प्रधानमन्त्रीको निर्णय एकदम सही छ

सुवासचन्द्र नेम्वाङ
नेता, नेकपा एमाले
एमाले नेता सुवासचन्द्र नेम्वाङ कहिल्यै आफूलाई यो चाहिन्छ भनेर वकालत गर्दैनन् । नेतृत्वलाई सफल बनाउन सदैव लागि पर्छन् । पार्टीले दिएको जिम्मेवारी पनि कुशलतापूर्वक सम्पन्न गर्छन् । लामो समय सभामुख र संविधानसभा अध्यक्षका रूपमा सफल भूमिका निर्वाह गरेका नेम्वाङलाई धेरैले राष्ट्रपतिका रूपमा चर्चा गरे । तर, उनी आपैmँ भने आकांक्षीसमेत नरहेको बताउँछन् । एमाले–माओवादीबीचको एकता होस् वा मधेसी दलसँगको सहकार्यका लागि होस् उनैलाई जिम्मेवारी दिइने गरिएको छ । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका निकट सहयोगीको भूमिकामा रहेका नेम्वाङ नेतृत्वको योजना कार्यान्वयनमा लाग्नु अहिले सबैको दायित्व रहेको बताउँछन् । सबैलाई सन्तुलन मिलाउन सक्ने र भविष्य भएका नेताका रूपमा हेरिएका नेम्वाङसँग मन्त्रिपरिषद् बिस्तार, पार्टी एकीकरण र सरकारको आगामी बाटोको विषयमा सौर्यकर्मी टंक खनालले लामो कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको मूल अंश ।

सरकारले पूर्णता पाउँछ भनिएको थियो । तर, चार मन्त्रीलाई मात्र शपथ खुवाइयो नि किन ?
सरकार विस्तारका विषयमा दलहरूबीच छलफल र तयारी चलिरहेको छ । यसैबीचमा चार जना मन्त्री थपिएका छन् । अरू बाँकी मन्त्री पनि चाँडै थपिन्छन् । यो एकदमै स्वभाविक कुरा हो । पूर्णता भनेको सापेक्ष कुरा हो । त्यसैले समयमै यसले पूर्णता पाउँछ ।

सञ्चारमाध्यममा त दोस्रोपटकको विस्तारले नै सरकारले पूर्णता पाउने झल्को दिएको थियो नि ?
यो अहिलेको गठबन्धनमा अरू दल पनि सहभागी गराउने तयारी भइरहेको छ । त्यसैले केही समय लिइएको हो । समृद्धिका लागि सरकारले काम गर्ने भएकोले अरू दललाई पनि ल्याउनका लागि समय लिइएको हो ।

गैरराजनीतिक व्यक्तिलाई मन्त्री छनोट गर्दा एमालेभित्रै असन्तुष्टि बढायो भन्ने कुरा पनि छ नि ?
त्यस्तो मैले सुनेको छैन । सही व्यक्तिलाई सही जिम्मेवारी दिइयो भन्ने नै छ । यो गठबन्धनमा मन्त्री हुने क्षमता भएका धेरै साथीहरू हुनुहुन्छ । धेरै सम्भावित व्यक्ति भएकाले पदअनुसार उहाँहरूको सम्भावनाका बारेमा चर्चा हुनु कुनै नौलो कुरा होइन । यो स्वभाविक हो । अर्थमन्त्री डा. युवराज खतिवडाको विषयमा कुरा गर्ने हो भने, उहाँ योजना आयोगको पूर्वउपाध्यक्ष, नेपाल राष्ट्र बैंकको गर्भनर लगायतको जिम्मेवारी सकुशल निर्वाह गर्नुभएको छ । नेपाली मात्र नभई विश्व अर्थतन्त्रलाई नजिकबाट नियाल्ने व्यक्ति हुनुहुन्छ । उहाँले दक्षता पाएकै विषयको मन्त्रालयको जिम्मेवारी पाउनु त हामी सबैका लागि खुसीको कुरा हो नि । यसलाई लिएर अन्यथा टिप्पणी भएको छ भन्ने मलाइ लाग्दैन । कही भएको छ भने पनि त्यसलाई सही मान्न सकिन्न । यस्ता कुरालाई ठूलो बनाउनुले कुनै फाइदा नै गर्दैन । असन्तुष्टि राखेको भए पनि प्रधानमन्त्रीले समृद्धिका लागि सही निर्णय गर्नुभएको छ । यो सरकार के गर्न चाहन्छ भन्ने सन्देश मन्त्रिपरिषद्मा छानिएका व्यक्तिहरूबाटै प्रष्ट हुन्छ ।

