेखि नै गीत संगीतको मोहले तान्न थालेको उनी बताउँछन् ।
त्यसपछि उनी त्यही जिल्लामा हुने मेला महोत्सवहरूका विभिन्न कार्यक्रममा भाग लिएर गीत गाउन थाले । झन् झन् उनलाई यस क्षेत्रमा सक्रिय भएर अगाडि लम्किन उत्प्रेरित गरायो । घरपरिवारबाट र आपूmलाई पढाउने शिक्षकहरूको ठूलो हौसला स्कुले तहबाटै प्राप्त भएको स्मरण गर्दै आफ्ना गुरुहरू र परिवारलाई सम्झिन्छन् विशाल ।
त्यही हौसालाको कारण झापाकै दमकमा संगीत सिक्न उनले सुरु गरे । संगीत सिक्दै र गीत गाउँदै जाँदा उनको आवाजमा निखार आउनुका साथै राम्रो संगीतकार पनि बन्दै गए । श्री जनता उच्च माध्यमिक विद्यालयबाट ०६५ सालमा एसएलसी उत्तीर्ण गरेपछि झापामा मात्रै संगीत सिकेर यो क्षेत्रमा परिपक्क हुने नठानेपछि औपचारिक रूपमै गीत संगीतमा तानिन काठमाडौं हानिएको उनले बताए ।
कलाकारहरूको जनघनत्व बढी भएको सहर काठमाडौं आएपछि अझै सबैसँग मित्रता गाँस्न पुगे विशाल । जब राजधानी छिरेपछि उनले सप्तरञ्जनी संगीत विद्यालयमा पुनः संगीतको अध्ययनमा लागिपरेको उनको भनाइ छ । आधुनिक र चलचित्रका गरेर करिब आधा दर्जनको हाराहारीमा गीत गाएको र ५ सयभन्दा बढी गीतमा शब्द सिर्जना गर्नुका साथै आफँैले संगीत तथा एरेन्ज गरेर बजारमा उतारिसकेको दाबी गर्छन् विशाल निरौला ।
कलाकारिताबाटै आफ्नो जीवनयापन गर्न सक्ने अठोट लिएर यही क्षेत्रमा भविष्य खोजेका उनी युवा विगत तीन वर्ष अघिबाट काठमाडौंस्थित अनामनगरमा आफु एक्लैले ‘अलंकार’ नाम गरेको रेकर्डिङ स्टुडियो सञ्चालन गर्दै आइरहेका छन् । आधुनिक, चलचित्र, लोकदोहोरी लगायतका गीत उक्त स्टुडियोमा रेकर्ड हुने उनी बताउँछन् ।
कलाकारहरू र रेकर्डिङ स्टुडियोले भरिपूर्ण रहेको काठमाडौंमा एक्लै यसरी स्टुडियो सञ्चालन गरेको भने कमै मात्रामा भेटिन्छ । ‘धेरै जनाको सहकार्यमा सञ्चालन गर्नुभन्दा जे जसो परे पनि कुनै चिन्ता नहुने र समस्या आइलागे पनि आफैँले सामाधान गर्न सहज भएकाले मैले मात्रै चलाएको छु’, संगीतकार निरौलाले भने ।
भाडाको घरमा एक फ्लाट लिएर स्टुडियो सञ्चालन गरेका विशालले सबै खर्च कटाएर महिनामा कम्तीमा पनि रु डेढ लाखसम्म आर्थिक रकम बचत गर्दै आइरहेको जिकिरे गरे । यहीँबाट राम्रो आर्थिक आम्दानी गर्दै आएका उनले अरू कुनै व्यवसायमा नलागेको बताउँछन् । बिहानदेखि बेलुकासम्म निरन्तर स्टुडियोमै व्यस्त रहँदै आएका छन् ।
दिनहुँ गीत रेकर्ड गर्नदेखि लिएर त्यहाँ हुने सुविधाको कारण कलाकारहरूको आउने जाने भिड लाग्ने गर्दछ विशालको ’अलंकार’ स्टुडियोमा । बाल्यकालदेखिको आफ्नो रोजाइ भएकाले यस क्षेत्रलाई अंकमाल गर्दै आएका उनी आफुले सुरुमा सोचेभन्दा बढी सन्तुष्ट रहेको बताउँछन् ।
आफ्ना परिवारका कोही पनि सदस्य सांगीतिक क्षेत्रमा नभएको निरौला परिवारबाट एक्लै भए पनि होमिएका विशालको प्रगतिमा अहिले गाउँ–समाजका सबै व्यक्ति तथा पारिवारिक सदस्यहरू खुसी रहेका छन् । साथीभाइहरूबाट पनि साथ र सहयोग पाइरहेकोमा उत्साहित देखिएका छन् विशाल ।
यस गायन, संगीतकार र एरेन्जरबाहेक अरू व्यवसायमा नलागेर आफ्नो जीवन नै यसैमा समर्पित गर्ने उनले जनाए । समय र प्रविधिको विकाससँगै यतिबेला कलाकार बन्नेहरूमा होडबाजी चलिरहेको छ । २५ वर्षीय अविवाहित विशालले एक दशकदेखि एक्लै राजधानीलाई कर्मथलो बनाएर आयस्रोतमा समेत सफल बन्दै गीत संगीतमा अझै तानिँदै छन् ।
पहिलाको तुलनामा नेपाली गीत संगीतका पाटाहरूमा फराकिलो बन्दै गएको समयको माग र प्रविधिको विकासले नयाँपनको सुरुआत भएको संगीतकार विशालले जिकिर गरे । सबै कलाकारले पुरानो पुस्तामा मात्रै ध्यान दिने हो भने समय परिवर्तनअनुसार नयाँ पुस्ताको थालनी कहिल्यै हुन नसक्नेमा उनले दाबी गरे । पुरानो पुस्तालाई पनि बचाइ राख्नु पर्ने र नयाँ परिवेशलाई पनि अगाडि बढाउनुपर्छ भन्ने सोच सबै कलाकारको हुनुपर्ने उनको भनाइ छ ।
प्रतिक्रिया