विद्यार्थीमा सिकाइ उपलब्धि खस्कँदो

अप्सरा गौतम, काठमाडौं । विद्यालय तहमा अध्ययनरत विद्यार्थीको सिकाइउपलब्धि निरन्तर खस्कँदो रहने गरेको पाइएको छ । पछिल्लो तीन वर्षमा विद्यार्थीमा सिकाइको उपलब्धि निरन्तर खस्कँदो रूपमा देखिएको हो । केन्द्रिय बालकल्याण समितिले तयार पारेको ‘नेपालमा बालबालिकाको स्थिति प्रतिवेदन ०७५’ मा विद्यालय शिक्षाको गुणस्तर क्रमिक रूपमा खस्कँदै गएकाले विद्यालयको अवस्था सुधार्न सुझाव दिइएको छ । तुलनात्मक संस्थागतभन्दा सामुदायिक विद्यालय र सहरी क्षेत्रका भन्दा ग्रामीण क्षेत्रका विद्यालयको सिकाइ उपलब्धि रूपमा खस्किएको देखाएको हो ।

प्रतिवेदनका अनुसार कक्षा ३ मा नेपाली विषयको विद्यार्थी सिकाइ उपलब्धि राष्ट्रिय औसत सन् २०१२ मा ६३ प्रतिशत रहेको थियो । जुन, सन् २०१५ खस्किएर ५२ प्रतिशतमा झरेको छ । सबैभन्दा बढी गणितमा ६० बाट ४५ प्रतिशतमा झरेको प्रतिवेदनमा उल्लेख छ ।

यसैगरी, कक्षा ५ को नेपालीमा सिकाइ उपलब्धि सन् २०१२ मा ६० रहेकोमा २०१५ मा ४६, गणितमा ५३ बाट ४८ तथा अंग्रेजीमा ५४ बाट ४७ प्रतिशत हुन आउनुले शिक्षाको गुणस्तर खस्कँदै गएको पुष्टि भएको उक्त प्रतिवेदनमा उल्लेख छ । कक्षा ५ र ८ मा सिकाइको गुणस्तरबारे लिने गरेको परीक्षाको नतिजाखस्किँदै गएको भन्दै प्रतिवेदनमा कक्षा ५ का विद्यार्थीसंग लिने गरिएको गणित, नेपाली र अंग्रेजी तीनै वटा विषयमा सिकाई उपलब्धि अघिल्लो तीन वर्षहरूमा समान रहेको देखिएको जनाइएको छ । तर, शैक्षिक सत्र २०७४ मा सबै विषयमा उल्लेख्य रूपमा घटेको देखिनुले शिक्षाको गुणस्तर घट्दै गएको स्पष्ट भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

कक्षा ८ का विद्यार्थीमा लिने गरिएको गणित, नेपाली र सामाजिक विषयमध्ये गणित र नेपाली विषयहरूमा सिकाइ उपलब्धि समान नै देखिएको छ भने सामाजिक विषयको सिकाई उपलब्धि खस्किएको देखिएको छ । ०७२ साल वैशाखमा गएको भूकम्पका कारण ९ हजार ३ सय ५३ विद्यालयका २२ हजार ४ सय १ कक्षाकोठा पूर्णरूपमा क्षति पुगेको, १४हजार २४ कक्षाकोठा आंशिक रूपमा र १८ हजार ९ सय ४२ कक्षाकोठा सामान्यरूपमा क्षतिग्रस्त भएको कारणले पठनपाठनमा नकारात्मक असर पर्ने भएकोले पनि विद्यार्थीको सिकाइ उपलब्धिमा कमी आएको हुनसक्ने अनुमान गरिएको छ ।

‘आर्थिक वर्ष ०७२÷७३ को अघोषित नाकाबन्दी र मधेस आन्दोलनबाट विद्यालय महिनौसम्म बन्द भई पठनपाठनमा नकारात्मक असर परेकोले समेत विद्यार्थीको सिकाइ उपलब्धिमा ह्रास आएको हुनसक्ने देखिएको छ’ प्रतिवेदनमा भनिएको छ । बालश्रम, बालविवाह, सडक बालबालिका, अन्याय तथा शारीरिक सजाय र हेपाइबाट प्रभावित बालबालिकाको समस्या उचित रूपमा सम्बोधन नगर्नु समेत चुनौतको रूपमा रहेको प्रतिवेदनमा उल्लेख छ ।

प्रारम्भिक बालविकास केन्द्रको संख्या बढ्दै गएको भए पनि भर्ना भएका बालबालिकाको संख्या भने कमी हुँदै आएको प्रतिवेदनले औँल्याएको छ । शिक्षा, स्वास्थ्यलगायत संरक्षणका विभिन्न आयामहरूमा र सम्बन्धित कार्यहरूमा बाल सहभागिताको विषयमा बालबालिकाको पहुँचमा उत्साहजनक रूपमा बृद्धि भएको देखिएको जनाइएको छ । समितिले हिंसा, दुव्र्यवहार र शोषणमा रहेका बालबालिकाको विषयलाई प्रभावकारी रूपमा समयमै सम्बोधन गर्नुपर्ने जनाएको छ ।

प्रतिक्रिया