भक्तपुरका औषधि पसलमा चरम लापरबाही

भक्तपुर । भक्तपुरको विभिन्न औषधि पसलमा गरेको अनुगमनका क्रममा औषधि पसलले व्यापक लापरबाही गरेको पाइएको छ ।

भक्तपुर नगरपालिका, अनुगमन समितिका संयोजक एवं वडा–३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा भक्तपुर अस्पताल, मानव अंग, क्यान्सर अस्पताल रहेको दूधपाटी क्षेत्रमा सञ्चालित १० वटा औषधि पसलमा गरिएको अनुगमनका क्रममा औषधि पसल सञ्चालकले मानवीय स्वास्थ्यमाथि खेलबाड गर्दै लापर्वहीरुपमा पसल सञ्चालन गरेको पाइएको हो ।

यसअघि गरिएका अनुगमनमा पनि यस्तै लापरवाही गरेको पाइएको थियो । अनुगमनका क्रममा सिद्धपोखरी क्लिनिक, डोलेश्वर फर्मा, अल्फाज मेडिकल हल, भक्तपुर अस्पतालको बिमाको औषधि दिने पसलसमेत दर्ता नगरी सञ्चालन गरेको पाइएको छ ।

यस्तै, दूधपाटीस्थित बोय्जु फार्मेसी, प्राइम डेण्टल क्लिनिक, उत्तम मेडिकल हल, डोलेश्वर फर्मा लगायतले पनि अनुमति प्राप्त व्यक्ति नबसेको तथा आउने डाक्टरको बोर्ड नराखेको पाइएको छ । केही फर्माले वैशाख ३१ गते गरेको अनुगमनमा दर्ता नगरी सञ्चालन गरेको पाइएपछि तत्काल दर्ता गर्न निर्देशन दिएको निर्देशन अझैसम्म पालन नगरेको, एउटा नामको औषधिको बट्टामा अर्कै नामको औषधि राखेको पाइएको समितिले जनाएको छ ।

त्यस्तै, अल्फाज मेडिकल हललाई पनि गत वैशाख ३१ गतेको अनुगमनमा दर्ता गर्न सुझाव दिए पनि अटेर गरी सञ्चालन गरेको, भक्तपुर अस्पतालको बिमाको औषधि वितरण गर्ने पसलमा नगरपालिकामा दर्ता नगरेको, बिमाको सबै औषधि उपलब्ध नभएको पाइएको छ ।

अनुगमन टोलीले औषधि बिक्री गर्ने अनुमति प्राप्त व्यक्तिले मात्रै औषधि बिक्री गर्न, तत्काल पसल दर्ता गर्न, म्याद गुज्रेको औषधि पसलबाट तत्काल हटाउन र मानवीय स्वास्थ्यसँग खेलबाड नगर्न औषधि पसल सञ्चालकलाई निर्देशनसमेत दिएको छ । त्यसैगरी दूधपाटी क्षेत्रमा सञ्चालित विभिन्न पसलको अनुगमन गर्दा अवैध रूपमा सञ्चालन गरेको, म्याद नाघेको सामान बेच्न राखेको र मूल्यसूची समेत नराखिएको पाइएको थियो ।

प्रतिक्रिया