इन्काउन्टरमा कुख्यात अपराधी परेपछि…

रुपन्देही । प्रहरीले कुख्यात अपराधी केदार सहानी मुठभेडमा मारिएको जानकारी दिएको छ । शनिबार राति तस्करी हुन लागेको सूचनाको आधारमा प्रहरीले नाकामा चेकजाँच गर्ने क्रममा प्रहरीमाथी फायरिङ गरेपछि जवाफी कारवाहीमा एक व्यक्ति मारिएका थिए । तर, सो व्यक्ति को हुन् भनेर पत्ता लगाउनै प्रहरीलाई समय लाग्यो ।

अन्तत विभिन्न मुद्दामा फरार रहेका सिद्धार्थनगर नगरपालिका ६ का केदार साहानी प्रहरी इनकाउन्टरमा मारिएको प्रहरीले जानकारी दिएको हो । विभिन्न फौजदारी मुद्दामा प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका कुख्यात अपराधी साहानी इनकाउन्टरमा मारिएका हुन् ।

‘हामीले तस्करी हुन लागेको सूचना प्राप्त गरेपछि टोली खटाएका थियौँ’, रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) हृदय थापाले भने, ‘मोटरसाइकल आएका दुई व्यक्तिले एकाएक प्रहरी उपर फायरिङ्ग गरेपछि जवाफी कारबाहीमा साहानी मारिएका हुन ।’

दिउँसोसम्म एसपी थापाले मुठभेडमा एक तस्करको मृत्यु भएको बताउँदै आएका थिए । तर, साँझ सहानीका भाइ गोविन्द आएर सनाखत गरेपछि कुख्यात अपराधी मारिएको पुष्टि भएको छ । घटनामा एक प्रहरी जवानसमेत घाइते भएका छन । घाइते जवान कृष्ण श्रेष्ठको हातको दायाँ पट्टी गोली लागेको छ ।

‘अलिकति पनि दायाँबायाँ भएको भए मुटुमै गोली लाग्नेरहेछ’, अनुसन्धान अधिकारीहरु भन्छन, ‘हाल उनी खतरामुक्त छन ।’ सहनीमाथि ३ राउण्ड गोली लागेको छ । उनको साथबाट एक थान अटोमेटिक पेस्तोल र चेम्बरमा एक थान तथा म्यागजिनमा रहेको ३ थान गोली बरामद भएको छ ।

मोटरसाइकलमा सवार रहेका दुई जनामध्ये एक जना फरार भएको उनको भनाइ छ । उनीहरु सवार युपी ५३ एच २०२८ भारतीय नम्बर प्लेटको मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ । मारिएका साहानी विगतमा तत्कालीन नेकपा माओवादीसँग आवद्ध थिए । त्यसपश्चात उनी जनतान्त्रिक तराई मुक्ति मोर्चा आजाद समूह (भूमिगत समूह) प्रवेश गरी चन्दा आतंकमा सक्रिय थिए ।

साहानी उपर कर्तव्य ज्यान, बम विस्फोट, चन्दा–फिरौतीलगायत मुद्दा रहेका छन । उनले २०७१ साल भदौ २८ गते भैरहवाका आकाश गुरुङ्गलाई अपहरण गरेका थिए । अपहरण गरेर परिवारसगँ एक करोड रुपैयाँ फिरौती मागेपछि परिवारले दिन नसक्ने बताउँदा नवलपरासीको बर्दघाट जंगलमा असोज ११ गते गुरुङको शव फेला परेका थियो ।

प्रतिक्रिया