किन यौनकर्मीकहाँ धाउन थालेँ ?

२८ वर्षको उमेरमा पहिलोपटक मैले कुनै महिलालाई स्पर्श गरेको थिएँ । मेरो लागि त्यो अविस्मरणीय रात थियो । जसलाई आजसम्म पनि भुल्न सकेको छैन । म जुन ईच्छा पूरा गर्न त्यहाँ गएको थिएँ त्यो इच्छा पूरा भइरहेको थियो । त्यसैले म प्रसन्न थिएँ, कुनै युद्ध जितेजस्तै । त्यो पहिलो अनुभव एक हप्तासम्म मेरो मस्तिष्कमा घुमी रह्यो ।

के–के न बहादुरीजस्तै गरी । साँच्चै मलै आफूलाई ठूलै काम गरेको महसुस गरिरहेको थिएँ । त्यो रात यता मैले आफूलाई बेग्लै संसारमा भएको जस्तो अनुभव गरिरहेको थिएँ । नहोस् पनि किन ? यो उमेरसम्म मेरो बिहे भएको थिएन । सामान्यतया मेरो उमेरमा केटा मान्छेको बिहे भइसकेको हुन्थ्यो । कतिका त भन्ट्याङ भुन्टुङसम्म हुन्थे ।

म भने अविवाहित नै थिएँ । मेरो गृहनगर गुजरातमा पुरुषको तुलनामा महिलाको संख्या निकै कम छ । महिला र पुरुषबीच रहेको जनसंख्याको असन्तुलनको खाल्डोले मजस्ता कैयौँ युवालाई बिहे गर्ने अवसरबाट वञ्चित तुल्याएको छ । मेरो उमेरमा बिहे नभकै कारण मेरा आमाबुवाले थरीथरीका कुरा सुन्नु पर्यो ।

उदाहरणका लागि यदि, तपाईंका छोरा सरकारी जागिरे भएको भए केटी जति पनि पाइन्थ्यो, केटी खाजेर मात्रै हुन्छ ? छोराको जागिर भरपर्दो हुनुपर्यो नि ! जस्ता कुरा उहाँहरूले धेरै सुन्नुपर्यो । गाउँलेको सोचमा निजी कम्पनीमा काम गर्ने जागिरे नै होइनन् भन्ने थियो । उनको कमाइसँग पनि उनीहरू सरोकार राख्दैनन् थिए । त्यसैले वेलावेला भन्थे, ‘निजी जागिरको के भरोसा ? कति वेला जागिर जान्छ भर हुँदैन । अनि तपाईंहरूको जग्गा जमिन र आम्दानीको स्रोत पनि त पनि त धेरै छैन ।’

अनि कसरी पाइन्छ बुहारी ? गाउँलेले त्यस्तो भनिरहँदा मेरो मासिक तलब ८ हजार भारु थियो । म घरको जेठो छोरा थिएँ र मेरो बिहे हुन सकिरहेको थिएन । गाउँलेको भनाइ र आफ्नो अवस्थाका कारण मलाई लाग्थ्यो कतै बिहेको टुंगोसम्म भइदिए समाजमा हाम्रो इज्जत जोगिहाल्थ्यो कि ? मेरै कारण बुवाआमाले गाउँलेको भनाइ सुन्नु पर्दैन कि भन्ने कुराले वेलावेला मलाई पोल्थ्यो । मेरा चारजना मिल्ने साथी थिए । हामी सबै प्रायः नजिकको सहरमा रक्सी खान जान्थ्यौँ ।

सदा झैँ सम्भवतः त्यो दिन एक साथीले मेरो तनाव महसुस गरेको हुनुपर्छ । गिलासमा रक्सी हाल्दै उनले भने, ‘किन यति तनाव लिन्छौ ? तिमीले बिहे गरिहाल्यौ भने पनि यति मज्जा लिन सक्दैनौ । दुनियाँ रंगीन छ, मज्जा लिऊ । ल जाऊँ मसँग म तिमीलाई रमाइलो गर्ने ठाउँमा लैजान्छु । म जुन कुराको तनावमा थिएँ, साथीले बुझेको थियो । साथीले पटकपटक आग्रह गरेपछि अन्ततः हामी एउटा होटलमा गयौँ ।

