सरकारसँग सत्तारूढकै नेता असन्तुष्ट


काठमाडौं । सरकारको कामप्रति सत्तारूढ दलका शीर्ष नेताले आलोचना गरेका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा वरिष्ठ नेता माधव नेपालले ‘जुन जोगी आए पनि कानै चिरेका’ भन्दै सरकारको आलोचनागरे ।

निर्मला पन्तको बलात्कारपछिको हत्या लगायतका घटनाको प्रसंग उठाउँदै उनले यसमा छिटो परिणाम दिन ध्यानाकर्षण गराए ।

‘दोषी पत्ता लागेका छ कि छैनन्, गिरफ्तार भएका छन् कि छैनन् । मान्छे त्यो हेर्न चाहन्छन,

उनले भने,‘परिणाम दिइसकेपछि बल्ल हाम्रो पनि शिर ठाडो हुने थियो ।’ उनले कमसेकम जनताले के भनिरहेका छन् त्यसलाई सुन्ने प्रयास गर्न सरकारलाई सुझाव दिए ।

‘जनताले के भन्छन् भन्ने कुरा जवाफ दिनका लागि मात्र होइन महसुस गर्ने गर्नुहोस्, कहाँ छन् समस्या खोज्ने र समाधान गर्ने आँट गर्नुहोस्,’उनले भने,नातावाद, कृपावाद र अस्वस्थ खेलमा सरकार लाग्दा चोक चोकमा सरकारको व्यापक आलोचना भइरहेको छ ।’

जता गयो उतै आलोचना र खिसिट्युरी हुने अवस्था आएको भन्दै नेता नेपालले चिन्ता व्यक्त गरे ।  ‘छलफल गर्ने, सुन्ने बानी विकास गरेर राम्रो काम गर्दा साथ सहयोग प्राप्त हुन्छ, राम्रा गर्नुभएन भने सहयोग हुँदैन’ नेता नेपालले भने, ‘बजेट निर्माणदेखि अहिलेसम्मको कामको समीक्षा सरकारले गर्नुपर्छ ।’ अर्को अधिवेशनमा शिर ठाडो गरेर आउन उनले आग्रह गरे ।

‘हत्या हिंसाका घटना भइरहेका छन्, सरकार र मातहतका निकाय निरीहजस्तै छन्, नेता नेपालले भने, ‘मुलुकको राष्ट्रियता र भौगोलिक अखण्डतामाथि खुलेआम चुनौती दिने काम हुँदा गृह प्रशासन मौन छ ।’ यस्ता विषयमा सरकारले सुन्ने बानीको विकास गर्न जरुरी रहेको उनले बताए ।

सरकारका क्रियाकलापले सत्तारूढ दलकै नेता कार्यकर्ताहरूलाई लज्जास्पद बनाइरहेको नेता नेपालले असन्तुष्ट पोखे ।उनले मुलुकमा सुशासन कायम गर्दै भ्रष्टाचार मुक्त समाज निर्माण गर्ने लक्ष्यमा सरकारको निरीहता देखिँदै गएको, जनताको शिक्षा, स्वास्थ्य र रोजगारीको चाहाना सम्बोधन गर्न नसकेको तथा शान्ति सुरक्षाको प्रत्याभूति गर्न पनि असफल भएको टिप्पणी गरे ।

कालोसूचीमा परेका र आपराधिक कार्यमा संलग्न नै पुरस्कृत हुनु दुःखद भएको भन्दै उनले जनताको जायज र नाजायज मागको निक्र्योल गर्न सक्ने क्षमता सरकारले राख्नुपर्ने आै‌ल्याए । निजगढ विमानस्थल निर्माणका सम्बन्धमा रूख कटानको विषयमा पनि नेपालले असन्तुष्टि जनाए ।

राम्रो काम गर्दा बात नलाग्ने गरी गरियोस् भन्दै उनले नेपाललाई आत्मनिर्भर हुन नदिने षड्यन्त्रमा मुलुक फस्ने खतरा बढ्दै गइरहेको तथा सरकारी निकायमा स्वच्छ छविका, इमानदार र निष्ठावान व्यक्तिहरू राख्न नसकिएको, विभिन्न संवैधानिक निकायमा लामो समयदेखि पद रिक्त रहेको प्रति उनले सरकारको ध्यानाकर्षण गराए । दुईतिहाइको सरकारबाट जनताले ठूलो आशा र अपेक्षा राखेको भन्दै उनले मुलुकको हर समस्या समाधान गर्ने संकल्प र आँटका साथ अघि बढ्न सरकारलाई सुझाव दिए ।

नेपालले कार्यवाहक पाएनन्
सत्तारूढ नेकपाका दुवै अध्यक्ष केपी ओली र पुष्पकमल दाहालले कार्यवाहक अध्यक्ष कसैलाई नदिई विदेश भ्रमणमा निस्किएका छन् । ओली र दाहालको अनुपस्थितिमा यसअघि नेता नेपाललाई कार्यवाहक दिने गरेका थिए । ओली असोज ६ गते न्युयोर्क र दाहाल १० गते सिंगापुर गएका छन् ।

तर, कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकिएको पत्र केन्द्रीय कार्यालयबाट चलानी नभएको पार्टी स्रोतले जनाएको छ । शीर्ष वरीयताअनुसार तेस्रो नम्बरमा रहेका नेपालले कार्यवाहक अध्यक्षको जिम्मेवारी नपाएको नेपालनिकट स्रोतले जनाएको छ ।

प्रतिक्रिया