यो त इच्छाशक्तिको कुरा हो

भुवन थापा ‘बहुवि’, नेपाली मूर्तिकला क्षेत्रमा चिनिएको नाम हो । नेपालमा स्मारकीय (मनुमेन्टल) कला बनाउने कलकारको परिचय बनाएका मूर्तिकार थापाले मूर्तिका साथै कविता, गीत, हाइकु लेखनमा समेत उत्तिकै रुचि राख्दछन् । उनका दरिद्रताको भुमरी (०५०) कविता संग्रह, देउसी–भैलो गीत संग्रह ०५१, बस्ती विकास सामाजिक नाटक, शंकाले लंका हाइकु संग्रह, हाइकु हामोर्नीलगायत पुस्तक प्रकाशनमा छन् । थापाले राष्ट्रिय कला प्रदर्शनीमा दोस्रो पुरस्कार तथा संस्कृति मन्त्रालयबाट क्षेत्रीय प्रतिभा पुरस्कार पाएका छन् । त्यस्तै, उनले अरनिको युवा पुरस्कारलगायत आधा दर्जनभन्दा बढी पुरस्कार तथा सम्मान प्राप्त गरेका छन् ।

मूर्तिकला विषयमा स्नातकोत्तर गरेका थापाले काठमाडां विश्वविद्यालय सेन्टर फर आर्ट एन्ड डिजाइनमा १२ वर्षदेखि अध्यापन गर्दै आएका छन् । ०७३ सालमा ‘सेल्फ रियलाइजेसन’ शीर्षकमा काठमाडांमा एकल मूर्तिकला प्रदर्शनी गरेका थापा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका दर्जनौँ कार्यशाला तथा प्रदर्शनीमा सहभागी भएका छन् । आरम्भ समसामयिक मूर्तिकार समूहका अध्यक्षसमेत रहेका थापासँग मूर्तिकला विषयमा केन्द्रित रहेर सौर्य दैनिकका लागि देवेन्द्र थुम्केलीले गरेको संक्षिप्त कुराकानी :

भुवन थापा ‘बहुवि’, अध्यक्ष आरम्भ समसामयिक मूर्तिकार समूह

 

० आजकल केमा व्यस्त हुनुहुन्छ ?
मूर्तिकर्म र अध्यापनमा दिन बितिरहेका छन् । त्यस्तै, कलासँग सम्बन्धित संघसंस्थामा आबद्ध भएकाले त्यतातिर पनि समय बितिरहेको छ ।

० नेपालमा मनुमेन्टल आर्टमा यहाँले पछिल्लो समय निकै काम गर्नुभएको छ ? यसबारे बताइदिनुस् न ?
म त ‘मनुमेन्टल’ भन्ने शब्दभित्रै अलमलमा छु, न मनुमेन्ट नै बनाउन सकेको छु, न मनुमेन्टल मूर्ति नै ….।

० आर्थिक तथा सिर्जनात्मक दृष्टिले यसलाई नेपाली समाजको मनोविज्ञानले एसेप्ट गर्न सक्ला ?
यो त इच्छाशक्तिको कुरा हो ।

० नेपाली मूर्तिकलाबारे यहाँको धारणा के छ ?
मूर्तिकलाको ऐतिहासिक पाटो स्पष्ट छ । प्रस्तर, काठ तथा धातुजस्ता स्थायी माध्यमबाट बनाइएका शताब्दीऔँ पहिलेका अद्वितीय मूतिकलाहरू हामीसामु प्रशस्तै छन् । हो, त्यही मूर्तिकला सर्जकको सन्तान हामीले पनि काल जमानानुसारको सिर्जना गरेर पुर्खाको इज्जत बचाउनुपर्छ भन्ने मान्यता राख्दछु ।

० समसामयिक मूर्तिकलाले के नेपाली मनोविज्ञानको प्रतिनिधित्व गर्न सकेको छ ?
हजुर, मैले अघि नै भने नि ! हामी गौरवशाली इतिहास बोकेको नेपाली मूर्तिकलाका सर्जकहरूको सन्तान हौँ भनेर । हाम्रा पुर्खाले जे–जे गरे, जस्तो–जस्तो गरे, त्यस्तै–त्यस्तै नै गर्दै पुस्तान्तरण हुँदै गइयो भने त विकास र सिर्जनशीलताको त कुरै भएन । त्यसैले पनि कालजमानाअनुसार अघि बढ्नु मानव धर्म हो । नेपाली समाजको मनोविज्ञानले पनि यसरी नै धारण गर्नुपर्ने हो तर यस मानेमा नेपाली समाजको धारणा उति सारो बदलिएको पाइँदैन ।

