ऐतिहासिक बरुण नदीको अस्तित्व खतरामा

संखुवासभाको भोटखोला गाउँपालिकामा रहेको ऐतिहासिक बरुण नदीको संरक्षण नहुँदा अस्तित्व गुम्ने खतरा बढेको छ । परापूर्व कालमा अलौकिक शक्तिसमेत रहेको भनिएको नदीको संरक्षण हुन नसक्दा यसको महत्व गुम्ने खतरा बढेको हो । राष्ट्रिय गौरवको आयोजना उत्तर–दक्षिण कोशी राजमार्ग (किमाथांका सडक) को निमाणसँगै बरुण नदीको अस्तित्व भने खतरामा परेको छ ।

यतिवेला बरुण नदी सडक निर्माण गरेर फालिएका ढुंगा र बालुवाले भरिएको छ । भक्तजनहरूले पूजा गर्ने पोखरीमा नै डोजर लगाइएको छ । यसरी पौराणिक महत्व बोकेको नदीको अहिले संरक्षण नहुँदा भोलि आहालमा परिणत हुने सम्भावना रहेको स्थानीय नागरिकहरू बताउँछन् । नदीको संरक्षण गरी पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न सके स्थानीयको राम्रो आयस्रोत बन्न सक्ने भोटखोलाका मुटुक भोटेले बताए ।

बरुण नदीका विषयमा जानकार ताराबहादुर बुढाथोकीका अनुसार सत्य युगमा जलका देवता इन्द्रले संरक्षण गरेका चारवटा दिक्पालहरूमध्ये दोस्रो द्वारपालका रूपमा बरुणलाई लिएको धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ । इन्द्रको पहिलो द्वारपाल कुबेर र तेस्रो द्वारपाल यम हुन् भनिएको छ । यसरी जलका देवताले द्वारपालका रूपमा स्थापित गरेको बरुण नदी देवताहरूको युद्धको अस्त्र अर्थात् बरुणास्त्र भनेर पनि चिनिएको छ ।

बरुणमा देवताहरूको बास भएकै आधारमा तिनका शिरमा शिव पार्वती, शिवधारा, दुध पोखरी, बरुण पोखरी, बरुणेश्वर महादेव लगायतको सिर्जना भएको कथन छ । सत्य मात्र बोल्न जान्ने राजा हरिश्चन्द्रको कथामा बरुणसँग छोरो बर मागेको र उनको भाग्यमा नभएको पुत्रसमेत दिन बरुणजी आफू तयार रहेको तर भाग्यमै नभएको हुनाले पछि उनै बरुणले फिर्ता लिन चाहेर लगेको कुरासमेत धार्मिक ग्रन्थमा उल्लेख भएको पाइन्छ ।

गोमुख गंगाको शिर बरुण नदी नै भएका कारण ८४ हजार पितृको उद्दारका लागि शिवजीले जटा फिँजाएर गङ्गाबाट सेचन लिएको स्थान बरुण नदी भएको समेत वेद पुराणमा पनि उल्लेख गरिएको छ । त्यसैगरी, भोटे सम्प्रदायमा बरुण ठेनेम्बा र हटिया ठेनेम्बा भनेर चिचिने दुईवटा छाँगाहरू पनि सोही नदीमा रहेका छन् । यो नदीलाई पत्थर चिरेको नदी भनेर समेत चिनिन्छ । सौर्य मण्डलको ग्रहरूमा बरुण ग्रहसमेत भएको हुँदा यस नदीको उत्पतिमा ब्रह्माण्डको समेत सम्बन्ध रहेको देखिएको सहित्यकारसमेत रहेका ताराबहादुर बुढाथोकीले बताए ।

सो बरुण नदीमा माघ १ गतेका दिन मकर नुहाउने गरिन्छ । जिल्ला तथा जिल्ला बारिहका दर्शनार्थीहरू सो नदीमा मकर नुहाउन पुग्ने गरेका छन् । माघे संक्रान्तिमा दुई नदीको संगम स्थलमा नुहाउने परम्पराअनुसार सो ठाउँमा मकर नुहाउने चलन पनि रहिआएको छ । जहाँ अरुण र बरुण नदीको संगमस्थल हो । यस्तो धार्मिक तथा पर्यटकीय महत्व बोकेको बरुण नदीको अस्तित्व नै खतरामा पर्दा स्थानीयले चिन्ता गरेका छन् ।