खतिवडालाई नै अर्थमन्त्री बनाउनुको कारण के ?
हाम्रो अबको बाटो भनेको आर्थिक समृद्धिको हो । हामीले चुनावी घोषणापत्रमा पनि यही कुरा उल्लेख गरेका छौँ । हामीले तयार पारेको घोषणापत्रलाई जनताले अनुमोदन गरिसकेका छन् । हामीले अर्थमन्त्री बनाएका व्यक्ति पनि नेपालको मात्रै नभई अर्थ क्षेत्रको जुनसुकै ठाउँका लागि पनि उहाँ विज्ञ हुनुहुन्छ । उहाँलाई सबैले मानेका छन् । हामीले जुन योजना बनाएका छौँ, घोषणापत्रमा जे उल्लेख गरेका छौँ । जुन दृष्टिकोण बाहिर आइरहेको छ । त्यो निर्माण गर्नमा उहाँले भूमिका निर्वाह गर्नुभएको छ । यस्तो क्षमता भएको व्यक्तिलाई अर्थमन्त्रीका रूपमा ल्याइएको यो सरकारले परिणाम देखाउने गरी काम गर्नका लागि हो । यसले राम्रो सन्देश गएको छ भन्ने मलाई लाग्छ ।

मन्त्रिमण्डलको विस्तार किन पटकपटक ? एकै पटकमा सम्भव थिएन ?
धेरैपटक होइन । अबको विस्तारका क्रममा अर्थात तेस्रोपटकको विस्तारमा मन्त्रिपरिषद्ले पूर्णता पाउनेमा म विश्वस्त छु । यो चाँडै हुन्छ । दुई पार्टीका नेताहरू छलफल मै हुनुहुन्छ । उहाँहरूले आज–भोलि नै टुंग्याउने गरी नै काम गरिरहनुभएको छ ।

मधेसवादी दललाई सहभागी गराउन ढिलाइ भएको हो ?
यो मन्त्रिपरिषद् विस्तार हुनुभन्दाअघि शीर्ष नेताहरूबीच छलफल भएको थियो । नेकपा एमालेले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई जिम्मेवारी दिएको छ । माओवादी केन्द्रले पनि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जिम्मेवारी दिएको छ । उहाँहरूले मन्त्रीहरूको मर्यादाक्रम टुंग्याउने बित्तिकै मन्त्रिपरिषद् विस्तार भयो । त्यसैले यहाँ हुनै पनि अन्यथा सोच्नुपर्ने कुराहरू छैनन् । बाँकी रहेका जस्तो लागेका केही कुराहरू छन् । त्यसलाई हामी आवश्यकता अनुसार, योग्यताअनुसार हामी चाँडै नै टुंगो लगाउँछौँ । र, मन्त्री परिषद्ले पूर्णता पाउँछ ।

उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम पनि यो सरकारमा आउँछ भन्ने छ नि ?
उहाँहरूको सम्भावना निक्कै बलियो छ । पटकपटक शीर्ष तहसँग उहाँहरूको छलफल भइरहेकै छ । त्यो छलफल तथा कुराकानीमा म पनि सहभागी थिए । उपेन्द्र यादवले हाम्रा पार्टीका दुवै शीर्ष नेताहरूसँग पनि सँगै बसेर छलफल गर्नुभएको छ । त्यसैले उहाँहरू वर्तमान सरकारमा सहभागी हुने धेरै ठूलो सम्भावना छ ।

संविधान संशोधनको मुद्दालाई वाम गठबन्धनले सम्बोधन नगरेर संघीय समाजवादी फोरम सरकारमा आउन आनाकानी गरेको पनि भन्दा रहेछन् ?
चर्चा अनेकौँ हुने गरेको छ । तर, त्यो होइन । वास्तवमा संविधान संशोधन गर्नसक्ने क्षमता र हैसियत भनेको यही वाम गठबन्धनसँग मात्रै छ । सबैले यो कुरा बुझेका छन् । र, वामपन्थी गठबन्धनले संविधान संशोधनका विषयमा प्रष्टै आफनो कुरा राखेको छ । हामीले विगतमा पनि संशोधनको विरोध गरेका होइनौँ । हामीले प्रष्टै भनेका थियौँ, प्रदेशको निर्वाचन भएको छैन । अर्थात प्रदेश स्थापित भएको छैन र ? संविधानको कार्यान्वयन भएको छैन । यो वेलामा संविधान कार्यान्वयन गर्न र प्रदेश कायम गर्न लागि पर्नुपर्नेमा संविधान संशोधनतर्फ लाग्नु ठीक होइन । हामीले त्यतिवेला भनेका थियौँ र सँगै जोडेका पनि थियौँ । संविधान संशोधनको जुन प्रश्न छ, आवश्यकता र औचित्यताका आधारमा हामी गर्न तयार छौँ । अहिले त संविधान कार्यान्वयन पनि भइसकेको छ । प्रदेश पनि स्थापित भइसकेका छन् । यस्तो अवस्थामा देश र जनताको हितमा आवश्यकता र औचित्यताको आधारमा संविधान संशोधन गर्न हामी तयार छौँ भनेर हामीले भनेका छौँ । यो अवस्थामा उहाँहरू सरकारमा आउनुहुन्छ भन्ने मलाई विश्वास छ ।