मूर्तिकलाको शक्तिशाली पक्ष भनेको नै यही हो । इतिहासमा बनेका त्यही मूर्तिहरू स्थायी रूपमा हामीले हिजो पनि देख्यौँ., आज पनि देख्दै आएका छौँ र भोलि पनि ….। हामीसामु यक्ष प्रश्न कहाँनेर हो भने नेपाली समाजको मनोविज्ञानमा कसरी परिवर्तन आएन भन्ने कुराको हो । हो हामीले समय परिस्थितिअनुसार धारणामा पनि परिवर्तन र विकासको कुरा त ग¥र्यौं तर यस विषयमा संख्यात्मक र गुणात्मक हिसाबले पुर्खालाई पछार्न सकेनौँ ।

० नेपालमा त सालिक या प्रतिमा बनाउने प्रचलन बढी छ । तर, आधुनिक र समयसापेक्ष मूर्तिकलामा मूर्तिकार तथा पारखीले खासै जाँगर चलाएको पाइँदैन नि ?
यो मामलामा पनि उही अघिकै प्रसंग जोडिन आउँछ । नेपाली मूर्तिकलाको इतिहास भनेको नै लिच्छवी र मल्लकालको मूर्तिकला नै हो । तर, यतिखेर व्यक्तिको सालिक बनाउने प्रचलन थिएन । शाहकालमा आएर विशेष गरी राणा प्रधानमन्त्री जंगबहादुर राणाको बेलायत भ्रमणपछि मात्र नेपालमा सालिक बनाउने प्रचलन आएको हो ।

००७ सालको प्रजातन्त्रपछि राजधानी काठमाडौंलगायत देशका प्रमुख सहरको चोक–चोकमा राजा–महाराजाका साथै सहिदहरूको सालिक स्थापना हुन थाले । त्यसपछि, नेपाली समाजको मनोविज्ञानमा सालिकको छाप बस्न थाल्यो । हुन त २० को दशकमा नेपाली आधुनिक मूर्तिकलाको इतिहासमा मूर्तिकारद्वय ठाकुरप्रसाद मैनाली र प्रमिला गिरीजस्ता प्रमुख हस्तीहरूको उदय भयो तर सालिकतन्त्रलाई विस्थापन गर्न भने सकेन ।

० समाज रूपान्तरणमा मूर्तिकलाको भूमिका के हुन्छ ?
मूर्तिकलाले युग चिनाउन सकेन भने समाज परिवर्तन गर्न सक्ने कुरै भएन । यत्ति हो, मूर्तिकलामा समय, स्थान र विषयवस्तुले भने भूमिका खेल्दछ ।

० तपाईंका प्राकृतिक, सामाजिक तथा समसामयिक मूर्तिले समाज र परिवर्तनको विषयलाई कत्तिको उठान गरेको छ ?
तपाईंले भन्न खोज्नुभएको के होला भने प्राकृतिक भन्नाले विशेष गरी मैले संकलन र प्रदर्शन गर्दै आएका प्राकृत आकृतिका पाषाणहरूको प्रस्तुतीकरण, सामाजिक भन्नाले विभिन्न स्थान र समयमा स्थापित र प्रदर्शित मूर्तिहरू, अर्को समसामयिक भन्नाले मेरा अन्य स्वतन्त्र कला सिर्जनाहरू होलान् .यी सबै मेरा कलाकर्म हुन् ।

विशेषगरी, म आफूलाई स्वतन्त्र मूर्तिकार भनाउन चाहन्छु । मेरा सिर्जनाले समय र स्थानअनुसार भाव बोकेका हुने गर्छन् । मैले मेरा कलामार्फत समाजको परिवर्तन नै गर्ने उद्देश्य लिएर लागेको भने हैन । यत्ति हो, नेपाली समसामयिक मूर्तिकलाको जगत्मा थोरै भए पनि योगदान दिन सकूँ ।

० तपाईंका मनुमेन्टल आर्टको मुख्य थिमबारे बताइदिनुस् न ?
मनुमेन्टल (स्मारकीय) कला भन्नाले एउटा विशाल, भव्य र स्थायी कला भन्ने बुझाउँछ । हो, म ललितकलाको विद्यार्थी छँदा बुझेर या नबुझेर मनुमेन्टल मूर्ति विषय लिएर स्नातकोत्तर तह उत्तीर्ण गरेको त हुँ । तर, साँच्चिकै ‘मनुमेन्टल’ मूर्ति बनाएर स्थापना गर्न भने सकिरहेको छैन । मेरो अन्तर्मन तथा निजी धारणामा मात्र सीमित छन् । यो त रहर र एकल प्रयासले मात्र हुने कुरा हैन रहेछ ।\

० अन्त्यमा मूर्तिकलाका विषयमा छुटेका केही विषय छन् कि ?
एउटा कुरा यति हो कि, नेपाली समसामयिक मूर्तिकारहरूले समसामयिक मूर्तिकला विकासमा साझा धारणा बनाएर उत्साहका साथ अघि बढ्न सकौँ । राष्ट्रले यसका लागि वातावरण तयार गरिदियोस् ।

 

प्रतिक्रिया