गतवर्ष बरुण नदीको शिरमा रहेको लाङमाले ताल फुटेर बाढी आएपछि बरुण नदीको अकारमा परिवर्तन भएको थियो । सो नदीको पानीको रंगसमेत अन्य नदीको भन्दा फरक निलो रंगको रहेको छ । अहिले सो पानीको रंग भने बिस्तारै पहिलेकै अवस्थमा फर्कन थालको छ । तर, सोही क्षेत्रबाट सडक निर्माण हँुदा पानीको रंगमा परिवर्तन आउन सक्ने स्थानीयले आश गरेका छन् । ताल फुटेर बाढी आउनु र सडक निर्माणसमेत सोही ठाउँमा सडक खोलिनुले नदीको थप आकार परिवर्तन भएपछि भक्तजनको मनमा खल्लोपना उब्जिएको छ भने धार्मिक आस्थाको धरोहर कमजोर बन्दै गएको छ ।

सो नदीको किनारमा माघ १ गते लाग्ने मकर मेला, भोट क्षेत्र र तल्लो क्षेत्रका बासिहरूबीचमा भेटघाट गर्ने मुख्य थलोको रूपमा लिइने गरेको छ । सो मेला तथा बरुण नदीलाई हिन्दू तथा बौद्धधर्मावलम्बीहरूले उत्तिकै महत्वका साथ हेर्ने गर्दछन् । अरुण र बरुण नदीलाई मामा र भाञ्जाको समेत संज्ञा दिएको पाइन्छ ।

अर्थको नाममा इतिहास र ऐतिहासिक महत्वको मौलिक पहिचानको अस्तित्व खलल पार्ने किसिमबाट भएका गतिविधिहरू कुनै हालतमा सम्मान योग्य हुन नसक्ने स्थानीयहरूले बताउँदै आएका छन् । उनीहरूले भन्ने गरेका छन् धर्म, काम र मोक्षका लागि देश विदेशबाट आउने धर्मावलम्बीहरूको ताँतीलाई व्यवस्थापन गर्नुको त कुरै छोडौँ भएको ऐतिहासिक धर्मको धरोहरमा दाग लगाएर तितरबितर पार्न खोजियो ।
विद्युत् उत्पादनमा स्थानीयबाट विरोध

ऐतिहासिक मौलिक पहिचान बोकेको धार्मिक क्षेत्र बरुण नदीबाट बिजुली उत्पादन गर्न नदिने भन्दै स्थानीयले विरोध गरेका छन् । तल्लो बरुण खोलाबाट १ सय ३२ मेगावाटको जलविद्युत् आयोजना निर्माण गर्न त्यसको वातावरणीय प्रभाव मूल्यांकन भन्दै जलविद्युत् निर्माण कम्पनी एमपिक इनर्जी प्रालिको आयोजनामा गत मंसिर २२ गते हुने सार्वजनिक सुनुवाइ कार्यक्रमसमेत स्थानीयले गर्न दिएनन् ।

बरुण नदीको आफ्नै मौलिक पहिचान रहेको भन्दै यो नदीबाट कुनै पनि हालतमा कुनै पनि किसिमको जलविद्युत् आयोजना निर्माण गर्न नहुने स्थानीयहरूको भनाइ छ ।

भोटखोला गाउँपालिकाका स्थानीयसँगै भोटे जनजाति सेवा संघ जिल्ला कार्य समिति संखुवासभा, भोटे जनजाति सेवा संघ भोटखोला गाउँ कार्य समिति र भोटखोला स्पोर्टिङ क्लबले अलग–अलग प्रेस विज्ञप्ति जारी विद्युत् उत्पादनको विरोध गरेका छन् । स्थानीयले बरुण बचाऊ संघर्ष समिति समेत गठन गरेर त्यसको विरोधमा उत्रिएको संघर्ष समितिका सदस्यहरू भोटखोला–४ का उत्तर राई र सञ्जय खालिङले जानकारी दिए ।

अर्थको नाममा इतिहास र ऐतिहासिक महत्वको मौलिक पहिचानको अस्तित्व खलल पार्ने किसिमबाट भएका गतिविधिहरू कुनै हालतमा सम्मान योग्य हुन नसक्ने र लाभका हिसाबबाट पनि प्रभावकारी नहुने बरुण बचाऊ संघर्ष समितिका संयोजक छेरुक शेर्पाले बताए । विद्युत् उत्पादन गर्दा नदी क्षेत्र क्षतविक्षत हुने भएको हुँदा बरुण नदीबाट विद्युत् निकाल्न नहुने ताराबहादुर बुढाथोकीले बताए । उनले यसको संरक्षण गर्नुपर्नेमा जोड दिए ।

बरुण नदीको पानीले हाइड्रोपावर सञ्चालन गर्ने विषय कहाँबाट कसले र कहिले उठान गरेको हो, स्थानीयले जानकारी नै नपाउने गरी छक्याएर सर्भे गरिएको कार्य आफूहरूलाई निन्दनीय भएको भन्दै बरुण नदीको मौलिक पहिचान जगेर्ना गरिने शेर्पाले बताए । स्थानीयले यस विषयमा माघे संक्रान्ति मेलाको अवसर पारेर बृहत् विरोध ¥याली आयोजना गर्ने बताएका छन् ।

प्रतिक्रिया