मेरा लागि त्यो होटल नयाँ थियो । सायद, साथीहरूका लागि त्यो नयाँ थिएन । उनीहरूको कुरा सुन्दा त्यस्तो लाग्थ्यो । युवा अवस्थामा प्रवेश गरेसँगै साथीहरूसँग मिलेर मैले कैयौँ नीला चलचित्र हेरेको थिएँ । तर, वास्तविक जिन्दगीमा कुनै महिलाको सम्पर्कमा गएको त्यो पहिलोपटक थियो । त्यसपछि त होटल जाने र रमाइलो गर्ने बानी बस्यो । त्यसपछि पाँच वर्षसम्म यो क्रम चलिरह्यो ।

आफूलाई आनन्द दिलाउने त्यो एउटा सजिलो बाटो थियो मेरा लागि । एक प्रकारले त्यो आदत (अम्बल) जस्तै भइसकेको थियो । मेरो नियमित जाऊ÷आऊ समाजमा लामो समय लुक्ने कुरै थिएन । अझ पाँच वर्ष भइ सकेको थियो । एक दिन मेरो हरकत बुवाको कानसम्म पुग्यो । सायद कसैले उहाँलाई तेरो छोरा फलानो ठाउँमा जान्छ भनेर सुनाइ दिएको हुनपर्छ । बुबालाई मप्रति विश्वास थियो ।

छोराले त्यतिसम्म गर्ला भनेर कल्पनै गर्नु भएको थिएन । आफूले विश्वास गरेको जेठो छोराको क्रियाकलाप थाहा पाएर उहाँको रिस उत्कर्षमा पुग्यो । मप्रति बुबाले हात उठाउन सकिरहनुभएको थिएन, तर आक्रोश भने कडा थियो । अतः कराएर आफूलाई शान्त पार्ने प्रयास गरिरहनुभएको थियो । ‘तिमीलाई लाज लागेन त्यस्तो गर्दा ?

आफ्नी आमा र दिदीको बारेमा पनि एकचोटि सोचेको भए पनि हुन्थ्यो, नि, त्यस्तो काम पनि गर्ने हो ?’ मेरो कमजोरी थाहा पाएर आमा र दिदी रोइरहनुभएको थियो । भिनाजुको परिवारलाई पनि मेरो बारेमा थाहा भयो । सायद, मेरो कारण समाजमा उहाँको शिर निहुरिएको हुनुपर्छ । जसका कारण उहाँमा आक्रोश थियो । अरू रोइरहेका थिए ।

मैले बुबालाई ढाटेँ । आफू चोखिने प्रयास गर्दै भने, साथीहरूले मलाई रक्सी खुवाएर होटल लगेका थिए र बेहोसीमा के–के भयो त्यो थाहा भएन भनेर मैले सफाइ दिएँ । गल्ती भयो अब गर्दिन भन्दै परिवारसँग माफी पनि मागेँ । उहाँले मेरो कुरा पत्याउनु भएन र भन्नु भयो । एकपटक त साथीहरूले त्यसरी लगे होलान, उसो भए यतिका वर्षसम्म त्यो गल्ती किन दोहोर्याई रह्यौ त ?

बुबाको यो प्रश्नको उत्तर मसँग थिएन । वास्तवमा उहाँले जे भन्नु भएको थियो त्यो साँचो थियो । छेउमा बसेर दिदी र भिनाजु पनि मलाई कराइरहनु भएको थियो । उहाँको परिवारमा पनि मेरो कारण तनाव भएको हुनुपर्छ । मैले आफ्नो कारण परिवारमा त्यस्तो अवस्था आउला भनेर सोचकै थिएनँ ।

त्यहाँ जानु र रमाइलो गर्नुलाई त्यस दिनसम्म सामान्य ठानेको थिएँ । उहाँहरूको कुरा सुनेर यस्तो लागिरहेको थियो मानौँ मैले कसैको हत्याजस्तो ठूलो अपराध गरेको छु । त्यसपछि दुई दिनसम्म बुबा मसँग बोल्नुभएन । तेस्रो दिन उहाँले भन्नुभयो, ‘एक विधवासँग तेरो बिहेका लागि प्रस्ताव आएको छ ।

