क्याभाना र फोर्डबीच आरोप प्रत्यारोप

वासिंगटन । अमेरिकी सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिश भएका ब्रेट क्याभानाले त्यहाँको सिनेट न्यायिक समितिसमक्ष आफूमाथि लगाइएको यौन आक्रमणको आरोपको कडा प्रतिवाद गरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिफारिश गरेका क्याभानामाथि प्राध्यापक क्रिस्टिन ब्लासी फोर्डले यौन हिंसाको आरोप लगाएसँगै संसदीय समितिमा क्याभाना र फोर्डको घण्टौँ लामो सुनुवाइ भएको थियो ।

पहिलो सत्रमा फोर्डले समितिमा उपस्थित भएर ३६ वर्षअघि अर्थात् आफू १५ वर्षको हुँदा क्याभाना र उनका साथीले मदिरा सेवन गरी कोठामा थुनेको, कपडा खोलेको, मुख थुनेको र बलात्कार नै गर्न खोजेको आरोप लगाइन् । उनले भनिन्, ‘त्यसबाट मलाई जीवनभर असर परेको, सुरुका वर्षहरूमा पढाइ बिग्रिएको र कसैलाई भन्नसमेत डर लागेको थियो ।’

बोली अवरुद्ध पार्दै आफ्ना कुरा संसद्समक्ष राखेकी प्राध्यापक फोर्डले सांसदहरूको प्रश्नको जवाफ दिँदै भनिन्, ‘म क्याभानालाई राम्रोसँग चिन्थेँ, आज पनि चिन्छु । तिनै क्याभानाले मलाई दुव्र्यवहार गरेकोमा म शत प्रतिशत विश्वस्त छु । मैले गल्ती गरेर अर्कै व्यक्तिको नाम लिइरहेको छैन ।’

‘म अत्यन्त भयभित छु’, फोर्डले भनिन्, ‘मेरो जीवनमा भएको यस घटनाका बारेमा जानकारी गराउनु नागरिक कर्तव्य सम्झेर म यहाँ आएकी हुँ ।’ रिपब्लिकन पार्टीका सांसदहरू अहिले क्याभानाको पक्षमा उभिएका छन् भने फोर्डलाई डेमोक्राट पार्टीका सांसदहरूले सहयोग गरिरहेका छन् ।

क्रोध मिश्रित तर निकै भावुक मुद्रामा प्रस्तुत भएका ब्रेट क्याभानाले फोर्डको आरोपको खण्डन गर्दै भने, ‘फोर्डले लगाएका आरोपको म समग्ररूपमा खण्डन गर्न चाहन्छु । मैले आजसम्म कसैलाई कहिल्यै यौन आक्रमण गरेकै छैन, स्कुलमा पनि गरिनँ, कलेजमा पनि गरिनँ र कहिल्यै त्यस्तो गरिनँ ।’

‘यो आरोप मात्र हो, म पूर्णतः निर्दोष छु’, क्याभानाले भने । क्याभानाले आफ्नो चारित्रिक हत्या गर्नेगरी मञ्चन गरिएको हास्यास्पद नाटक रहेको बताए । ‘मेरो परिवार र मेरो नाम क्रूरतापूर्ण र झुटो आरोपबाट तहसनहस भएको छ । यो सुनुवाई प्रक्रिया नै राष्ट्रिय लज्जाको विषय भइसक्यो ।’

क्याभानाले भने, ‘तर यो प्रक्रियाबाट म मेरो नाम फिर्ता लिन चाहन्न । तपाइँहरूले मतदानबाट बरु मलाई अस्वीकार गर्न सक्नुहुन्छ तर म पछि हट्ने छैन ।’ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्याभानाले आफ्नो भनाइ प्रष्टरूपमा राखेकामा खुसी व्यक्त गरेका छन् । ट्रम्पले क्याभानाको बयान सशक्त, इमान्दार र मन छुने रहेको बताए ।

राष्ट्रपति ट्रम्पले डेमोक्रेट पार्टीको एक इमान्दार व्यक्तिमाथि दोषारोपण ठीक नभएको बताउँदै क्याभानाको नियुक्तिमा ढिलाइ गर्न, अवरुद्ध गर्न यो प्रपञ्च भइरहेको दाबी गरे । उनले भने, ‘सिनेटले जतिसक्दो चाँडो मतदान गरोस् ।’

अमेरिकी सिनेटको न्यायिक समितिमा हाल ११ जना रिपब्लीकन र १० जना डेमोक्राट सदस्य छन् । सिनेटमा समेत रिपब्लीकनको ५१ र डेमोक्रेटको ४९ सिट छ । यद्यपि समितिले यो विषय कहिले टुंगो लगाउँछ भन्ने स्पष्ट भएको छैन ।

आगामी नोभेम्बरमा हुने अमेरिकी मध्यावधि चुनावमा यो संख्यामा फेरबदल हुने सम्भावना रहेकाले पनि डेमोक्रेटहरूले न्यायाधीश सुनुवाइलाई विलम्ब गरिरहेको आरोप छ ।

उनीहरूले फोर्डको आरोपका सम्बन्धमा अमेरिकी संघीय जाँच ब्युरो (एफबिआई) ले अनुसन्धान गर्नुपर्ने माग गरिआएका छन् । अमेरिकी सर्वोच्च अदालतमा नियुक्त हुने न्यायाधीश आजीवन उक्त पदमा रहने भएकाले पनि नियुक्तिमा विवाद हुने गरेको छ ।

प्रतिक्रिया