तरुण दलको विरोध प्रदर्शन

पोखरा । नेपाल तरुण दलले पोखरामा सरकारको विरोध गर्दै विशाल जुलुस निकालेको छ ।

नेपाल तरुण दल केन्द्रीय कार्य समितिको आयोजनामा देशका सात वटै प्रदेशमा सरकारविरुद्ध विरोध प्रदर्शन गर्ने घोषित कार्यक्रम अनुसार शुक्रबार गण्डकी प्रदेशको राजधानी पोखरामा जुलुस सहितको ¥याली प्रदर्शन गरेको हो । पोखराको चिप्लेढुंगाबाट सुरु भएको र्याली न्यूरोड हुँदै पृथ्वी चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभामा तरुण दलका केन्द्रीय अध्यक्ष जीतजंग बस्नेतले सरकारले मुलुकमा नीतिगत भ्रष्टाचार र कर आतंक बढाएको आरोप लगाएका छन् । उनले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सरकार ज्यादती र दम्भको बाटोमा हिँडेको आरोप लगाए । ‘निर्मला पन्तको बलत्कार भएको यतिका समय बितिसक्यो,’ बस्नेतले भने, ‘यदि निर्मलाको ठाउँमा गृहमन्त्री बादलको छोरी, प्रचण्डको छोरी भएको भए आज के हुन्थ्यो ? सरकारको निर्मला पन्तको वास्तविकता पत्ता नलगाउँदा थुप्रै आशंका उब्जाएको बताए ।

त्यस्तै तरुण दलले चिकित्सा विधेयक पारित गरेकोमा पनि आपत्ति जनाएको छ । उसले सरकारले गोविन्द केसीका जायज माग र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले लिएको अडानका विरुद्ध संसद्बाट जवरजस्ती शिक्षा विधेयक पारीत गरेकोमा समेत आपत्ति जनाएको छ।
तरुण दलका अध्यक्ष बस्नेतले पर्यटन मन्त्री रबिन्द्र अधिकारीले वाइडबडी प्रकरणमा भ्रष्टचार गरेको आरोप लगाए ।

‘रबिन्द्र अधिकारीज्यू स्ववियू सभापति हुँदा म सदस्य थिएँ । मैले सधैँ उहाँप्रति दाइको व्यवहार गर्थे, उहाँलाई मान्थे । वाइड बडी घोटलापछि उहाँलाई म सम्मान होइन, घृणा गर्छु’, उनले भने । मेरो श्रद्धा म¥यो पोखरा आएर दाइ भनेर पनि फोन गर्दिनँ ।’

तरुण दलका महासचिव भूपेन्द्रजंग शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिंहदरबारबाट घचेट्ने वेला आएको बताए । सरकारलाई जति गाली गरे पनि कमै हुने उल्लेख गर्दै सिंहदरबाटै निकाल्नुपर्ने उनको भनाइ थियो । गण्डकी प्रदेशका विभिन्न जिल्लाका तरुण नेताहरूले वर्तमान सरकारले देशको विकास गर्न नसक्ने बताए । कांग्रेस सरकारले गरेका निर्णयहरू उल्ट्याएको भन्दै उनीहरूले आक्रोश पोखेका थिए ।

तरुण दलको अगुवाईमा सरकारविरुद्ध गरिएको प्रदर्शनमा गण्डकी प्रदेशका विभन्न जिल्लाका पार्टीका पदाधिकारी, कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि, भ्रातृ संस्थाका कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

सहभागीले ‘भ्रष्टचारीलाई कारवाही गर, निर्मला पन्तको बलात्कारीलाई कारवाही गर, वाइडबडी घोटला सार्वजनिक गर’ जस्ता नारा लगाएका थिए । प्रदर्शनका कारण बिपिचोकदेखि सभागृहचोक, पृथ्वीचोक, नयाँबजार लगायतका स्थानहरूको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको थियो ।

प्रतिक्रिया