ती महिलाको पाँच वर्षको छोरा छ र महिला राम्रो परिवारकी हुन् ।’ महिलाका बुबालाई तिम्रा कर्तुतबारे थाहा छ, तर पनि तँलाई उनको छोरी दिन तयार छन् । अब तिमी पनि ३१ वर्षको भई सक्यौ । यो प्रस्तावलाई स्वीकार गरिदेऊ ।’ अहिले त तिमी पनि राम्रै कमाउँछौ । गृहस्थी जीवन थालिहाल, खुसी रहन्छौ ।’ अब त्यसरी हुँदैन ।

बुबाले बिहेको प्रस्ताव गर्दा मेरो मनमा भने अरू नै कोही बसी सकेको थियो । मैले मन पराएको युवती त्यही होटलमा काम गर्थिन, जहाँ म यौनकर्मी भएर जाने गर्थेँ । उनी होटलमा हाउस किपिङ अर्थात् सरसफाइलगायतका काम गर्थिन् । पैसा थोरै कमाउँथिइन् । तर, उनीमा एउटा कुरा थियो, उनी हाँस्दा साह्रै राम्री देखिन्थिन् ।

सायद, मलाई उनको त्यही हाँसोले तानेको थियो र मैले उनलाई मन पराएको थिएँ । । मैले उनलाई मन पराएँ पनि उनी भने मेरो कृत्यलाई लिएर असन्तुष्ट थिइन् । उनलाई मेरो बानी मन परेको थिएन । उनले मेरो चालचलनका कारण मसँग बिहे गर्न अस्वीकार गरिन् । मलाई अस्वीकार गरेर उनले अरू कसैसँग बिहे गरेपछि मलाई ठूलो पीडा भयो ।

म आफूलाई अधुरो अधुरो लाग्न थालेँ । त्यो अधुरोपन थियो कसैको साथको जसले मेरो भावनालाई बुझोस् र मलाई जीवनभरि साथ देओस् । वैवाहिक जीवनको कमी मलाई खट्किन थाल्यो । मेरो बिहे नभएको र मेरो चालचलनका कारण परिवारलाई पनि समाजमा गाह्रो भइरहेको थियो । सबै अवस्था बुझेपछि अतः मैले घर छाडेँ ।

मेरो बिहेलाई लिएर प्रश्न ज्यूँको त्यूँ थियो र घरका सबैजना मेरै कारण तनावमा थिए । समाज नै यस्तो छ । अरूलाई चोट पुग्ने प्रश्न सोधेर मानिसहरूले स्वाद मान्छन् । यसपटक मैले सधैँका लागि घर छाड्ने निधो गरेँ । नयाँ ठाउँ, नयाँ मानिसहरू तर मेरो पुरानै बानी । कहिले छिमेकमा बस्ने महिला त कहिले छिमेकी सहरका महिलासँग मैले मन बहलाएँ ।

म कहाँ जान्छु भन्ने थाहा पाएपछि कैयौँपटक त मेरा हाकिम पनि मसँग गए । उनलाई ममाथि विश्वास थियो । आफ्नो गोपनियता खुल्दैन भन्ने । त्यसैले उनी लुसुक्क मसँग जान्थे । म अहिले ३९ वर्षको भएँ तर आफूलाई एक्लो महसुस गर्दिनँ । अब त मेरो परिवारले पनि सम्झौता गरिसक्यो ।

मभन्दा कान्छो भाइले एक आदिवासी महिलासँग प्रेमविवाह गरेको छ । म भने एक स्वतन्त्र चराजस्तै भएको छु । बिहेको सपना त्यागिसकेँ । अहिले मजस्तो जीवन बाँची रहेको छु त्यसमा कुनै पछुतो छैन । मलाई यो जिन्दगी नै ठीक लागिरहेको छ । अहिले मेरो मासिक तलब ४० हजार भारु छ ।

न कुनै कुराको कमी छ न त मलाई कुनै ग्लानी छ । न कसैको दबाबमा बस्नु परेको छ । न कोही रिसाउला वा कसैलाई फकाउनुपर्छ भन्ने टन्टा छ ।  परिवारले भनेको वेला बिहे भएको भए मेरो जिन्दगी कस्तो हुन्थ्यो थाहा छैन ।

तर, आज म समाजको घोचपेचदेखि धेरै टाढा छु । न मलाई कसैको वास्ता न अरूलाई मेरो । आफूले रोजेको र बाँचेको जीवनसँग खुसी छु । बिबिसीको सहयोगमा

प्रतिक्रिया