जुम्ल्याहको मुटु र कलेजो एउटै

सुर्खेत । कालिकोटकी ललिता बुढाले मुटु र कलेजो एउटै भएका जुम्ल्याह छोरीलाई जन्म दिएकी छन् । रास्कोट नगरपालिका–५ की २८ वर्षीया ललिता बुढाले आइतबार दिउँसो जन्म दिएकी हुन् ।

उनीहरूको घाँटीदेखि कम्मरसम्म शरीरको भाग जोडिएको छ । चिकित्सकले शल्यक्रियामा करिब डेढ घण्टा खर्चिएर शरीर जोडिएको अवस्थामा दुई शिशु (छोरी) निकालेका हुन् । भिडियो एक्सरे गर्दा उनीहरूको मुटु र कलेजो एउटै रहेको अस्पतालका बालरोग विशेषज्ञ डाक्टर नवराज केसीले जानकारी दिए ।

उनले अब बालिकाहरूको शल्यक्रिया गरेर शरीर छुट्याउने सम्भावना कम भएको बताए । ‘मुटु फरक–फरक भएकाले अब शल्यक्रिया गरेर शरीर छुटाउने सम्भावना छैन भन्दा पनि हुन्छ’, डा. केसीले भने, ‘एउटै मुटु भएकाले श्वासप्रश्वास बढेको छ । आइसियुमा राखेर उपचार गरिरहेका छौँ ।’

शल्यक्रियाको नेतृत्व गाइनो सर्जन डा. राजीव साहको नेतृत्वमा भएको थियो । उनलाई डा. महेश पौडेल (जीपी रेजिडेन्ट)ले सघाएका थिए । एनेस्थेसियामा डा. रोविन खापुङ लागेका थिए । त्यस्तै, नर्सहरू ज्ञानु, रञ्जनासमेतको सक्रिय खटाइ थियो । त्यस्तै, प्याडियाटिक डा. नवनित रौनियार, डा. नामो शाक्य, नर्सहरू विनिता बस्याल, कल्पना थापा, सुस्मिता बिसी, हेना गुरुङलगायत शल्यक्रियापछिको उपचार तथा स्याहारमा खटिएका छन् ।

शिशुहरूको शरीरका भाग जोडिएको तर, मुटु र कलेजो एउटैमा रहेपछि समस्या देखिएको हो । यसअघि छाती जोडिएका भुटानका जुम्ल्याह शिशुको अस्ट्रेलियामा सफल शल्यक्रिया गरिएको थियो ।

मेलबर्नको रोयल बाल अस्पतालका चिकित्सकहरूले छाती जोडिएका निमा र दावा पाल्देनलाई शल्यक्रिया गरी छुट्याएका हुन् । उनीहरूको कलेजो पनि जोडिएको थियो । भिडियो एक्सरे गरेर हेर्दा छातीसँगै कलेजो पनि जोडिएको फेला परेपछि उनीहरूको ६ घण्टा लगाएर सफल शल्यक्रिया गरिएको थियो ।

चिकित्सकीय भाषामा कन्जोइन टुइन्स भनिने यस्तो केस अत्यन्त कम (करिब २ लाख जन्ममा) हुने बताइएको छ । डा. रवीन खड्काका अनुसार शरीर जोडिएका दुई शिशुको तौल करिब ५ केजी छ । ‘हेर्दा दुवै स्वस्थ देखिन्छन् । दुवै रुने कराउने गर्छन्, दुवैलाई स्तनपान सुरु भइसकेको छ’, डा. खड्काले भने ।

सुत्केरी हुने दिन नजिक हुँदै जाँदा केही दिनअघि बुढा दम्पती गर्भजाँचका लागि जिल्ला अस्पताल कालिकोट पुगेका थिए । त्यहाँ भिडियो एक्सरे गर्दा अस्वाभाविक केस देखेपछि सुर्खेत अस्पतालका लागि रिफर गरेका थिए । नेपालमा यसअघि टाउको जोडिएका शिशुहरूको जन्म भएको थियो ।

तर, मुटु कलेजो एउटै हुने गरी शरीर जोडिएको शिशुको जन्म भएको भने सुनिएको थिएन । ‘सम्भवतः यो पहिलो शिशु हो कि ?’ डा खड्काले भने । आर्थिक अवस्था कमजोर भएका कारण अहिले बुढा परिवारलाई उपचार खर्च जुटाउन गाह्रो भएको छ । डाक्टरहरूका अनुसार बुढा परिवारले उपचार खर्च जुटाउन नसकेपछि डाक्टरहरूले नै उठाएर उनको उपचार गर्दै आएका छन् ।

प्रतिक्रिया