सरकार विस्तारसँगै राष्ट्रपति, सभामुख निर्वाचनका विषयले पनि छलफलका लागि ठाउँ पाएको छ ?
यो विषयमा छलफल भएको छ । धेरै कुराको निर्णय गर्नका लागि हाम्रा अध्यक्षहरूलाई जिम्मेवारी दिइएको छ । कतिपय कुराहरू पार्टीको सम्बन्धित तहमा छलफल हुन्छ । यहाँले भनेको यो विषय स्थायी कमिटीमा छलफलमा आउँछ । त्यसैले यस विषयमा निष्र्कषमा पुग्न बाँकी नै छ । हामी चाँडै नै यो विषयमा पनि निष्कर्षमा पुग्नेछौँ ।

राष्ट्रपतिका लागि तपाईंले पनि इच्छा देखाएको भन्ने छ नि ?
नेपालको संविधान संविधानसभाबाट सफलतापूर्वक बनाएर फर्किइसकेपछि अर्थात त्यस प्रक्रियाको नेतृत्व सम्पन्न गरेर फर्किएपछि मैले त्यतिबेलै भनेको छु । सफल संविधान बनाएर फर्किएको मैले अब के गर्नुपर्छ, म भन्दिनँ । यो कुरा दललाई र दलका नेताहरूलाई नै छोड्छु । तपाईंहरू जे भन्नुहुन्छ त्यही जिम्मेवारी निर्वाह गर्छु । अहिले पनि जनताबाट निर्वाचित भएर आइसकेपछि पनि मैले भन्ने गरेको छु, मलाई मेरो दलले के गर्न भन्छ, म त्यही गर्छु । मेरो व्यक्तिगत कुनै पनि आग्रह छैन । त्यसैले तपाईंको प्रश्नलाई अलिकति सुधार्छु । मैले कुनै पनि इच्छा व्यक्त गरेको छैन । मैले नेताहरूलाई तपाईंहरू निर्णय गर्नुहोस्, यो तपाईंहरूको जिम्मेवारी हो भनेको छु । जस्तो अहिले पार्टी एकीकरणको पूर्वसध्यामा छौँ । एकीकरणको घोषणा भयो, टुंग्गोमा पु¥याउन बाँकी छ । यसैले यसका नेताहरू केपी ओली, पुष्पकमल दाहाल प्रचण्ड उहाँहरूले मेरो हकमा निर्णय गर्ने हो । म त पार्टीले जे निर्णय गर्छ, साथीहरूले जे भन्नुहुन्छ, त्यही जिम्मेवारी बहन गर्न तयार छु । मेरो विशेष कुनै पनि आग्रह छैन ।

वाम गठबन्धनको एकताका लागि जनताले कति समय कुर्नुपर्ला ?
यो सोचेभन्दा चाँडै पार्टीको एकीकरण हुन्छ । भर्खरै मात्रै पार्टीको केन्द्रीय संयोजन समितिले दुई वटा कार्यदल बनाएको छ । एउटा राजनीतिक प्रतिवेदन अनि अर्को संगठन निर्माणजस्तो अन्तरिम संविधानलगायत, पार्टीको विधान निर्माणका लागि भनेर दुइटा कार्यदल बनाएको छ । एउटा राजनीतिक प्रतिवेदन पेस गर्ने कार्यदलमा म पनि सदस्य छु । त्यसले एक महिना लाग्छ भनेकोमा संयोजन समितिले १५ दिनमा टुंग्याउनु प¥यो भनेर भन्नुभयो । हामी त्यो १५ दिनभित्रमा प्रतिवेदन पेस गर्नका लागि लागिरहेका छौँ । अर्थात हामीले यो दुइटा प्रतिवेदन पेस गर्न साथ पार्टी एउटा टुंगोमा पुग्छ र पार्टी एकीकरण हुन्छ । त्यसैले जतिसक्दो चाँडो हामीले यसलाई टुंगोमा पु¥याउन लागि परिरहेका छौँ ।

प्रतिक्रिया